माया र खाना जति विस्तारै पाक्यो त्यति मिठो हुन्छ रे। यी उजाडिएका दिनहरुमा म मेरो पुराना दिनहरूको कल्पनामा मग्न छु। अनि अचम्मित छु समय र कुशल यति छिटै बद्लिएको देखेर।
केही दिनको माया प्रेमपछि धुमधामले बिहे भएको थियो कुशलको र मेरो आठ वर्ष अगाडि। सरकारी बैंकको म्यानेजर, राम्रो कमाइ, ठिकठाकको ज्यान, मिलेको अनुहार अनि एउटा सानो कार।
मेरो बाबाको आँखालाई पुग्ने सबै थियो। अनि त्यसैले त कैयौंलाई पन्छ्याएर बिहे गर्दिनु भएको कुशलसँग। बाबाआमाकी एक्ली सन्तान म, मैले मात्रै चाहेर हुँदैन भन्ने थाहा थियो। त्यसैले त कहीँकतै मन नडुलाई बसेकी।
आज हाम्रो बिहे भएको पनि झन्डै आठ वर्ष भइसकेको छ। सुरुआती दिनहरु साह्रै रमाइला थिए। हप्ताको एकदिनको छुट्टी मिलेर घरको काम, समय प्रसंगमा उपहार साटासाट, क्यान्डल लाइट डिनर, समय मिलाएर घुमघाम।
मेरो पालाको रोमान्स सबै हुन्थ्यो। त्रिभुवन विश्वविद्यालयबाट मास्टर सकाएर बिहे भएको २८ वर्षमा मेरो। यो वर्ष त ३६ कि पुगेछु। केही दिनअगाडि जन्मदिन आयो गयो वास्तै भएन।
मलाई पनि अफिस सक्काएर घर आउँदै गर्दा बाटोमा बेकरी देखेर अचानक याद आएको। जब मन अरु कुराबाट भरिन्छ, आफ्ना कुराहरु वास्तै नहुने रहेछन्।
ए! भन्नै बिर्सिएँ कि हाम्रो बिहे भएको ८ वर्ष भयो अनि म ३६ कि, अझैसम्म आमा बन्न सकेकी छैन। पाठेघरमा समस्या छ रे, साह्रै थोरै चान्स छ रे।
'तर हिम्मत नहार्नू...' अहिलेसम्म लगभग नाम चलेकादेखि स्त्रीरोग विशेषज्ञको ट्याग लगाएका डाक्टरहरु सबैलाई देखाई सकेँ, सबैले यही भन्छन्।
आजकाल हाम्रो झगडा पनि दिनहुँजसो यही कारणले पर्छ। कुशल कहिलेकाहीँ त हातसम्म पनि उठाउन खोज्छन्। तर के गर्नु, आफ्नै गल्ती र भाग्य सम्झेर चुपचाप बस्छु।
आज अलि ढिला भएछ घर आउँदा। कुशल लिभिङ रुममा बसेर केही काम गर्दै थिए ल्यापटपमा।
'आज ढिला!' अलि ठूलो स्वरमा सोधे। अनि मैले टाउको हल्लाएर उत्तर दिएँ। अरु केही भनौं भने फेरि त्यही कुरा निकाल्छ अनि फेरि झगडा सुरु। धेरै महिना भयो टाउको हल्लाएर उत्तर दिन थालेको।
सँगै खाना खान छोडेको पनि कैयौं भइसक्यो। म आफैले छोडेकी। ऊ त केही सुनाएर उठिहाल्छ अनि म त्यही कुराले रातभर निदाउन सक्दिनँ। आजकाल यसै पनि कहाँ निद्रा पर्छ र!
म खाना खाएर किचनको काम सकाएर बेडरुम तिर लाग्दै थिएँ। कुशलले रोकेर सोध्यो 'आज टेस्ट गरेको हो? आज केही भयो?' म फेरि झसंग भएँ, हात खुट्टा काप्न थाले।
डराई डराई 'हो भएन' उत्तर दिएर के सकाएको थिएँ फेरि सुरु भयो, 'कहिले के नै भएको छ र तिमीबाट!'
