कविता
प्रत्येक दिन राति ३ बजे नै उठी
बिहानी मिर्मिरे नहुँदै अनि कुखुरा नबास्दै ४ बजे नै
निस्किन्छिन् सधैँ तिनी आफ्नो डेराबाट।
दुई हातमा चियाको थर्मस, गिलास, बिस्कुट
अनि मस्त निद्रामा सुतेकी आफ्ना सानी नानीलाई बोकेर
आफ्नो दुख पीडा अनि आँसुलाई मनभित्र लुकाई
मधुर अनि मन्द मुस्कान छोड्दै सेवामा खटेकी हुन्छिन् तिनी सडकमा।
तिनको चिया खाने ग्राहकहरु हुन् सवारी चालक, यात्रु अनि बटुवा
प्रतिक्षामा हुन्छन् सबै, तिनले पकाएर ल्याएको चियाको चुस्की लिन
गरेकी छिन् सधैँ तिनले कठोर परिश्रम
आफू र आफ्ना सानी नानीको ज्यान पाल्न्, अनि दुईको मुखमा माड हाल्न।
आफ्नो सानी नानीको भविष्यको लागि संघर्ष गर्दैछिन् तिनी
पर्छन् एकदिन कसैको नजर तिनी माथि
गर्छन् तिनले क्लिक क्लिक, हुन्छ कैद तिनको फोटो क्यामरामा
अनि राख्छन् फोटो तिनको सामाजिक सन्जालमा।
हुन्छिन् भाइरल एकछिनमै तिनी
चिन्छन् सबैले अब उनलाई 'चियावाली' भनेर
पहिले कसैले नदेखेकी, पहिले कसैले नचिनेकी
अब त भइन् तिनी सबैकी प्यारी।
उनी कोही होइन, तिनी त हुन नुवाकोटकी सुष्टि तामाङ
तिनी त हुन विदेशिएका चेलीका लागि एक प्रेरणा
गरौँ तिनलाई सबैले आत्मादेखि नै सम्मान।