माघको एक साता कटिसकेको छ तर पनि चिसो कति पनि घटेको अनुभूति भएको छैन। तराईको ठाउँ हुस्सुले यसरी छोपेको छ कि आफनै अगाडिको पनि कुनै दृश्य खुट्याउन असम्भव प्रायः छ।
बिहानको सात बजे पनि रबिलाई आफ्नो ओछ्यान छोड्न कति पनि मन छैन। वरिपरि जस्ताले बेरेर बनाइएको बार अनि माथि छानोमा पनि बासको भाटाले च्यापेर लगाइएको जस्ताको छानोबाट शितका थोपाहरु तप्प तप्प चुहिएको आवाज।
रबि यसै आवाजमा आफूलाई कतै विलीन गराइरहेको थियो तर अचानक आमा जानुकाले 'रबि, रबि… उठ् न बाबु, कति सुत्छस?' भनेर बोलाएको आवाजले झसंग भयो।
आँखा मिच्दै मन नलागी नलागी उठ्दै बाहिर निस्कन्छ। बरन्डाको छानोमा सिउरिएको ब्रसमा निचरेर सकिसकेको पेस्टलाई अझै जोरले निचोर्छ र अलिकति ब्रसमा लगाएर कल (धारा) तिर जान्छ।
ब्रस गर्दै गर्दा खै के-के सोचेर टोलाइरहेको हुन्छ। त्यतिकैमा फेरि आमाले 'रबि आइज चिया खान छिटो' भनेर बोलाएपछि हातमुख धोएर जान्छ। अघिकै ठाउँमा ब्रसलाई राखेर भान्सामा जान्छ।
सानो कोठा एकतर्फ गोबरका गुइँठा थुपारिएको छेउमा प्लास्टिकको निलो तर रंग हराइसकेको बाल्टिनमा पानी, अर्को छेउमा भाटाको मक्किएको र्याकमा चार वटा थाल, तीन वटा गिलास र एक दुई थान कचौरा असरल्ल छन्।
रबिकी आमा जानुका कुनाको चुल्होमा नसुकेका गुइँठामा ढुंग्रीको सहायताले आगो बाल्न एकोहोरो फु, फु गरिरहेकी छिन्। रबि पनि चुल्होकै छेउमा जान्छ र हात चुल्हो तिर तेर्साउँदै परालको पिरामा बस्छ।
आमाले गिलासमा चुलोमाथि तातिरहेको कालो चिया गिलासमा हालेर दिँदै 'ल, खा' भन्छिन्। उसले चिया सुरुप्प पार्छ। चियाको भन्दा बढी धुवाँको स्वादले मुख बिगार्दै आमा तिर हेर्छ।
आमालाई देखेर खोइ के-के सोच्छ र फेरि टोलाउन थाल्छ। आमा भने चिया पिउँदै 'बाबु, आज घाम अहिलेसम्म उदाएका छैन, उदाउने छाँटकाटै छैन। ती बाख्रालाई यो अलिकति तातोपानी ढुटो हालेर दे है' भन्छिन्।
रबि नसुनेझैँ गर्छ। फेरि आमाले 'होइन के भएको छ यसलाई?' भन्दा बल्ल 'हजुर' भन्छ। आमा तिर फर्केर 'आमा, म अब विदेश जान्छु' भन्छ।
पहाड तेह्रथुममा खान लाउन दुख भएपछि भएको थोरै बारी र खेत बेचेर छत्रबहादुर परियार, रबिको बुबा आफ्नी जहान जानुकालाई लिएर त्यो ठाउँमा बसाइँसराइँ गरेर आएका थिए। सानो त्यो झुपडी बनाएर बसेका थिए।
काममा फूर्तिलो र सबैसँग मिजासिलो स्वाभावका थिए रबिको बुवा। जानुका पनि गाउँमा सबैको अर्मपर्म गर्न साह्रै फूर्तिलो बानी थियो। यसैक्रममा केही समय पश्चात् रबिको जन्म भएको थियो।
रबि जन्मदा दुवै जना बहुत खुसी भएका थिए। रबिको बुबा कहिलेकाहीँ जानुकालाई भन्ने गर्थे 'हेर, हाम्रो दुखका दिन गए। हाम्रो घरमा घाम (रबि) को पाइला जो पर्यो। यसलाई धेरै पढाउँछु र ठूलो मान्छे बनाउनु पर्छ बुझिस्। हामीले झैँ यसलाई अरुको घरमा काम गर्ने होइन, यसलाई धेरै पढाउनु पर्छ बरु हामी अझै बढी मेहनत गरौंला।'
