बर्सौंसम्म नजोडिएका स्कुले साथीहरू रमिलाका सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै जोडिँदै थिए।
नयाँ त पक्कै थिइन रमिला सामाजिक सञ्जालमा, तर पनि खै भर्खरै फेसबुक र इन्स्टाग्राममा नयाँ एकाउन्ट बनाएझैं गरी उसका पुराना एकाउन्टमा भटाभट जाेडिँदै थिए। रमिला पनि यो त्यो सम्झदै पुराना साथीहरूसँग जोडिँदै थिई।
बर्सौंसम्म नबोलेका साथीहरूसँग मन फुकाएर धित् मर्नेगरी कुरा गर्दै थिई।
कोही केटा साथीहरू उसका फोटाप्रति आकर्षित हुँदै उसको फेसबुक प्रोफाइल खोल्दै पुराना फोटामा लाइक र कमेन्ट बर्साउँदै थिए।
कोही 'लुकिङ सो ब्युटिफुल' भन्दै थिए त कोही जिस्काउने हेतुले ओहो कडा छ त हेराई त, कसलाई हो त्यसरी हेरेको...भन्दै, रमिला यी शब्दहरूमा हाहा रियाक्ट गर्दै मौन थिई।
यस्तै, कयौं दिनको सिलसिलापछि, एक जना केटा साथीको मेसेज रमिलाको मेसेन्जरमा बज्यो।
लेखिएको थियो 'हे, ह्वाट्स एप?' रमिला एकछिन अलमल परी। के भनेर रिप्लाई गरू, रिप्लाई पनि गरूँ कि नगरूँ भनि अन्यौलमा पर्दै रमिला आफ्नै कामतिर लागि। साँझ कामबाट घर फर्कने बेला अन्यौलता बीच नै 'अल गुड, व्हाट अबाउट यू' भनेर रिप्लाई गरी।
रमिलाको यो रिप्लाइ भएको २ सेकेन्ड पनि बित्न नपाउँदै उताबाट फेरि अर्को मेसेज बज्यो 'अल फाइन', के हुँदैछ जिन्दगीमा' ?
साँझ कामबाट घर पुगेर थाकेको आफ्नै ज्यानलाई आराम गर्न समय निकाल्न मुस्किल पर्ने रमिलालाई, मोबाइलको मेसेन्जरमा बजेको मेसेजले कसरी समय पाओस्। भोलिपल्ट दिउँसो अफिसमा खाजा खाने समयमा हिजो साँझ सोधिएको प्रश्नको उत्तर दिँदै रमिलाले रिप्लाई गरी ‘ठिकै छ, आफ्नै गतिमा चलिराछ जिन्दगी’, त्यता के छ उन्नति प्रगति?’
उताबाट हत्तपत्त रिप्लाई आइहाल्यो ‘फलानो ठाउँमा फलानो युनिभर्सिटीमा पढियाे, फलानो ठाउँमा यो पदमा काम गर्दैछु’
यताउता भन्दै रमिलाको साथी यसरी रिप्लाई गर्दै थियो कि उसले पढेकाे ठाउँ र उसले पढेकाे जति कोही नेपालीले डिग्री लिन सफल भएकै छैन, रमिला पनि य, अ , हो र ल बधाई छ भन्दै कुरो टुङ्गयाउन खोज्दै आफ्नो कामतिर लाग्न खोज्दै थिई।
फेरि प्रश्न आयो उताबाट ‘तिमी त पहिला जस्तो थियौ, उस्तै रहेछाै, के के प्रगति गर्यौ स्कुलपछि?’
रमिलालाई पहिलो भनाइ अनौठो लाग्यो ‘जस्तो थियौ, उस्तै रहेछाै’ र उसले प्रति उत्तर गर्दै भनि ‘कहाँ देख्यौ र मलाई?’
