घर घरमा बुद्धम् शरणम् गच्छामी भनिरहने देशमा
शासन बन्दुकको हातमा गएपछि
रगतले सिंचाइ गरिरहेको छ बर्मेली भूमि
प्रजातन्त्रका लागि।
युगौं पहिले बुद्धको शान्ति सन्देश पुगेको मुलुकमा
फेरि बुद्धको देशबाट
एक हुल परेवा पठाउनु छ
शान्तिका लागि।
विवेकले चलाउनु पर्ने बन्दुक
अहिले बन्दुकले बर्मा चलाइरहेको छ
बन्दुकको होइन
नागरिकको राज चल्नुपर्छ
किनकि
बन्दुक अस्थायी जड हो
नागरिक स्थायी हो
पृथ्वीको रक्षक र सुन्दर उपहार पनि
नागरिकको विकल्प बन्दुक
न हिजो थियो
न आज र भोलि हुनेछ।
वसन्तको आगमनसँगै
पालुवा पलाओस् प्रजातन्त्रको
हुरी चलोस् शान्तिको
कामना गरौं शान्तिको भूमिबाट
म्यानमारमा होस् मानवताको वर्षा
युगौं युगसम्म।