खैरावाङदेखि गंगामालासम्म
लक्ष्मीपुरदेखि छत्रेश्वरीसम्म
यो शिर झुकाएँ
देवीका चरणहरुमा
र त म धन्य भएँ।
ढोर पिपल, जोर पिपलका चौतारीहरुमा
घाँजरी पिपल, शंख पिपलका छहारीहरुमा
सुस्ताएँ, थकाइ मारेँ, गुन्गुनाएँ गीतहरु, चरीसँगै
र त म धन्य भएँ।
र्याङदेखि राङ्सीसम्म
टुनीबोटदेखि खरिबोटसम्म
माझकाँडादेखि बाझकाँडासम्म
रागेचौरदेखि बागचौरसम्म
मूलपानीदेखि चौरपानीसम्म
पाती हाल्नेदेखि मौला हाल्नेसम्मका
उकाली ओराली, पाखा पखेरीहरुमा
पाइला पुर्याएँ
र त म धन्य भएँ।
भेरी, बबई, शारदा
मूलखोला, मासखोला, दहखोला
दार्माखोला, बनगाड खोला
धोपाटे अनि लङ्केनी खोलाको
चिसो पानीले
धितमरुन्जेल आँत भरेँ
र त म धन्य भएँ।
सिद्ध गुफा, शिव गुफा
साततले गुफा, चमेरी गुफा
तारुपरे गुफाका
कुना कुना छिरेँ, हराएँ, रोमाञ्चित भएँ
र त म धन्य भएँ।
कपुरकोट, कालीमाटी
कुमाख, सिद्ध कुमाख
बनगाड, बागचौर
दार्मा, त्रीवेणी, छत्रेश्वरीबाट
शारदाको खलङ्गामा
दुख कष्ट सहँदै
अल्झदै बल्झँदै
सेवा लिन आएका
बा, आमा, हजुरबा, हजुरआमा
दाइ, भाइ अनि दिदीबहिनीलाई
सेवा दिएँ निस्वार्थ
र त म धन्य भएँ।
स्वर्गजस्तै, जन्मेको ठाँउ
हुर्केको ठाँउ
ढुङ्गा माटो खोस्रको ठाँउमा
सेवा गर्न
भाग्य हुनुपर्छ
भाग्यमानी भएँ
र त म धन्य भएँ।