अब त आदत भइसकेको थियो यस्तो वचन सुन्ने। ऊ सधैँ मैले नचाहेर नभएको जस्तै गर्छ।
अर्को बिहान ढिलाढिला आँखा खुल्यो। यस्तै ७:३० बज्नै लागेको थियो। कुशल तयार भइसकेको रहेछ। अनि सोधेँ, 'आज किन यति छिटै?'
एकोहोरो स्वरमा उत्तर दियो, 'ए अफिसमा मिटङ छ, त्यसैले छिटै जान लागेको।' सरासर यही उत्तर दिएर ऊ लाग्यो।
म उठेँ, अलिकति काम सकाएर केही खाएर अफिस हिँडेँ। अनि अफिस पुगेर आफ्नो क्याबिनमा ब्याग राखेर काम सुरु गर्न लागेको थिएँ, सधैँ जस्तै एउटा आवाज आयो 'म्याडम आज पनि ढिला?'
ऊ मेरो अफिसको साथी प्रनित। आल्तुफाल्तु कुरा गरेर बिहान सबैलाई हँसाउनु उसको अफिसको काम जस्तै भइसकेको छ।
खुसीको महशुस गर्न नपाएकी मलाई पनि प्रनितको यो बानी अनि कुराले हाँसो लाग्थ्यो। हामी अफिस सकेपछि चिया खाने बाहनामा चोकको क्याफेमा बस्ने गर्थ्यौँ कहिलेकाहीँ।
सधैँ जस्तो अफिस सक्काएर घर फर्किेन लागेकी थिएँ पछाडिबाट आवाज आयो, 'म्याडम चिया खान जाने हो?'
मन भरिएको थियो, कसैले कुरा सुनिदिए पनि हुन्थ्यो भइरहेको बेला प्रनितको यो कुरालाई स्वीकार गरेँ। हामी नजिकैको क्याफेमा गयौं।
'अनि के छ तिम्रो खबर, डाक्टरसँग केही कुरा भयो?' अचानक धेरैपछि उसले सोध्यो।
एक क्याफेले हामी धेरै नजिकिएका थियौं। मैले उत्तर दिएँ, 'छैन नि, अब जाने दिन आउँदै छ।'
एकछिनको सन्नाटापछि फेरि बोल्यो, 'बच्चा त एडप्ट गरे पनि त हुन्छ होला नि।'
म मुस्कुराएँ। धेरैपछि अचानक आएको खुसी थियो। मैले हुन्छ नि कुशलसँग कुरा गर्छु एकचोटि भनेर उत्तर दिएँ। अनि केही घण्टाको बसाइँपछि हामी त्यहाँबाट छुट्टियौँ।
घर पुगिसक्दा कुशल सधैंजस्तो आफ्नो काम गरिरहेका थिए। आज मैले हिम्मत गरेर बच्चा एडप्ट गर्ने कुरा राखेँ। कुशल फेरि भड्किए अनि ठूलो स्वरमा चिच्याउँदै भन्यो 'मिनी के भन्दैछौ तिमी? कहाँबाट आउँछ तिमीलाई यस्तो बुद्धि? यति मेहनत अरुमा गरेको भए सायद आज यो दिन आउँदैन्थ्यो।'
उसले फेरि त्यही भनेर चुप लाग्ने बनायो। सबै मैले नचाहेर नभएको जस्तो। आगो आगो भए धेरै क्षती हुन्छ सोचेर सधैंजस्तो आफै चुप लागेँ। उसलाई आजकाल अफिसको साथीहरु, आफन्तसँग पनि मेरो कुरा काट्ने बानी परिसकेको थियो।
भर्खर ट्रान्सफर भएको उसको यता। अनि मैले पनि यतैको अफिसमा काम गर्न लागेकी। नयाँ सहर भएकाले परिवार, साथीहरु अरु कोही पनि थिएनन्। यो सहर साह्रै बिरानो लाग्थ्यो।
त्यसैले पनि होला प्रनितको साथ आजकाल निकै प्यारो लाग्न थालेको थियो। कसैले बुझ्छ मलाई सायद लाग्ने। कहिलेकाहीँ प्रनितको घरसम्म पनि पुग्थेँ। कुशलसँग जति कुरा गर्न खोज्दा पनि आजकाल समाधान आउँदैनथ्यो।
