एउटा सैनिक कार्यक्रममा नेपालगञ्ज जान लागेका प्रधानमन्त्री चढेको सैनिक हेलिकप्टर नेपालगञ्ज पुग्नै लाग्दा अचानक दुर्घटनाग्रस्त भयो। त्यो दिन मौसम सामान्य थियो, पाइलट पनि अनुभवी थिए।
दुर्घटना भएको स्थानमा कुनै भौगोलिक विटकता पनि थिएन। बेतहनी पार गरेर पुरैना नपुग्दै एकाएक खालि खेतमा हेलिकप्टर खस्यो र पुच्छरतिरबाट जमिनमा भासियो।
दुर्घटनाको खबर थाहा पाउने वित्तिकै नेपालगञ्जबाट सैनिक उद्धार टोली अर्को हेलिकप्टर लिएर दुर्घटनास्थलमा पुगेर उद्धार गर्यो। प्रधानमन्त्री चढेको हेलिकप्टरमा उनी सहित त्यो दिन तीन जना मात्र सवार थिए।
तीन जना मध्ये प्रधानमन्त्रीका अंग रक्षकको छातीमा गम्भिर चोट लागेको थियो। प्रधानमन्त्री र पाइलटको टाउकोमा चोट लागेको थियो। उद्धार टोली पुग्दा तीनै जना मुर्छित अवस्थामा थिए। हेलिकप्टर पुच्छरतिरबाट जमिनमा भासिएको कारणले विस्फोट भने हुन पाएको थिएन।
तीनै जनालाई सैनिक हेलिकप्टरबाट तुरुन्तै नेपालगञ्ज लगियो। तर अस्पताल पुर्याउन नपाउँदै हेलिकप्टरमै प्रधानमन्त्रीको अंग रक्षकको निधन भयो। प्रधानमन्त्री र पाइलटलाई नेपालगञ्जमा प्रारम्भिक उपचार गरेर तुरुन्तै काठमाडौँ लगियो र छाउनी स्थित सैनिक अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार सुरु गरियो।
दुवैको अवस्था निकै नाजुक थियो। कुनै चमत्कार नभए दुवैले ज्यान गुमाउने अवस्था देखिन्थ्यो।
प्रधानमन्त्रीको हेलिकप्टर दुर्घटनाले समाचारहरूको बाढी आयो। दुर्घटना किन भयो, कसरी भयो, कस्ले गरायो, कसैलाई थाहा हुने कुरा भएन।
दुर्घटनाको बारेमा थाहा पाउने एकजनाको निधन भैसकेको थियो भने बाँकी दुई जना सघन उपचार कक्षमा अचेत अवस्थामा जीवन मरणको दोसाँधमा श्वास फेर्दै थिए। त्यसैले सबैले आ-आफ्नो बुझाइ अनुसार फरक फरक तर्क गर्न थाले।
रेडियोहरू, टिभी च्यानलहरू, छापाका पत्रिकाहरू, अनलाइन पत्रिकाहरू, युट्युबका समाचार च्यानलहरू सबैले आ-आफ्ना विश्लेषण पेश गरे। राजनैतिक विश्लेषकहरूले पनि विभिन्न च्यानलहरूको माध्यमबाट आफ्नो धारणा व्यक्त गरे।
अधिकांशको एउटै शंका थियो- प्रधानमन्त्रीको दुर्घटना नेपालको हित नचाहने तत्वहरूले गराएको योजनावद्ध दुर्घटना थियो। नेपाललाई अस्थिरताको भूमरीमा पार्न चाहने विदेशी तत्व र तिनको इसारामा चलेका मुकुन्डोधारी केही राष्ट्रघातीहरूले नै यो योजना गरेका थिए।
त्यो बेला प्रधानमन्त्री निकै लोकप्रिय थिए। उनी प्रधानमन्त्री भएपछि नेपाल राजनैतिक स्थिरतातर्फ लम्कदै गएको थियो, विकासले गति लिन लागेको थियो अनि देशमा शान्ति र सुव्यवस्था स्थापना हुन थालेको थियो।
त्यसैको कारणले अत्तालिएको विदेशी शक्तिले त्यो दुर्घटना गराएर प्रधानमन्त्रीको हत्या गरेर आफूले चाहेको मान्छेलाई प्रधानमन्त्री बनाउन यो सबै खेल खेलेको हो भन्ने सबैको ठहर भयो। त्यसैलाई सबैलाई बढाइचढाई गरेर प्रस्तुत गरे।
प्रधानमन्त्रीले केही महिनादेखि भारत र अमेरिका सहित नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने कुनै पनि विदेशीलाई नछोडिने अभिव्यक्ति दिँदै आएका थिए।
