उनी ठुस्किनुको कारण खोतल्न कति प्रयास गर्यो। माया प्रेमका कुरा गर्यो, छेडाखानी गर्यो। शरीरमा हातै हालेर काउकुती लगायो। अहँ, ढुंगा बोल्ला उनी बोलिनन्। बरु उनी भित्तापट्टि फर्किएर सास दबाएर सिरकले मुख छोपेर सुतिन्।
छोराहरुलाई स्कुल पुर्याउने, ल्याउने, खाना बनाउने, सर-सफाई गर्ने काम लागायतका घरायसी काममात्र होइन, साँच्चै हो भने श्रीमतीका लुगा समेत धुनेसम्मका काम उसको जिम्मामा पर्यो। भलै त्यो धुवाई वासिङ मेसिनमा नै किन नहोस्।
चुनाव जितेपछि उसको व्यस्तता अति बढेको थियो। विदेशको ठाउँ सबैतिर भ्याउनु पर्ने, कसैको बर्थ डे पार्टी होस् वा एनिभर्सरी, बेबी सावर होस् वा कसैको हाउसवार्मिङ। अझ नेपाल तिरबाट कोही नेता आइदियो भने त खादा माला, बस्ने बास, खाने मेलो फर्कँदा गिफ्ट जस्ता कुराका साथै समाजमा हुने अन्य गतिविधिहरुमा संलग्न हुँदा उसको जब अर्थात् काम छुटेको थियो।
त्यसमाथि यी अनावश्यक कामका खर्च त कति हो कति। राजनैतिक चटारोले जागिरबाटै निष्कासनमा परेपछि बुढीको जिम्मामा घरको लोन तिर्नेदेखि परिवार चलाउनेसम्मका कामको जिम्मेवारीमा पर्यो।
आफू सभापति भएकै संगठनको महिला विभागले गरेको तिजको कार्यक्रममा सहभागी भएर आएपछि बितेको हो त्यो चिसो रात। हुन त उसले पार्टीमा पुर्याउने र ल्याउने काम गरेकै हो।
पार्टीमा जाँदा ड्राइभर सिट नजिकै अगाडि बसेकी बुढी, आउँदा किन पछाडी गएर बसी बुझ्न सकेको थिएन। १० मिनेटको ड्राइभिङको बाटोमा बुढाबुढी चुप नै रहे। घरमा आउने बितिकै पार्टीमा लगाएकै लुगामा उनी पल्टिइन्।
बुढीको ठुस्काईको कारण पत्ता लगाउन नपाई ऊ पनि भुसुक्कै निदायो तर जब बिउझियो, बुढी निन्द्रामै बर्बराई रहेको सुन्यो। बुढीलाई एैठन भयो होला भनेर झकझकाएर उठाउँ कि जस्तो पनि लागेको हो तर बुढीले भनेका कुराहरु सुनिरह्यो।
'समाजका लागि भनेर गरिने राजनीति परिवारका लागि काम लाग्छ कि लाग्दैन?
नेताको परिवार समाजको अंग हो कि होइन? आफ्ना परिवालाई नेताहरुले समय दिनु पर्छ कि पर्दैन? यो स्थान कहाँ छ? नेता भनाउँदाको श्रीमती, छोराछोरी र परिवारको खुसी हुन्छ कि हुँदैन?
इच्छा-चाहाना हुन्छ कि हुँदैन? कि जति बेला पनि फोनमै झुन्डिने, मान्छेहरुलाई घरमा बोलाइरहनु पर्ने, पार्टी गर्नु पर्ने, ऋण गरी गरी नेपालबाट आएका नेतालाई उपहार किनु दिनु पर्ने, घुमाउन जानु पर्ने। आखिर सबै केका लागि?
आफू पार्टीमा जाँदा पनि बुच्चो नाक, कान र घाँटी देखिन्छ भनेर ढाकेर जानु पर्ने, ५ वर्ष पुरानो सारी लाएर जानु पर्ने? बुढाको सेकेन्डह्यान्ड खटखटे गाडीमा जानु पर्ने? के त्यहाँ आउने सबै संगीहरुले रानीहार लगाउँदा मेरो रहर हुँदैन?
