बाबा! म त पढ्छु अनि धेरै पैसा कमाउँछु है
गिट्टी कुटी चर्किएका सुन्दर ती हात समाउँछु है
दसैँ आउँछ हरेक वर्ष, खुसी कहिले आउला र खै!
पढी लेखी सफलताको चाडपर्व मनाउँछु है।
मन त छ नि छोरा तिमीलाई ठूलो मान्छे बनाउने
एक सरो छोरोसँग ढाका टोपी मगाउने
भन्छौ होला अक्सर तिमीले, खोटो भाग्य रैछ मेरो
सोच्दा सोच्दै मुटु काँप्छ जाडो आउँदा के लगाउने?
कर्म दिनुहोला बाबा, गर्छु असल काम म त
योग्य बन्ने प्रयास गर्छु राख्छु ठूलो नाम म त
सम्झिने छु ममता अनि डाँट बाआमाको
हजुरहरूको पैतालामै देख्छु चार धाम म त।
धनी-गरिब जातभेद समाजको जहर बन्यो
राम्रो राम्रो लगाउने मात्र हाम्रो रहर बन्यो
छोरा, नाति खाडी जाँदा घर आँगन सुनसान भए
यही गाउँ नै लक्का जवान देश पठाउने सहर बन्यो।
छैन बाबा विदेशमा पीडा हर्ने शास्त्र
शिक्षा नै हो गरिबीको अटुट ब्रह्मास्त्र
पाठशाला मन्दिर मेरो, गुरु सबै भगवान् हुन्
असल मानिस बन्न पाए चलाउँथ्यौँ राष्ट्र।
सन्तानमै छ प्राण हाम्रो, पढ्नु ज्ञानी बन्नु बाबु
भविष्यका सुन्दर पाटा पौरखले खन्नु बाबु।
सधैँ माया गर्नु छोरा आफ्नो मातृभूमिलाई
विविधतामा एकताको मन्त्र सधैँ भन्नू बाबु।