भारतको सन्दर्भमा त प्रधानमन्त्रीले सार्वजनिक समारोहमा नै भारतलाई चेतावनी दिएका थिए। उनको त्यो अभिव्यक्तिपछि भारत निकै क्रुद्ध भएको छ भन्ने सबैको बुझाइ थियो। त्यति मात्र हैन दुर्घटना हुनुभन्दा दुई हप्ता अगाडि मात्र उनले आफूलाई सुरक्षाको खतरा पनि भएको बताएका थिए।
ती केही ‘प्रमाण’हरू नै प्रधानमन्त्रीको दुर्घटना सुनियोजित थियो भन्ने शंका गर्नको लागि काफी थिए। त्यसमा पूरक प्रमाणको रुपमा एक महिना अगाडि मात्र एक वर्ष महिना भारतमा सैन्य तालिम सकेर फर्केका सैनिक पाइलटलाई प्रधानमन्त्रीको हेलिकप्टर उडाउन लगाएको तथ्य पेश गरियो।
निसन्देहः ती पाइलटलाई त्यही कामको लागि नै सैन्य तालिमको लागि भारत पठाएको भन्ने धेरैले ठोकुवा गरे।
शंका माथि उपशंकाहरू थपिँदै जान थाले। सबै तर्कहरूको विश्लेषण गर्दा त्यो दुर्घटना सुनियोजित नै भएको पुष्टि हुँदै जान थाल्यो।
त्यो दिन नै प्रधानमन्त्रीलाई पहिले उनी चढ्ने गरेको हेलिकप्टरमा नलगेर सैन्य हेलिकप्टरमा लगिनु, अघिपछि कम्तिमा पनि पाँच छ जनाको टोली लिएर हिँड्ने उनीसँग त्यो दिन तीन जना मात्र पठाइनु, पहिले कहिले पनि प्रधानमन्त्री चढ्ने हेलिकप्टर नउडाएका सैन्य पाइलटलाई उडान गर्न दिइनुले शंकालाई झन् बढावा दिए।
त्यति धेरै कुराहरू सबै एकै पटक संयोग हुनै सक्दैनथ्यो। त्यसैले त्यो दिनका सबै योजनाहरू प्रधानमन्त्रीको ज्यान लिने गरी नै बनाइएको थियो भन्नेमा विश्वास नगर्ने मान्छे कमै भए।
प्रधानमन्त्रीले गुप्तचरबाट आफ्नो ज्यान खतरामा रहेको खबर प्राप्त गरेकै हुनाले उनले आफूलाई सुरक्षा खतरा भएको बताएको भन्ने कुराले पनि त्यो तर्कमा टेवा दियो। त्यही आधारमा सबै संचार माध्यमहरूमा धमाधम समाचारहरू आए।
-भारतको आदेशमा प्रधान्मन्त्री चढेको हेलिकप्टर दुर्घटना गराइयो, त्यसमा अमेरिकाको पनि समर्थन।
-दुर्घटना गराउने पाइलट त्यही कामको लागि भारतमा तालिम गर्न गएको पुष्टी, सैनिक अधिकारीहरूको मिलेमतो हुन सक्ने सम्भावना।
-आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अस्पताल श्रोत अनुसार अस्पताल भित्र नै प्रधानमन्त्रीलाई खतरा, चिकित्सकहरूलाई समेत भारतले मोटो रकममा किनेको शंका।
-गोप्य श्रोतले जनाए अनुसार प्रधानमन्त्रीको मृत्यु भैसकेको तर केही दिन भेन्टिलेटरमा राखेर उपचारको नाटक मात्र गरिँदै।
-प्रधानमन्त्रीलाई सिध्याउने खेलमा विपक्षी दलका केही नेताहरूसँग अर्बौंको चलखेल भएको प्रमाण फेला।
-प्रधानमन्त्री भारतको बाटोमा तगारो बन्दै गरेको हुनाले नियोजित रुपमा दुर्घटना गराएर आफ्नो विश्वास पात्रलाई प्रधानमन्त्री बनाउने तयारी।
यस्तै यस्तै समाचारले नेपालभरिका संचार माध्यमहरू भरिए।
एकातिर यस्ता समाचारहरूले संचार माध्यम ढाके भने तिनै समाचारहरूलाई आधार बनाएर स्वतस्फूर्त रुपमा सडकमा जनताहरूले जुलुस निकाले। भारत र अमेरिकाको झण्डा जलाइयो। भारतीय प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिको पुत्ला जलाइयो।
