संक्रमणकाल, यो यात्रा गर्न डर लाग्छ जहिलेसम्म
उपचार गर्न नपाई हामी मर्ने होला कहिलेसम्म
वृद्ध-बालक नभनेर लग्यो कोरोनाले
सबैतिर हताहती भयो कोरोनाले,
दीर्घ रोगी अस्पताल जान पनि छैन,
आवश्यक औषधि मुलो खान पनि छैन।
सरकार कपासले थुन्छ कान कहिलेसम्म
जनता बेरोजगार भई बस्ने हो कहिलेसम्म?
युवा परे अलपत्र रोजगार छैन कहीँ,
माहामरी कोरोनाले जरा गाड्यो जहीँतहीँ।
विदेशिन जोखिम भयो, ज्यान जोगाउनु पर्ने!
साँझ बिहान छाक भन कसरी हो टार्ने
राजनीति लुछाचुँडी हुने होला कहिलेसम्म
जनतालाई केही छैन अन्धाधुन्ध कहिलेसम्म।
अन्योल छ जताततै देखिँदैन किनारा खै
तार्न आउने माझी छैन भेटिँदैन कहीँ कतै
सुनिदेऊ वेदना भारी बिसाउने ठाउँ देऊ,
राष्ट्र बनाउने अब त केही संकल्प लेऊ।
तीखा सिङ भाँचिदैनन् भिड्दाखेरी जहिलेसम्म,
हामी वीर न्याय पाउन कुर्ने होला कहिलेसम्म
तिमी यो म ऊ थरीथरीका जात रे!
खरभित्र धेरैथरी विचारका खात रे!!
न्याय माग्न गोर्खा जानु भन्ने सुनिएको,
देख्नुपर्छ गोर्खामै आज न्याय थुनिएको।
जनताको घैंटाभित्र घाम छैन अहिलेसम्म
आपत पाउँछन् जिताउँछन् बेमानलाई जहिलेसम्म
अब त जाग आँखा खोल देश बनाउन खोजौं
चुनाव आउँछ कम्तीमा सही मात्रै नेता रोजौं
यस्तै दु:ख पाएरै बस्ने हो र कहिलेसम्म
दु:खै पाउँछौ आफैं सही सोच्दैनौं जहिलेसम्म।।