‘फेसबुकका फोटोमा नि’ भनेर रिप्लाई आउन नपाउँदै रमिलाका औंलाले ‘हाहा’ लेख्न भ्याइसकेका थिए अनि रमिला मोबाइल साइडमा राखी कामतिर लागि।
केही समयको अन्तरालपछि फेरि मेसेज बजिसकेको थियो, तर रमिलालाई मेसेन्जर खोलेर हेर्ने फुर्सद थिएन।
माथिबाटै मोबाइलको स्क्रिनमा देखिएको थियो ‘फेसबुकतिर त उस्तै देखिन्छाै, इन्स्टातिर त 'हट' हाेलाऊ नि’ भन्दै दुइटै आँखा चिम्लेर हाँसेको इमोजीसहित।
रमिला खोलेर हेर्न भ्याएकी थिइन, तर यतिकै मोबाइलमा देखिएको शब्दले रमिलाको मन कताकता विचलित बनाइसकेको थियो।
आखिर एउटै मान्छे भिन्न-भिन्न सामजिक सञ्जालमा भिन्न-भिन्न रूप कसरी हुन्छ, म त सबैतिर उस्तै छु।
त्यो दिन त्यतिकै भयो, रमिलाले रिप्लाई दिन भ्याइन्।
अर्को दिन।
अफिसमा चिया खाने समयमा मोबाइल नियाल्दा उहीँ साथीको इन्स्टामा फलो रिक्वेस्ट आएको देखी र उसले एसेप्ट पनि गरी।
अनि उता मेसेन्जरमा रिप्लाई पनि दिई ‘लौ इन्स्टामा पनि साथी भयौ क्यार अब, तिमी आफैं नियाल्नु उस्तै छु कि फेरिएकी छु भनि?, अनि कस्तो हो 'हट' भन्या पनि भन्दिनु, म चाहिँ काम तिर लागेँ’ भन्दै रमिला कामतिर लागि।
उताबाट ‘हाहा’ रिप्लाई आइसकेको थियो।
रमिला देखेको नदेखै गरी आफ्नै काममा व्यस्त भई।
केही दिनको अन्तरालपछि फेरि मेसेज आयो ‘तिमी त इन्स्टामा पनि उस्तै रहिछयाै।’
रमिला हाँसो र कौतुहुलता मिसिएको आफ्नो भाव बिसाउँदै रिप्लाई गरी ‘कस्तो हुनुपर्ने हो र इन्स्टामा?’
‘त्यस्तो केही हैन, हल्का 'ग्ल्यामरस' देखिएकी छाै कि इन्स्टातिरकाे फाेटाेमा भनेको, उस्तै रहिछयाै।’ भनि रिप्लाई आएपछि रमिला आफू ‘हट र ग्ल्यामरस’ शब्दबारे अनविज्ञ भएझैं प्रश्न गर्दै लेखी ‘कस्तो खालको ग्ल्यालमस खोजेका थियौ र देखेनौ मलाई, सिकाऊ त सिक्न पर्यो।’
उताबाट हतपत रिप्लाई आइहाल्यो ‘बुझन आफैं, जमानाले बिकिनी नर्मल बनाइसक्यो, तिम्रा फोटामा हात पाखुरा देख्न गाह्रो छ हाहा, डन्ट माइन्ड है जस्ट जोकिङ’। रमिला एकछिन अलमल परी जमानाप्रति हाँसूँ कि, साथीका शब्दामा कि आफैं माथि।
यही अलमलताबीच नि एकछिनकाे मौनतापछि ‘हाहा’ मात्र लेखी।
मोबाइल साइड लगाएर आफ्नो कामतिर लागि।
रमिलाले मोबाइल हेर्न नभ्याए पनि मेसेज बजिसकेको थियो,‘हाहा, इन्स्टातिर नि उस्तै छाै, बिहेबारी त पक्कै भाको त छैन होला नि?’
रमिलालाई त्यो साँझ कामबाट घर फर्केपछि आफ्नो बिहेकाे पहिलो वर्षगाँठ मनाउन तयार भइबसेका परिवार र श्रीमानसँगको रमाइलोले मोबाइलको मेसेन्जर खोल्ने फुर्सद मिलेन।
भोलिपल्ट नन्दले ‘ह्यापी एनिभर्सरी दाजु भाउजु’ भन्दै राखेको इन्स्टाको स्टोरी आफ्नो इन्स्टा स्टोरीमा सेयर गर्दै ‘थ्यान्क्यू नानु’ लेखेर सेयर गर्दै आफ्नै कामतिर लागि।
मेसेन्जरमा सोधिएकाे प्रश्न उत्तर नपाए पनि रमिलाको साथीले इन्स्टा स्टोरीबाट थाहा पायो कि, इन्स्टामा 'हट' नभएकी रमिलाको बिहे भैसकेको रहेछ र रमिला पनि ऊ सरह कै पदमै कुनै अन्तर्राष्ट्रिय संस्थामा कार्यरत रहिछ भनेर।
रमिलाले केही दिनको अन्तरालपछि मेसेज रिप्लाई गर्दै ‘हाहा, त्यस्तो लाग्यो तिमीलाई’ लेखी।
तर उताबाट रमिलालाई रिप्लाई गर्ने आँट उनको साथीलाई आएन।उसलाई आफ्नो सोचप्रति नै घृणा जागेर आयो।