भारतीय जस्ता देखिने जोसुकैलाई पनि आक्रमण गर्न थालियो, उनीहरूमाथि दुर्व्यवहार भयो। त्यो दुर्व्यवहारमा काठमाडौँका गल्लीहरूमा तरकारी र फलफूल बेचेर आफ्नो र परिवारको गुजारा गर्ने सर्लाही, सिराहा, बारा, महोत्तरी जस्ता जिल्लाका गरिब नेपालीहरू पनि परे। उनीहरूको साइकल भाँचियो, तरकारी र फलफूल सडकमा फालियो।
त्यतिले नपुगेर भारतीय दूतावास अगाडि प्रदर्शन गरियो। मुर्दावादका नाराहरूले सडक गुन्जियो। भिडले भारतीय दूतावास माथि नै हमला गर्न खोज्यो। भारतीय र गोरा जस्ता देखिने पर्यटकहरू चढेको गाडीमा तोड फोड गरियो। सडकमा टायर बालियो, रेलिङ भाँचियो।
सरकारले दुर्घटनाको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन आयोग बनायो। तर त्यसले आन्दोलन रोकिएन। देशभर स्वतस्फूर्तरुपमा आन्दोलन झन् झन् चर्किंदै गयो। दिन प्रतिदिन भिड उत्तेजित हुन थाल्यो। प्रहरीले भिड नियन्त्रण गर्न अश्रु ग्याँस, पानीको फोहरा, हवाइ फायर पनि गर्नु पर्यो।
उता कोमामा रहेका प्रधानमन्त्री र पाइलट दुवैको स्वास्थ्य अवस्था गम्भिर र जटिल हुँदै गैरहेको थियो। टाउकोमा गम्भिर चोट लागेकोले मस्तिष्कको निकै जटिल शल्यक्रिया गर्नुपर्ने नेपाली चिकित्सकहरूले आवश्यकता देखे।
त्यसको लागि निकै अनुभवी चिकित्सकहरू चाहिने भयो। नेपालमा मात्र उपलब्ध विशेषज्ञ चिकित्सकको जनशक्तिले नपुग्ने भयो। अन्य देशबाट बोलाउनु भन्दा भारतबाट चिकित्सकहरू बोलाउँदा छिटो र सजिलो पनि हुने भनेर शल्यक्रियाको लागि भारतबाट दुई जना विशेषज्ञ चिकित्सकहरू बोलाइयो।
तर भारतीय चिकित्सक झिकाउनुमा जनताले झन् ठूलो षडयन्त्र गन्ध देखे। संचार माध्यमहरूले त्यो षडयन्त्रलाई जनतासामु ल्याउन तछाडमछाड गर्दै पुनः आफ्ना विचारहरू राखेः
-प्रधानमन्त्रीको हत्याको लागि चिकित्सकको रुपमा भारतीय गुप्तचर संस्थाले आफ्नो प्रतिनिधि पठायो।
-दुर्घटनामा हत्या गर्ने योजना विफल भएपछि उपचारको नाममा प्रधानमन्त्रीलाई मार्ने गोप्य योजनाको पर्दाफास।
-नेपालको सैनिक अस्पताल भित्रै चिकित्सकको भेषमा भारतीय गुप्तचरहरू छिरे।
नेपाल र भारतका विशेषज्ञहरूले प्रधानमन्त्री र पाइलटको शल्यक्रिया सुरु गरे। पक्कै पनि अब उपचारको नाममा प्रधानमन्त्रीलाई अस्पताल भित्र नै मारिनेछ भन्ने पक्का भएपछि आफ्नो प्यारो प्रधानमन्त्रीलाई अकालमा मार्नबाट रोक्न जनताहरूको भिड अस्पताल भित्र नै पसेर तोडफोड गर्न थाल्यो।
प्रहरीले रोक्न खोज्यो तर भिड नियन्त्रण भएन। भिडले अस्पतालको पर्खाल नै फोडेर अस्पताल प्रवेश गर्न थाल्यो। ढुंगामुढा हुन थाल्यो। चर्का नाराहरू लाग्न थाले। प्रदर्शनकारीहरू प्रहरीहरू माथि नै जाइलाग्न थाले।
हवाई फायरले समेतले काम नगरेपछि प्रहरी गोली चलाउन बाध्य भयो। गोली लागेर दुई जना प्रदर्शनकारीको निधन भयो।
बाहिर प्रदर्शन भैरहँदा अस्पताल भित्र छ घन्टा लगाएर विशेषज्ञहरूले प्रधानमनत्री र पाइलटको शल्यक्रिया सम्पन्न गरे। शल्यक्रिया सफल भए पनि प्रधानमन्त्री र पाइलट दुवैको स्थिति नाजुक भएकोले दुवै अँझै पनि खतराभन्दा बाहिर नरहेको विज्ञप्ति अस्पतालले त्यही दिन साँझ निकाल्यो।