अब त सायद थाकिसकेको छ मबाट जस्तो लाग्न थालिरहेको छ। नभन्दै कुशल त डिभोर्ससम्मको सोचिसकेछ। अचम्ममा परेँ। कति रोएँ। कति सम्झाएँ। ऊ अझै पनि मलाई नै दोष दिइरहन चाहन्छ।
यतिसम्म भन्न भ्याइसकेको थियो कि, 'तिमीलाई प्रनित छ नि, मसँग त खै के नै भयो र।' छोरी मान्छे जहाँ गएपनि सुन्नै लेखेको हुने।
डिभोर्सको कानुनी प्रक्रिया सक्काएर यतै एउटा सानो कोठामा बस्न थालेकी छु आजकाल। अफिस आउने जाने चलिरहन्छ। प्रनितसँगको मित्रता सायद प्रेममा परिणत भएको हो कि सम्म पनि लाग्ने।
बेसाहरा मान्छे कसैले अलिकति माया देखाए, कुरै नभनी कुरा बुझ्ने भएपछि लाग्ने पनि भयो। दिनहरु चलिरहेका थिए यसैगरी। अनि एकदिन अचानक प्रनितले मलाई आफ्नो स्वीकार्ने प्रस्ताव राख्यो।
धेरै सोचेँ। न त आफ्नो अब कोही थियो। यो एक्लो ज्यान त्यसमाथि डिभोर्स महिला। मैले उसको कुरा स्वीकारे। ऊ मलाई चाहन थालिसकेको थियो सायद।
हामीसँगै बस्न लागेको पनि महिना दिन हुन लाग्यो। एकदिन प्रनित खान बनाउँदै थियो। मैले उसलाई एकदिन राति सुनाए, 'प्रनित आई एम प्रेगनेन्ट।'
ऊ खुसी थिएन। उसले फेरि सोध्यो, मैले फेरि उत्तर दिएँ।
आठ वर्षसम्म जे कुराको लागि तड्पिरहेकी थिएँ, त्यही खुसी पाउँदा पनि मन खुसी भएन। यो कस्तो बेला खुसी पाएँ, बरर आँसु खस्यो।
मैले यति कुरा सोच्दा, भनिसक्दा पनि ऊ अझै मौन थियो। जो म बोल्नु अगाडि मेरो कुरा बुझ्थ्यो, जसले साहस दियो, साहरा दियो, खुसी दियो, अनि सायद माया पनि। उसलाई यस्तो देख्दा साह्रै दुख लाग्यो अनि अचम्मित भएँ।
ऊ अझैपनि यो कुरामा केही उत्तर दिन चाहेन। पछि खाना खाइसकेपछि मैले सोधेँ, 'प्रनित के भयो? किन चुपचाप?'
एकछिन सोचेपछि ऊ बोल्यो, 'यो बच्चा हाम्रो नहुन पनि त सक्छ। हामीसँगै बस्न लागेको भर्खर एक महिना त भयो। यसलाई फालेर फेरि सुरुआत गरौँ।'
एकछिन सोच्नै सकिनँ। हातखुट्टा आफ्नो ठाउँ छोडिसके। म केही आवाज निकाल्न सकिनँ। ऊ यति भनेर सुतिसक्यो। अझै भन्दै थियो यसबारे छिटै निर्णय लिनु।
रातको ११ बजिरहेको छ। मलाई निद्रा परेको छैन। म त्यतिबेला कस्तो अवस्थामा छु बुझ्नै सकेकी छैन। प्रनितको कुरा गर्ने तरिकाबाट मलाई लाग्दैन अब मलाई यो अवस्थामा स्वीकार्छ।
त्यस्तो मान्छे कसरी एक्कासी यस्तो भयो, म यही कुरा सोच्दै टोलाइरहेकी छु। आज ८ वर्षपछि खुसी मनाउँ या भोलिको गन्तव्यको खोज्ने यही सोचमा ढलिरहेकी छु। जब भाग्यमा नै खुसी नभएपछि हातका ठेलाहरु पनि घाउ बनेर पीडा दिने रहेछन्।