कविता
अख्तियारको प्रतिवेदन बोल्यो
सुब्बा सबभन्दा घुस्याहा रे
स्टिङ अपरेसनमा
उही सानो माछो बारम्बार परिरहँदा
छुटोस् प्रतिवेदनमा नि कसरी ?
लाग्छ अचेल
भ्रष्टाचार र घुसखोरी काण्डमा
परेन भने कुनै न कुनै सुब्बा
सायद अपरेसन नै फिक्का लाग्दो हो
अनि समाचार पनि सत्य नलाग्दो हो
तर
गजब त यो लाग्छ कि अझै
मौलायो नीतिगत भ्रष्टाचार भनिरहँदा
कसरी चान्स मार्न भ्याएछन् सुब्बा मोराले ?
सानो हैसियतको भएर नि
कसरी सबैलाई उछिनेर
एक नम्बरी घुस्याहामा दर्जिन पुगेछन् ?
होइन कुन अख्तियारीको आडमा
हालिमुहाली गर्न भ्याएछन् ?
देख्दा त लाग्छ
केही सीमित ठाउँ बाहेक ऊ
सही सम्म नचल्ने
निजामती सेवाको निरीह पात्र हो।
सुनियो किस्सा धेरै
अफिसरकी श्रीमतीले उनको श्रीमानलाई
तपाईं बढुवा भएर सुब्बा हुने कहिले ?
भन्ने सम्मका
आज अस्तित्व नै नभएको सुब्बा पदको
लामो समयदेखि नायव चलाउन तल्लिन ऊ
आफ्नो दुखेसो बिर्सेर सेवा दिइरहँदा
उचित मूल्याङ्कन गरी सम्मान गर्नुको
सट्टा उल्टै बलिको बोको
बनाइएको छ यहाँ।
केबल देखिएको छ सतहमा
घुसकाण्डमा मुछिएको सुब्बाको नाम
तर कति बोझ बोकिरहेछन् इमान्दार सुब्बाहरू
स्थानीय तह र इलाका कार्यालयमा
वरिष्ठ हाकिमहरू नपुगे पनि
दुर्गम र जोखिम ठाउँमा समेत
पारेको छैन नेतृत्व विहीन
निमित्त चलाइरहेकै छ त ऊ
जसरी तसरी नि
कोही खराब आचरणका पात्र बाहेक
ऊ एक कर्तव्यनिष्ठ नायब सुब्बा हो।
खै दुर्भाग्य भनौं कि कुशासनको राज !
केही भ्रष्ट र नैतिकहीन प्रवृत्ति हावी भई
त्यस्तै पात्रबाट अभ्यास गरिएका
गलत व्यवस्था र संस्कारले थिचिई
सही मूल्याङ्कन हुन नसक्दा
इमान्दार र कर्तपव्यनिष्ठ राष्ट्रसेवकको
मनोबल त गिरेकै छ नि ।
कति चाहेर
कति दबाव टार्ने विकल्प नपाएर
खराब हाकिमको अभिष्ट पूरा गर्ने
गोटी बनेका होलान्
उसका मतियार रंगे हात पर्दा नि
छुटेर पानी माथिको ओभानो बन्दा
माथिसम्मको पहुँच नपुग्दा
सबैको भागमा पर्छ एक्लै ऊ
नियम मिचेर काम गर्न नमान्दा
कतिको दुश्मनीको तारो नि बन्छ ऊ
प्रायः जताततैबाट प्रताडित भइरहेछ ऊ ।
अरू पदमा जस्तो आन्तरिक लडेर
माथि जान पनि पाउँदैन ऊ
सेवामा लामो योगदान र अनुभव भएर नि
सेवा बाहिरका उस्तै क्षमताका व्यक्ति
माथिल्लो पदमा प्रतिस्पर्धा गरिरहँदा
स्नातकोत्तर सकी क्षमतावान हुँदा हुँदै पनि
उपसचिव सहसचिवमा जाँच दिन पाउँदैन ऊ
बरू अन्य सेवालाई प्रशासनमा गाभिँदै
उसको पदोन्नतिलाई मृगतृष्णा बनाइरहँदा समेत
अन्याय सहन चुपचाप बाध्य हुन्छ ऊ
लाग्छ ऊ समवेदना रित्तिएको पात्र हो।