शल्यक्रियापछि एक दिन बित्यो, प्रधानमन्त्री कोमा मै थिए। जन आक्रोश शान्त भएको थिएन। अर्को दिन दिउँसोतिर पाइलट होसमा आए तर उनी बोल्न सक्दैनथे।
उनको दिमागमा जमेको रगत पुरै नहटिसकेकोले उनको बोलीमा समस्या आएको चिकित्सकहरूले बताए तर जानी जानी उनको मष्तिस्कमा जमेको रगत पुरै नहटाएर उनको बोली बन्द राख्न यो सबै खेल चालिएको कुरा संचार माध्यमहरूले प्रसारण गरे।
अर्कोदिन बिहान मात्र प्रधानमान्त्री होसमा आए। उनले आँखा खोले। उनी बोल्न खोजेका थिए तर उनको उपचारमा संलग्न चिकित्सकहरूले उनलाई बोल्न दिएनन्। उनको परिवारका सदस्य बाहेक अरु कसैलाई पनि उनीसँग भेटघाट गर्न दिइएन। चिकित्सकहरूले आफ्नो पोल खुल्ने डरले प्रधानमन्त्रीलाई बोल्न नदिएको कुरा समाचारमा आयो।
प्रधानमन्त्री र पाइलट दुवैको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गयो। तर पाइलटलाई बोल्न नसक्ने बनाइएको र प्रधानमन्त्रीलाई पनि बोल्न नदिएकोले षडयन्त्रको पोको खुलेको थिएन। उता सरकारद्वारा गठित अनुसन्धान टोलीले रात दिन एक गरेर दुर्घटनाको कारण खोजी गर्दै थियो।
प्रधानमन्त्रीको होस खुलेको चार दिनपछि मात्र बल्ल चिकित्सकहरूले उनलाई विस्तारै बोल्न अनुमति दिए। उता त्यो अवधिमा पाइलटको पनि विस्तारै बोली खुल्यो।
दुवै बोल्न सक्ने समाचार बाहिर आएपछि ‘भित्र सबै कुरा मिलाइसकेको हुनाले प्रधानमन्त्री र पाइलटलाई बोल्न सक्ने बनाइएको’ समाचार संचार माध्यमहरूमा आयो। जनताले पनि विश्वास गरे।
आफूलाई बोल्न अनुमति दिएकै दिन प्रधानमन्त्रीले जनताको जिज्ञासा शान्त पार्न प्रत्यक्ष प्रसारणको माध्यमबाट अस्पतालको शैय्याबाटै जनताको नाममा पाँच मिनेटको छोटो सम्बोधन गरे।
उनले आफ्नो ज्यान जोगाउनको लागि ज्यान आहुति गर्ने आफ्नो अंग रक्षकको निधनमा समवेदना प्रकट गरे। हेलिकप्टरलाई पुरै ध्वस्त हुन नदिएर पुच्छरतिरबाट अवरतरण गराएर सकेसम्म कम क्षति गराउन सफल पाइलटको पनि प्रसंशा गरे।
प्रधानमन्त्रीको अंग रक्षक र पाइलट दुवैलाई सम्मान गर्न देशको सर्वोच्च बहादुरी पदक प्रदान गरिने भयो। पाइलटको बढुवा पनि हुने भयो। पाइलटले पनि दुर्घटनाको बारेमा मुख खोले।
अकस्मात इन्जिनमा आएको खराबीले गर्दा हेलिकप्टर असन्तुलन हुँदा दुर्घटना भएको उनले बताए। सरकारी छानबिन आयोगको सार्वजनिक गरेको प्रतिवेदनले पनि दुर्घटनाको कारण पाइलटले भनेजस्तै इन्जिनको समस्या नै भएको देखायो।
त्यति भएपछि दुर्घटना हुनुमा केही षडयन्त्र भएको रहेनछ भनेर सबै ढुक्क भए। सबैतिर प्रधानमन्त्रीको ज्यान जोगाउने पाइलटको जयजयकार भयो।
तर सडकका रेलिङ भाँचेकोमा, पर्यटकका बस तोडफोड गरेकोमा, गरिबहरूको साइकल भाँचेकोमा, उनीहरूको तरकारी र फलफूल नष्ट गरेकोमा कसैलाई पनि केही कारबाही भएन।
मिथ्या र कपोकल्पित समाचार प्रसारण गर्ने संचार माध्यमहरूले पनि माफी माग्ने आवश्यकता ठानेनन्। तोडफोडको क्रममा निधन भएका दुई जनाको त झन् नाम समेत कसैलाई थाहा भएन।
उनीहरूको परिवारले अब के गर्छ, अब कसरी उनीहरूको जीवन गुजारा होला कसैलाई मतलब पनि भएन। केही दिनमै फेरि सबै सामान्य बन्यो मानौं कि केही पनि भएको थिएन।