‘रेडियाँ बोल्ने बाबु हैन त?’ नजिकै आएर एक अपरिचित वृद्धले सोधे।
‘हजुर हो’ उनीतिर हेर्दै मैले जवाफ फर्काएँ।
‘बाबुको रेडियो सुन्ने गर्या छौँ नि हाम्ले। सम्चार भन्नी हैन त रेडियाँ?’ उनी खाँटी श्रोता रैछन्।
‘हो’ मैले फिस्स हाँस्दै भनें।
अघि ती वृद्ध सडकपारि उभिएर मतिर हेर्दै थिए। मलाई देखेर उनी खाली सडक दायाँबायाँ हेर्दै केटाकेटी कुदेझैं हुर्रिएर वारि आइपुगेका थिए। उनले एकछिन अलि गहिरिएर मेरो अनुहारतिर हेरे।
‘पत्रकार भन्छन् हैन त बाबु? रेडियाँ बोल्ने भएसी कमाइ पनि राम्रै होला नि? सारा जगतले सुन्नी मान्छे पो।’
बुढाका कुराले अब म जिल्ल परें। उनी नजानिँदो गरी नितान्त निजी कुरो खोतल्न तम्सिए। उनी को हुन्? मैले पटक्कै भेउ पाइनँ। कतै देखेजस्तो र चिनेजस्तो पनि लागेन।
के भन्नू, के नभन्नू अलमलमा परें। बुढाले मेरो कमाइप्रति चासो किन राख्या हुन्, मेरो दिमागमा केही घुसेन। तलब कति छ भनेर मैले घरमा त ठ्याक्कै खुलाएको छैन। यी बुढालाई म के भनूँ?
‘राम्रै तलबको जागिर पाको छु। डेरा भाडा, पढाइ र खाना खर्च पुग्छ’ घरमा बा-आमालाई त यति मात्रै भन्दै आएको छु। घरमा दुई/चार हजार रुपैयाँ माग्दा दिन सक्या छुइनँ।
बेलाबेला घर जाँदा कि फलफूल, कि गुद्पाक कि जेरीस्वारी लगेर झारा टार्ने गर्या छु। यस बाहेक बा-आमालाई आफ्नो कमाइ खुवाउन सक्या छैन आजसम्म।
मलाई ठाउँ कुठाउँ पत्रकार हुँ भनेर परिचय खुलाउँदै हिंड्न मन लाग्दैन। अनावश्यक ठाउँमा आफूलाई चिनाउन र अरुले चिनुन् भन्ने ठान्न पटक्कै मन मान्दैन। यस्तो अवस्थामा बडो असजिलो लाग्छ।
यसको कारण मैले बुझेको छैन। पेशागत परिचयको निश्चित ठाउँ र समय हुन्छ भन्ने लागेर होला। आफ्नो पेशागत धर्म निर्वाह गर्न ठाउँअनुसार अघि सरिन्छ नै।
तैपनि अरुले चिनेर सोध्दा होइन भन्न त मिलेन। आफ्नो स्वभाव यस्तो छ भन्दैमा अरुको नजरमा ठूलो पल्टेको, भाउ खोजेको वा अरुलाई नगनेको भन्ने आक्षेप लाग्न दिनु पनि भएन।
त्यसैले पत्रकार भन्ने परिचय कहिले बाटोमै दिनुपर्छ। कहिले सार्वजनिक बसमा। कहिले अरुको घरायसी जमघटमा। सार्वजनिक सभा, समारोह, भेलाजस्ता औपचारिक कार्यक्रममा पेशागत परिचय खुलाउँछु। जहाँ सवाल जवाफ चल्छ। धेरै विधा र क्षेत्रका व्यक्तिसँग सम्पर्क बढाउने मौका मिल्छ। अनि कहिलेकाहीं सूचनाका राम्रा स्रोत र क्लु फेला पर्छ।
तर व्यक्तिगत जीवनका कुरा बेला न कुबेला सोध्नु र ठाउँ-कुठाउँ पेशालाई जोड्नु त उचित हुँदैन नि। जस्तोः सैलुनमा कपाल काट्दा। डेरीमा दूध किन्दा। माइक्रोबस चढ्दा। रेष्टुरेन्टमा मःमः खाँदा। सार्वजनिक ट्वाइलेट प्रयोग गर्दा। अस्पतालमा लाइन बस्दा। अनि मन्दिरमा प्रसाद थाप्दा पत्रकार हुँ भन्दै कसरी हिँड्नू!