बुढाको यस्तो कुरा सुनेर जानुका पनि खुसी हुन्थिन्। उनले रबिमा आफ्नो घरको उज्यालो भविष्य देख्न थालेकी थिइन्।
समयको चक्र आफ्नै गतिमा चलिरहेको थियो। रबि पनि विस्तारै ठूलो हुँदै थियो। टुसाएका रबिका बुबाआमाका सपनाहरु पनि क्रमशः वयस्क हुँदै थिए। जसरी छत्र बहादुरको घरमा परिवर्तनका रेखा कोरिँदै थिए, त्यसैगरी देशमा पनि सामाजिक क्रान्ति या भनौँ समाज परिवर्तन गर्ने भन्दै जनयुद्धको आगो हरेक समाजमा दन्केको थियो।
छत्र बहादुरलाई पनि उनीहरुले 'तिमीहरुकै मुक्तिको लागि हो अब बन्दुक बोक्नपर्छ' भनी हर किसिमका सपना नदेखाएका होइनन् तर उसलाई आफ्नो छोरो रबिलाई पढेर ठूलो मान्छे बनेको हेर्ने सपनाको अगाडि अरु कुनै सपनाले बाजि मार्न सकेनन्। यसरी उसको इन्कारकै कारण केही मानिस रुष्ट भएका थिए।
पुस महिनाको मध्ये थियो। घामको अनुहार धर्तीले नदेखेको लगभग तीन दिन भैसकेको थियो। घामको तेज नपरेपनि गाउँमा क्रान्तिको ज्वाला दन्किरहेको थियो। दिनहुँ समाचारमा मान्छे मारिएका र जनसत्ताले कारबाही गरेका कुटेका पिटेका मात्र खबरहरु आउने गर्थे।
साँझ पर्न लागेको थियो, छत्रबहादुर गोठमा वस्तुभाउ थन्काउँदै हुन्छ। केही गाउँकै चिनेका मानिसहरु आउछन् जो क्रान्तिमा लागेका थिए। एकछिन काम छ हामीसँग जाउँ न भन्दै लिएर जान्छन्।
जानुकाले भान्साबाटै 'कहाँ जाने? खाना खाने बेला भएको छ' भन्छिन्। समूहको एकजनाले 'एकछिनमा आउनु हुन्छ भाउजू दाजु' भन्दै लिएर जान्छन्। जानुकाले रबिलाई बुबालाई लिएर गएको कुरा सुनाउछिन्।
रबिले 'पिर नगर्नु, एकछिनमा आउनु हुन्छ' भन्दै सम्झाउँछ। तर त्यो रात रबिको बुबा फर्किदैनन्। रातभर आमाछोरा कहाँ लगे होला भन्दै पिर मान्दै बिताउन बाध्य हुन्छन्।
एकाबिहानै गाउँभरि हल्ला चल्छ, पल्लो गाउँको नहरमा क्रान्तिकारीहरुले सुराकीको आरोपको एउटा पत्रसँगै कसैलाई मारेर फालेका छन् रे भन्ने। यो सुनेर रबि र आमा जानुका दौडिँदै त्यता लाग्छन्। जे नहुनु पर्ने आखिर त्यही भयो। दैवले बल्ल खुसी फुल्दै गरेको फूलको बोटै निमोठिदियो। छत्र बहादुरलाई मरणात्मक तवरले कुटेर मारेर फालेका रहेछन्।
भर्खरै बाबुको वर्षदिनको काम सकेर बसेको छोराले अचानक 'आमा म विदेश जान्छु' भन्दा जानुका झस्किन्। यी घटनाहरु मस्तिष्कमा घुम्न थाले। हुन पनि बाबुको मृत्युपछि घरको सबै अभिभारा रबिमाथि थियो।
सोही कारण उसले प्रवेशिका परीक्षा समेत दिन पाएन। अब छत्र बहादुरका सपना उसको मृत्युसँगै उजाडिएका थिए। सबैभन्दा बढी त जानुकालाई पिर थियो कि आफ्नो सन्तानलाई के बनाउने सपना थियो, त्यो परिबन्धले यसरी बाधिदियो आफ्नै अघि आफ्नो सन्तानको भविष्य उजाडिँदै गर्दा उनलाई असह्य पीडा हुन्थ्यो।
तर पनि उनले रबिको अघि कहिल्यै आफूलाई कमजोर पारिनन्। तर आज रबिको विदेश जाने कुराले आफूलाई रोक्न सकिनन् र भनिन् 'तेरो बुबाले पनि छोडेर जानुभयो, अब त पनि विदेश जाने भन्छस्। म कसरी कसको मुख हेरेर बसूँ?'