अरु त अरु, उसकै संगठनको उपसभापतिको गाडी हेर, घर हेर, बुढीको तामझाम हेर? उसका अगाडि आफू उभिन पनि आफैंलाई लाज लाग्छ। आत्म-सम्मान गिरेको जस्तो लाग्ने, कता-कता आफू निचो भएको हिनताबोध हुने। बरु नगएको भए पनि हुने रहेछ।'
सभापतिले आफूलाई आफैले चिमोट्यो र आफैं एैया भन्दै विपनामै रहेको निष्कर्ष निकाल्यो। बुढीको बर्बराहट सपनाको हो कि विपनाको हो त खुट्याऊन सकेन तर बुढीको कुरामा असहमति जनाउने कुनै कारण देखेन। सभापतिले बुढीको चित दुखाईको कारण भने स्पष्ट देख्यो: उपसभापतिको बुढीको लवाई खुवाई र चुरीफुरी।
उसले विगत सम्झ्यो। नेपालमा एउटै क्याम्पस पढेका उनीहरु भाग्यले दुवैलाई यही जुरायो। यही दुवैले नेपालको राजनीति कायम राखे। उता सानोतिनो विद्यार्थी राजनीति गर्ने उनीहरु विदेशमा सभापति-उपसभापति भए। हप्तामा एकदुई पटक एकै घरमा खाना खाने उनीहरु पारिवारिक मित्र वा दाजुभाइभन्दा कम थिएनन्।
श्रीमतीहरुको मिल्ती त झन् कडा। हरेक चिज सल्लाह गरेर किन्ने, एकले किनेपछि आर्कोले सोही किन्ने। आजसम्म पनि कुनै दिन यस्तो उस्तो भाछैन। फेसबुकमा सबैले सेलको ब्लु लेभलको बोतल सहित फोटो राखेपछि एकदिन उपसभापति ब्लु लेभल सहित सभापतिको घरमा खाना खान समेत आए।
दुवैले ब्लु लेभल समातेर 'हामी यता' भनेर क्याप्सन सहित फेसबुकमा फोटो पोस्ट गरेको अस्ति मात्रै हो। तापनि कुरो सुनमा आएर बिग्रिएछ।
हुन त केही महिनादेखि उपसभापति पनि अलि पारा देखाउन थालिसकेका थिए। 'दाइ अब आउने अधिवेशनमा तपाईले मलाई सभापतिमा प्रस्ताव गर्नु पर्छ' एक रात मदिराको सुरमा उप-सभापतिले यो कुरा राखेपछि सभापति झस्किएका थिए। त्यतिबेला उनले कुरो नसुने जस्तो गरी उप-सभापतिको गिलासमा मदिरा थपिदिएका थिए।
त्यसपछि उपसभापति अब अधिवेशनपछि मै हो सभापति भन्दै बाहिर तिर डुक्रिन थालिसकेका थिए। दाइको समर्थन मलाई नै छ भन्दै बाहिरतिर डुक्रिएका खबर बढाई चढाई सभापतिको कान भर्नेहरुको कमि पनि थिएन।
यता सभापतिको सुर एकवर्ष म्याद थप्ने अनि फेरि पुनः चार वर्ष आफै सभापति हुने दाउ थियो तर कसैलाई भनेका थिएनन्।
अधिवेशन पर सर्दै म्याद त थपे तर आफ्नो पुनः सभापति बन्ने धोकोमा आफ्नै भाइ, पारिवारिक मित्र, नेपालदेखिको साथी जे भनेपनि हुने अभिन्न मित्र नै बाधक बन्ने निश्चित देखेपछि सभापति पनि निकै दिनदेखि यो काढा कसरी हटाउने भनेर उपाय सोचिराखेका थियो।
बुढी उठिन्। उसले कुरामात्र के सुरु गरेको थियो बुढीले फायर खोलिन्-
'तपाईले राजनीति गरेदेखि हाम्रो कमाई पनि यस्तै उस्तै भैराछ। तपाई सभापति जहाँपनि तपाईलाई नै पुग्न पर्ने, कमाउने म मात्रै। उसका त लोग्ने स्वास्नी दुइटै डबल सिफ्ट हान्छन्, टन्न गाहना लगाएर स्वास्नी हिड्छे। लोग्ने पनि हाम्रोभन्दा ठूलो गाडी चड्छ। हुन त तपाईकै अन्डरको उप-सभापति हो नि, तपाईलाई त त्यसले गन्न छाडिसक्यो।'
'न रहेँ बाँस न बजे बाँसुरी' सभापतिलाई अक्कल फुर्यो 'उप-सभापतिलाई कुनै न कुनै किसिमले तेजोबोध गर्ने, अनुशासनको कारबाही।'
बुढीले पनि उनको चुरीफुरी झार्ने ईखमा बुढाको कदमलाई ताली पिटिन्। दुवै मिलेर कारबाहीको ड्राफ्ट बन्यो।
उसले फेसबुक खोल्यो र पार्टी सदस्यको ग्रुप म्यासेन्जरमा म्यासेज लेख्यो।
'संगठनका उपसभापतिले पटक पटक संगठनको गरिमामा आँच आउने र क्षति पुग्ने गरी संगठनिक अनुशासन उल्लंघन गर्नु भएकोले आज बसेको कार्यसमितिको बैठकले उपसभापति पदबाट निलम्बन गर्दै केन्द्रिय अनुशासन समितिमा छानबिनका लागि सिफारिस गर्ने र केन्द्रिय अनुशासन समितिको अन्तिम निर्णय नआउन्जेल प्रवासको कमिटिको कुनै पनि गतिविधिमा भाग लिन नपाउने निर्णय गर्दै अनुशासन उल्लंघनसँग सम्बधित सबै कागजात सहित केन्द्रीय अनुशासन समितिलाई पत्राचार गर्ने निर्णय गरिएको छ।'
करिब दुई महिनापछि।
श्रीमती- बुढा, एनआरएनले त क्लिन चिट दिएछ नि?
श्रीमान्- (रिसाउँदै) झन् त्यसलाई आफ्नै पार्टीको आधिकारिक उमेद्वार हराएर अध्यक्षमा जिताएको, पख त्यसलाई पनि अर्को चुनावमा देखाई दिउँला। म को हो भनेर?