नारी तिमीलाई थाहा छ हैन,
सत्यावतीको चीरहरणको कथा
द्रोपदीको वस्त्रहरणको कथा
कुन्तीको पुत्र त्यागको कथा
गान्धारीको सम्झौताको कथा
नारी
एकादेशको कथा हुनुपर्ने यी कथाहरु
आज मेरो देशमा त्यस्तै, यस्तै दुरुस्तै कथाहरुले
किचिएका छन् करोडौँ नारीहरु
चाहे
अन्धकार झुपडी होस् या आलिसान महल
विकटताको वस्ती होस् या सुविधाको सहर
अशिक्षित औँठाछाप होस् या शिक्षित सहीछाप
बोली नफुटेकी नाबालिका होस् या वैतरणी तर्न लागेकी वृद्ध
यत्रतत्र सर्वत्र देखिन्छ बलात्कारको बाढी हत्याको हुरी
पत्रिकाका पानापिच्छे पढ्छन् यी ओठहरुले
टेलिभिजनका च्यानल पिच्छे देख्छन् यी आँखाहरुले
रेडियोका ब्यान्ड पिच्छे सुन्छन् यी कानहरुले
बाबुबाट छोरी बलात्कारको समाचार
गुरुबाट विद्यार्थी बलात्कारको समाचार
हाडनाता करणीको समाचार
जबरजस्ती बलात्कारको समाचार
आखिर कहिलेसम्म बन्छौ नारी?
भमरालाई फुलेको फूल जस्तै
प्यासीलाई पानीको मूल जस्तै
यात्रीलाई थकान मेटाउने चौतारी जस्तै
निर्वस्त्र पौडी खेल्ने माछालाई पोखरी जस्तै
हे नारी,
ढिलो नगरी परिवर्तित अवतारमा आऊ
तेलमा पराश्रित दियो हैन सूर्यको अवतारमा आऊ
कलकल बग्ने खोला हैन, आधी र चक्रवातको अवतारमा आऊ
सुन्दर श्रृंगार अनि बहुमूल्य आभूषणमा हैन
दुर्गा, काली अनि देवी अष्टभुजाको अवतारमा आऊ
अनि
भत्काइदेऊ नारीलाई बन्धक बनाउने विभेदकारी पर्खालहरु
मेटाइदेऊ नारीलाई सीमित राख्ने पुरुष कोरित लक्ष्मणरेखाहरु
बदलिदेऊ नारीलाई वाचन वर्जित गायत्रीका ऋचाहरु
र
कोरिदेऊ ब्रह्माण्डका भाग्यरेखाहरु
जहाँ
कुनैपनि युगमा कुनैपनि नारीलाई
नबगाओस् बलात्कारको बाढीले
नउडाओस् हत्याको हुरीले।