तराईको धुलाम्मे वायु लिँदा लिँदा दिक्क भएको म कुनै पश्चिमेली पहाडतिर घुम्न गएको थिएँ। बेला यस्तै थियो, होलीको। चारै तिर होलीको रौनक छाएको थियो।
मैले लजमा भन्दा पनि कसैको घरमा नै बास माग्न उचित ठानेँ। सायद मैले पारिवारिक माहोलमा रहनुलाई नै प्राथमिकतामा राखेँ।
घडीले लगभग बेलुकाको ४ बजाइसकेको थियो।
त्यहाँको वायुको वेगसँगै बहिरहेथ्यो मेरो मन, टाढा एकदमै टाढाको गन्तव्य राखी। मेरो मन त्यहाँको वातावरणमा जति टाढा पुगेपनि मेरो शरीर भने थाकेर आराम खोज्दै थियो।
तरपनि, त्यहाँको सुन्दर प्रकृतिको महिमाले होला, थाकेर पनि नथाकेजस्तै गर्दै थियो मेरो शरीर। लुकाइरहेथ्यो थकान त्यहाँको वातावरणको भित्री कुनामा।
म भिज्दै थिएँ त्यो वातावरणमा। म आभास गर्दै थिएँ एक बेग्लै न्यानोपनको, बेग्लै एकदमै बेग्लै त्यो धुलाम्मे तराईको भन्दा।
परबाट कोही पश्चिमेली भाकामा आफ्ना मनका भावहरू शब्दमा रूपान्तरण गर्दै आउनु भयो। उहाँको भाकामा अझ सुगन्ध थप्ने अरु कोही पनि थिइन् त्यहाँ। उहाँकै समीपमा। पाइलामा पाइला मिलाई आउँदै थिइन् उनी पनि।
उहाँ र म बीचको दूरी नजिकिँदै जाँदा मैले उहाँलाई केही प्रश्नहरू सोध्न तयार हुँदै थिएँ। प्रश्न त्यो सुन्दर प्रकृतिको राजको।
झट्ट हेर्दा फुच्ची देखिने उनी, १६ वर्षकी बहिनी रहिछिन्। तर उनको बोल्ने शैली अनि हाउभाउ हेर्दा उनी त्यो उमेरको हुन भन्ने पत्याउनै गाह्रो। एकदमै व्यावहारिक बोल्ने शैली।
मैले उहाँलाई उहाँकै घरमा बास माग्ने हेतुले भनें, 'दाजु, हजुरको घर कता?'
'ऊ त्यो डाँडाको फेदीमा। तपाईं कताबाट आउनु भएको?'
'म तराईबाट हजुरहरूको ठाउँ डुल्न आएको।'
'लु जाऊँ त्यसो भा हाम्रामा। डुल्न आउनु भा रहेछ।'
यो सुनेपछि मलाई ढुङ्गा खोज्दा देवता मिलेझैँ भयो।
मैले पनि हवस् भनेर उहाँहरूसँगै हिँडेँ।
आधा घन्टाजतिको हिँडाइपछि पुगियो उहाँको घर। उहाँको घर खरले छाएको अनि वरिपरि पनि खरले नै छाएको एक कोठे थियो।
मैले जसोतसो आफूलाई त्यही बस्न सक्छु भन्ने विश्वास दिलाएँ। रात पर्यो।
दाजुले 'आउनु है खाना खान' भनेर आवाज दिनुभयो।
सो बमोजिम म पनि गएँ पश्चिमेली परिकार खाने आशले।
तर उहाँले पस्कनु भएको खाना देखेर मैले प्रष्टसँग उहाँको गरिबी देखिसकेको थिएँ। आफू भोकाएकी देखिने ती बहिनी छेउमा बसेर ती मलाई पुलुपुलु हेर्दै थिइन्, मैले खान लागेको देखेर।
मैले गाँस मुखसम्म पुर्याउन नपाउँदै ती दाजुले खोक्नु भयो, खोक भोको पेटको। मैले केहीबेर गाँस मुखमा हालिनँ।
यो देखेर उहाँले मलाई किन नखानु भएको भनेर प्रश्न गर्नुभयो। उहाँले थप्नुभयो, 'गरिबको झुपडीमा पाकेको खाना मिठो लागेन होला है भाइलाई?'
मैले मुसुक्क मुस्कुराउँदै भनें, 'हजुरले बनाउनु भएको यो खानामा माया र सद्भाव लुकेको छ। कसो मिठो नलाग्ला त हौ मलाई यस्तो मजाको खाना!'
यो पटक भने दाजुको मुहारको हाँसो हेर्न लायक थियो, एक मिठो हाँसो। खानपिन सकेर एकछिन गफ गर्ने निधो गर्यौं हामीले।
'अनि दाजु, होली लाग्यो! भोलि मनाउने होला नि त हैन?'
'खै भाइ, के मनाउनु होली पनि! ऊ त्यसकी आमा बितेको ६ महिना नि भा छैन। हामी गरिब दुखी।'
'अनि दाइ, कहाँ त्यसो भनेर हुन्छ त? वर्षमा एकपल्ट बल्ल आएको चाड! नमनाई कहाँ हुन्छ हौ?'
'भन्छौ नि भाइ तिमी। एक छाकको लागि दिनभरि काम गर्नुपर्छ। त्यहीबाट बचेको अलिकति पैसाले छोरीको पढाई गराउनु पर्छ। जे होस्, मैले भोगेजस्तो हाम्रो छोरीले भोग्नु नपरोस्, यही चाहना छ।'
'अनि दाजु, एक दिनको रमाइलो त हो नि। बल्ल आएको पर्व! त्यही नि...'
मैले बोलिनसक्दै उहाँले भन्नुभयो, 'पोहोर साल होली खेल्ने हुँदा कडा रंगको कारणले छोरी अस्पताल भर्ना भई। जम्मा गरेको सबै पैसा खर्च गरेर उपचार गराइयो। निको पनि भई। तर...'
'के तर ?' मैले सोधें।
'तर छोरी निको भएको ३-४ महिना नबित्दै मेरी श्रीमती पनि बिरामी परी। सबै जम्मा गरेको पैसा छोरीको उपचारमा सकियो। त्यसैले मेरी श्रीमतीको राम्रो उपचार गर्न सकिएन। अन्त्यमा मैले श्रीमती अनि मेरी छोरीले एक असल आमा गुमाउनु पर्यो।'
हो र दाजु! अनि...
टिङ टिंग गर्दै मेरो मोबाईलको अलार्म बज्यो। उठेर झट्ट मोबाइल हेरेको त बिहानीको ७ बजिसकेछ।