रबिले सम्झाउँछ 'अब पढाइ पनि छुटयो, ऋण पनि छ। बरु केही साल बाहिर गएँ भने केही पैसा कमाउँछु। त्यसपछि हजुरलाई पनि सुख हुन्छ अनि सँगै बसौँला' भनेर।
मनले नमाने पनि आफ्नो मायाको कारण रबिलाई गाउँमै अर्काको बनिबुतो गरेर वा गर्न लगाएर राख्दा बुढाको आत्मा पनि रोला सायद। यस्तै मन मनमा तर्कना गरी रबिलाई विदेश जाने कुरामा सहमती जनाइन्।
रबि विदेश गएको पनि लगभग एक वर्ष बितिसकेको छ। काम त्यति सजिलो नभए पनि घरको दुख सम्झेर र भोलि आमालाई सुखसँग राख्ने सपनालाई साकार पार्न रबि काम गर्छ।
अहिले त आमालाई मोबाइल पनि पठाइदिएको छ। मन लाग्दा आमासँग कुरा गर्छ। यता जानुका पनि दुखसुख दिन काट्दैछिन्। कहिले भोलि आउने खुसी सम्झँदै त कहिले विगतका ती घाउ अनि मुटु नै छिया छिया हुने कहाली लाग्ने ती दिनरात सम्झिँदै।
तर जे भएपनि अब जानुकाको जीवनमा सायदै दुखहरु बिलाउँदै गएका थिए। अब विदेशबाट फर्केपछि रबिको बिहे गर्न उनले बुहारी खोज्न जो थालेकी थिइन्। रबिले बताएअनुसार अबको केही महिनामा आउने कुरा पक्का थियो।
यस्तैमा एकदिन रबिको फोन आयो र भन्यो 'आमा, म छिट्टै आउँदैछु।'
जानुकालाई रबिको बोलीमा केही फरकपन महशुस भयो र सोधिन् 'के भयो बाबु, त सन्चै त छस्?'
उसले पनि 'केही होइन आमा, हजुरको न्यास्रो लागेर हो' भन्यो।
फेरि चिसो मौसम सुरु भएको छ। चिसो मौसममा जानुकाको मन पनि सधैँ चिसो भैरहन्छ। विगतमा घटेका घटनाले गर्दा। आज हुस्सुले छपक्कै छोपेको छ। नजिकैको पनि केही देख्न सकिँदैन।
जानुकाको घरै परतिर आज धानको बिटा बोक्ने दिन छ। मान्छेहरु कल्याङ कुलुङ बोलेको आवाज सुनिन्छ। एउटा भ्यान हुस्सुलाई चिर्दै जानुकाको घर अगाडि आएर रोकिन्छ। जानुका भान्साबाटै को हो? भनेर चियाउने प्रयास गर्छिन् तर ठम्याउन सक्दिनन् बाक्लो हुस्सुको कारण।
कसैले विस्तारै विस्तारै भनेको आवज सुनेपछि बाहिर आएर हेर्छिन्। कोही रबिलाई बोकेर ह्विलचियरमा राख्दैछ। रबि दुवै खुट्टा काम गर्ने क्रममा दुर्घटनामा परी गुमाएर आएको हुन्छ।
यो देखेर जानुकाले टेकेको जमिन भासिएको भान हुन्छ। चिच्याउन खोज्छिन् तर आवाज आउदैन। रबि पनि बलिन्ध्र आँसु झार्दै आमालाई हेरिरहन्छ। जानुकाले ह्विलचियरमा बसेको छोरा रबिलाई गएर सुम्सुम्याउँछिन् र रुदै अंगाल्छिन्।
सन्नाटा छाएको छ। स्तब्ध छन् आमाछोरा नै। केही बोल्न सकिरहेका छैनन्। यतिकैमा सन्नाटालाई चिर्दै एउटा आवाज आयो धानको बिटा बोक्नेहरु तिरबाट 'आज घाम उदाउँदैन कि क्या हो!'