सगर गड्गडाए गड्गडाओस्,
हुरी-बतास चले चलोस्,
हाँगा हल्लिउन्, पात झरुन्
तर तिमी चल्नु हुन्न।
बाढी आओस्, पहिरै जाओस्,
जराहरु जमिन बाहिरै देखिओस्
तर तिमी ढल्नु हुन्न।
मानिस न हुन्
अरु तानेर आफू चढ्न खोज्छन्
अरु धकेलेर आफू बढ्न खोज्छन्।
ठेलम्ठेलको भिडमा
घम्साघम्सीको खेलमा
निरन्तर भिडिरहे पनि
तिमी गल्नु हुन्न।
खुट्टा लर्बराउन सक्लान्
विरोधीहरु सल्बलाउन सक्लान्
होशियार!
मौका पाए प्रहारै गर्न सक्लान्
तर तिमी ढल्नु हुन्न।
तातो प्रचण्ड घामको राप
निरन्तर परे पनि
तिमी जल्नु हुन्न।
भूमरी झैँ मनभित्र विचारहरु
उथलपुथल हुन सक्लान्
तर पनि
तिमी विचलित हुनु हुन्न।
अन्याय अत्याचार जति नै सहे पनि
तिमी गल्नु हुन्न।
जति नै पीडाका ताप परे पनि
तिमी बल्नु हुन्न।
सगरको बोझ जति नै भए नि
तिमी धसिनु हुन्न।
सत्य सधैँ अमर छ,
सत्यको सधैँ जित हुन्छ
त्यसैका लागि पनि,
तिमी ढल्नु हुन्न।
अरु त के,
चितामा बस्दा पनि
तिमी ढल्नु हुन्न।