यही माटोमै टेक्नु पर्छ, सुनकै जुत्ता लाए पनि,
बाटो एउटै धर्ती एउटै, मै हुँ भन्ने आए पनि
घाम एउटै ताप्नु पर्छ, अन्तै अन्तै तापे पनि,
सबले फेर्ने वायु एउटै, जसले जसले फेरे पनि।
खाने मुख त उस्तै हुन्छ, जसले जे-जे खाए पनि,
तितो तितै मिठो मिठै, जसले जसले खाए पनि।
मूलको पानी उस्तै हुन्छ, जो जो आई पिए पनि,
माया बस्ने मुटु एउटै, जसले जति दिए पनि।
जन्मेपछि मर्नै पर्छ, जहिले जहिले जन्मे पनि,
जन्माउने आमा नै हुन्, जस्तो कुलमा जन्मे पनि
घामको ज्योति घट्दै जान्छ, दिउँसो जति चर्के पनि,
सत्य छल्न सकिँदैन, जो-जो जता फर्के पनि
छाडे हुन्छ मै हुँ भन्न, जो-जो जे-जे भए पनि,
रित्तै जानुपर्दो रहेछ, साथमा जति भए पनि
दम्भ गर्ने जाने उहीँ हो, बाँकी सारा जान्छन् जहाँ,
वर्ग श्रेणी तेरो मेरो, भन्दै आखिर पुग्छौ कहाँ?
भावना त एउटै हुन्छ, जो-जो हाँसे रोए पनि,
हृदयले बुझ्छ माया, स्नेहले छोए पनि,
सारा मान्छे आफन्त हुन्, यो धर्ती हो साझा हाम्रो,
मिलिजुली हाँस्न सके, हुन्थ्यो होला कति राम्रो।
विश्ववन्धुत्वको भाव, बुझ्न सके झनै राम्रो।