काठमाडौँ, यहाँका सारा समृद्धि र वैभव तिम्रो नै हो। यहाँका सपिङ मल, टावर, बजार, सडक, गल्ली सबै तिम्रो हो।
यहाँको मैदान, मन्दिर, गुम्बा, धरहरा, पोखरी र घण्टाघर पनि तिम्रै हो। रंगिन छाताले सजिएको गल्ली पनि तिम्रो हो। पब र दोहरी तिम्रो हो। क्यासिनो र एकेडेमीहरू तिम्रा हुन्। यहाँका सबै घर तिम्रो हो। सबै घाट तिम्रो हो।
यी सबै तिम्रा हुन् भन्ने कुराको गवाह म हुँ। तर काठमाडौँ! अब म तिम्रो अघि हुने छैन।
तिमीले मलाई सिङ्गो मान्छेको रूपमा देखेनौ। देख्यौ त मेरो छालाको कालो रङ्ग मात्रै।
तिमीले मेरो भाषाको भाव बुझेनौ। मेरो लवज र ध्वनिको ढंग मात्रै सुन्यौ। तिमीले मेरो आत्माको घाउ देखेनौ। शरीरको लुगा मात्रै देख्यौ।
अब म तिम्रो अघि हुने छैन। हरिया तरकारी र पहेला फलफूलसित म हुने छैन। मह र घ्यूसित म हुने छैन। म हुने छैन खाली शिशी र पुरानो बोतलसित। म हुने छैन तिम्रो शरीरभरि थुप्रिएको कवाडी र फोहर उठाइरहेको।
तिम्रो आँगनमा आफ्नै भविष्य पुरेर टावरको जग खनिरहेको म हुने छैन। बाँसका असुरक्षित खटहरूमा झुन्डिएर आफ्नै भाग्यमाथि रंगरोगन पोतिरहेको म हुने छैन। आफ्नै करङ भाँचेर सरियाको जालो बुनिरहेको म हुने छैन।
टाउको र खुट्टा मात्रै भित्र, आधा ज्यान भने ढोका बाहिर झुन्ड्याएर चक्रपथको जाममा थोत्रो माइक्रो बसभित्र अठ्याइरहेको म हुने छैन।
धुलो धुवाँको कुइरीमण्डलमा सास फेर्नुभन्दा मेरा लागि तिम्रा अभिमानी र साँघुरा नजरहरूमा पर्नु कष्टप्रद थियो। त्यसैले तिम्रा तिखालु नजरबाट बच्न अपराधीले जस्तै टालोले अनुहार बाँधेर हिँडिरहेको हुन्थेँ म।
मुख छोपेर हिँडिरहेको हुन्थेँ, तिम्रो हृदयजस्तै साँघुरा गल्लीहरूमा। तर अब तिमीले देख्ने छैनौ मलाई ती गल्लीहरूमा। भेटेने छैनौ बजारको चोक, पेटी र डबलीहरूमा।
अब म तिम्रो अघि हुने छैन नि त।
पुलिस रेकर्डका लागि थानामा हात जोडेर त्रस्त मुद्रामा उभिइरहेको म हुने छैन। त्यसपछि पुलिस रेकर्डको फाइल समातेर नारायणहिटी दरबारको फलामे बार समाइरहेको म हुने छैन।
त्यसपछि पासपोर्ट बोकेर मेनपावर धाइरहेको म हुने छैन। त्यसपछि बन्द भएर कफिनमा आँसुको झरीसँगै जहाजबाट झरिरहेको म हुने छैन।
तिमी पनि मेरो आफ्नै हो, लाग्थ्यो मलाई। त्यसैले तिम्रा लागि म धेरै पटक जुलुस बनिदिएँ। जुलुसको आवाज बनिदिएँ। जोकर बनिदिएँ। मिठा पान बनिदिएँ। तिम्रा लागि म तरकारी ओसार्ने भरिया मात्रै होइन, धान फलाउने खेत बनिदिएँ।
त्यसपछि तिम्रा लागि के बनेँ म?
नदी तरेपछि किनारामा फालिएको लाठी बनेँ। बन्दुक बोक्दा बोक्दा थाकेको काँध बनेँ। सुदूर किनारमा विस्तारवादीले चिथोर्दा चिथोर्दा भत्किरहेको साँध बनेँ। कस्तो दुःखद! त्यसपछि म छाती छाती र टाउको टाउकोमा गोली खाएर मर्ने सहिद बनेँ।
मर्न त म जमानादेखि तिम्रा लागि बार-बार मरेकै त हुँ। सुरुङमा पुरिएर मरेको हुँ। घर बनाउँदा उचाइँबाट खसेर। सफा गर्दा इनारमा निसास्सिएर। सडक पेटीमा राजा साहेबहरूको सवारीले किचिएर।
तर मेरो मृत्युको लामो इतिहासमा कहिले झर्यो तिम्रो एक थोपा आँसु? मानवताले भिजेर कहिले चढायौ तिमीले एक थुंगा फूल श्रद्धाले मेरो लासमा?
मैले भने तिम्रा सपनाहरूको सधैँ सम्मान गरेँ। तिमीलाई तिर्खा लाग्दा मेरो पनि घाँटी सुक्थ्यो। त्यसैले मैले तिम्रा लागि मेलम्चीको पानी ल्याउने पाइपहरू पुर्ने गड्ढा खनेँ।
तर गड्ढा खन्दाखन्दै म बार-बार मरेँ। सीतापाइलामा पुरिएर मरेको बुढो पर्वतिया तेजप्रकाश केसी मै हुँ। सप्तरीया जवानहरू सन्तोष दास र श्यामसुन्दर राय पनि मै हुँ।
काठमाडौँ, सोधिरहेछु तिमीलाई। र, सोधिरहने छु तिमीबाट टाढा भए पनि कि तिम्रा लागि 'मिस नेपाल' वा गाइजात्रे प्रहसनको आयोजनाभन्दा किन कहिल्यै छापिन लायक भएन मेरो हत्याको खबर?
दुख्यो! धेरै चित्त दुख्यो काठमाडौँ।
तिम्रो अघि म हुने छैन अब।
तर नडराउनू, शासकको होर्डिङबोर्डसँगै बिजुलीको पोलमा झुन्डिरहेको सबै समृद्धि र वैभव तिम्रो नै हो काठमाडौँ। केही लगेको छैन मैले तिमीबाट लुकाएर। लगेको छु त फगत एकतर्फी रित्ता प्रेमिल यादहरू। ढुक्क हुनू, छोडिदिएको छु त्यहीँ तिम्रा सबै सबै उन्मादहरू।
छोडिदिएको छु त्यहीँ, मेरो हिक्का र आँसुको गवाह, तिमीले दिएको अँध्यारो चिसो डेरामा। फर्किनु अघि आफ्नै बसेरामा।
नौबिसेको ओराली झरिरहँदा म तिमीलाई नै याद गरिरहेछु।
काठमाडौँ! के तिमीलाई कुनै दिन मेरो याद आउला? नौबिसेको ओराली झरिरहँदा म तिमीलाई नै याद गरिरहेछु।
काठमाडौँ, के तिमीलाई कुनै दिन मेरो याद आउँला?