महाशय!
एउटा किताब लेखिदिनुहोस्
जहाँ
कर्णालीका दुखका पानाहरुलाई
च्यात्न सकियोस्
र जोड्न सकियोस्
तपाई रमाउने
सुगमका मिठा यादहरु
र भन्न सकियोस्
आहा! मेरो नेपाल।
हामीलाई थाहा छ
अब तपाई
तपाई रहनु भएन
तर हामी
जस्ताको तस्तै
कथा उस्तै
व्यथा उस्तै
भोक अनि गरिबीले
थिचेको पहाड
शिरमाथि राखेर
माटो र गोबरसँग
पौठेजोरी उस्तै।
तर के गर्नु
तपाईको भाषणले
हातमुख जोर्न दिएन
न त दियो हामीलाई
बिरामी पर्दा सिटामोल नै
बत्ती बल्छ आँगनमा
तर मनको अँध्यारो हट्दैन
पहिरोले सर्वश्व लुटिँदा
नवपालुवासँग
मन मुटु छुटिँदा
तपाईको आँखाले देखेन
त्यसैले त अब
नदेखाउनुहोस् सपना
महाशय!
सपनाले गरिबलाई निदाउन दिँदैन।