कान्छाले मधुमास बिताउने चाँदनी रातमा
मलाई एउटा खटिया दियो
बास्नै बास्ना अनि फुलैफूलले
सजिएको चार भित्ताको बीचमा
सायद आफ्नो घर बनाउनलाई होला
मेरा यी कोमल नयन जोगाउनुको सट्टा
गाजल लाउन सिकायो
पर-पुरुषको खुसीका निम्ति
ओठमा मुस्कान भर्न सिकायो।
उसले मेरो अंग-अंगको लाली बेच्दै गयो
म पनि बिक्दै गएँ
मानौँ खसीबोका बेचेजस्तै
फरक यति थियो कि
गाईवस्तु एकचोटि मात्र बिक्छन्
म त दिनहुँ बेचिँदै गएँ
तर मैले मेरा रहरहरु कहिल्यै बेचिनँ
मेरो एउटा मात्रै रहर छ
कसैको श्रीमती बन्ने
कसैको बुहारी बन्ने
मेरो कान एउटा कुरा मात्र सुन्न चाहन्छ
कसैले आमा भनेको।
घर पिँजडा बनेपछि
त्यो बन्द पिँजडाबाट बाहिर आउँदा
मालती आज गोरेसँग भागी भन्छन्
म गोरेसँग भागेकी होइन
आफ्ना रहरहरुसँग खुला आकाशमा उडेकी मात्र
वर्षौंदेखि दबिएका इच्छाहरुसँग गएकी हुँ।
मसँग रात बिताउनेहरु थुप्रै आए
यौवनको रसपान गर्नेहरू धेरै धाए
तिर्खाएका बटुवाहरुको तिर्खा मेटेँ
भोकाएकाहरुको भोक पनि मेटेँ
तर सपनै सपनाले भरिएका मेरा आँखाको
तारिफ गर्नेहरू कहिल्यै आएनन्
घरको सपना, परिवारको सपना
श्रीमानले श्रीमतीलाई गर्ने न्यानो मायाको सपना।
कान्छाले मलाई पैसा कमाउने मञ्च दियो
प्रेम साट्ने चौतारी दिएन
गाजल दियो, लिपिस्टिक दियो
पाउडर अनि ऐना पनि दियो
तर चोखो माया दिएन
नाङ्गो बनायो तर एक गज कपडा दिएन
त्यसैले प्रण लिएकी छु
एउटा छोरा जन्माउने कसम खाएकी छु
म जस्तै बेचिएकी नारीहरुको
अस्मिता जोगाउने असल छोरा।