तीन दशक घिस्रिरहेका समृद्धिका सपना
निद्रा कचमचिएर पूरा नभए पनि
बैकुण्ठ वैभवको सुखानुभव गरेका छन्
गणतन्त्रका मान्छेहरूले
भुइँ मान्छेबाट उठेर तथास्तुको हैसियत बनाएकाहरू
बाँसुरीको धुनमा छलिया नृत्यको रिहर्सल गरिरहँदा
ताली पिट्नेको कुनै कमी छैन यहाँ
विपरीत चालका पैतला हेरी
मुहार पढ्न ब्याकुल छ इतिहास
पात्रो खोलेका छन् ज्योतिषीहरूले
ग्रह गोचर हेरी
भविष्यवाणी गरिहाल्न
तर, कुरुप इतिहासको गर्तबाट सुन्दर भविष्य देखिएला र?
भाषणहरू बिलखबन्दमा छन्
सपनामा देखिएका समृद्धिलाई
भाषणमा मात्रै देखेर मख्ख छ विकास
लज्जित छैनन् प्रतिबद्धताहरू बारम्बार आउन विवश भए पनि
नकच्चरो भएको सुशासन
पशुपति पुकारिरहँदा
अर्लि निर्वाचनको चर्चा चुलिएको छ।