म यसो गर्दिनँ। कार्यक्षेत्रभन्दा बाहिर पेशागत परिचयलाई साइलेन्समा राख्न खोज्छु। भन्छन् नि ‘लो प्रोफाइल।’ तर प्रायः अरुले यस्तो हुन दिँदैनन्।
एकपल्ट दुई पाउ कुखुराको मासु किन्दै थिएँ। एक परिचित मर्निङवाकबाट फर्किदै रैछन्। उनी झम्टिए झैं गरी मेरो सामु आए। हत्तपत्त मासु पसलेलाई ‘कान्तिपुरको पत्रकार ज्यू’ भन्दै मेरो परिचय गराइदिएर गए।
म अवाक् बनें। अप्ठ्यारो मान्दै मासु लिएर हिंडेँ। अर्कोपल्टदेखि त्यहाँ जान बन्द। के यो पत्रकार हुँ भनेर चिनिनु पर्ने ठाउँ हो? झ्याउ लाग्दो।
बिदाको दिन आक्कल झुक्कल केही साथीसँग तास खेल्न बसिन्छ। म्यारिजमा माल गन्दै गर्दा ‘म कान्तिपुरको फलानो’ भन्नुपर्ने बाध्यता कस्तो होला? यस्तो पनि भएको छ कैँयनपल्ट साथीकै कारणले। म त्यहाँ पत्रकार हुँदै होइन नि।
‘सधैं साढे ६ बजे समाचार पढ्ने यही हो’ साथीले टुप्लुक्क आइपुगेका उसका छिमेकीको अघि यसरी चिनायो। म वाल्ल परें।
‘पत्रकार ज्यू त यता म्यारिजमा जम्नु भएछ। कसले भन्छ आज सम्चार?’ ती छिमेकीले नजिकै आएर हात मिलाउँदै व्यङ्ग्य हाने। म रातोपिरो भएँ। साथीतिर हेरेर आँखा तर्दै मुर्मिरिएँ।
अर्को साथीसँग क्याफेमा चिया पिउँदै थिएँ। ऊ एक निजी बैंकको म्यानेजर। उसकै बैंकका एक ऋणी संयोगले त्यहीं आइपुगेँ। साथी परिचय गराउन हतारियो। मेरो नामै नभनी उसले काम गर्ने मिडिया र समाचारवाचक भनेर चिनाइदियो।
‘कान्तिपुरमा समाचार भन्ने पत्रकार उही हो। केही छ भने भन्नुस् ल।’ साथीले अचानक फ्लोर ओपनै गरिदियो। म अप्ठ्यारो मानेर आफ्नो नाम भन्न खोज्दैथें। तिनी धारा प्रवाह सोध्न थाले।
‘मौसम कहिलेसम्म यस्तो धुम्म हुन्छ? अबको राजनीति कता जाला? चुनावमा कुनै दलको बहुमत आउला जस्तो लाग्छ यहाँलाई? चुनावपछि स्थिर सरकार बन्ला कि अहिलेजस्तै खिचडी होला? माओवादी मूलधारमा आउन सक्ला त? देशको अर्थतन्त्र कहिले सुध्रेला खै? राजनीतिमा विदेशीको चर्को हस्तक्षेप छ भन्छन्। तपाईंलाई त पक्कै थाहा होला।’
मैले मुसुमुसु हाँस्दै उनका प्रश्न उनीतिरै फर्काएर सोधें। उनले तारन्तार तिनै प्रश्न सोध्न छोडेनन्। म हैरान भएँ। न मेरो व्यक्तिगत परिचय दिन पाएँ। न एकछिन फुर्सद मानेर चिया पिउन सकेँ।
कुनै काम सम्झेको बहाना बनाएर आधाकप चिया छोडेर म त्यहाँबाट उठेँ। अरु त अरु यस्तै हैरानी घटबेटी अंकलले प्रायः सधैं गराउँथे। म उनलाई छलेर सकभर उम्कन खोज्थें।
डेरा छेउको तरकारी पसले यस्तै गर्थ्यो। म आफ्नो हतारो सुनाउँथें, ऊ ‘एकछिन पख्नुस् न’ भन्दै मागेको तरकारी नदिई उभ्याउँथ्यो। अझ पत्रिका पसले आजको पत्रिका पढ्न नभ्याउँदै भोलिका समाचार जान्न उत्सुक भएर मेरो उपस्थिति कुरेर बस्थ्यो।
एकपल्ट डेरा खोज्न जाँदा सम्भावित घरबेटीले ‘के गर्नु हुन्छ’ भनेर सोधे। मैले ‘म विद्यार्थी हुँ। सानोतिनो जागिर पनि छ’ भनें।
सँगै गएको साथीले ‘कान्तिपुरको पत्रकार हो, रेडियोमा बोल्छ। सुन्नु भएकै होला’ भनेर खुलाइदियो। ती घरधनीले ‘पत्रकार आधा रातमा आउँछन्। ढोका खोल्ने र लाउने गरेर डिस्टर्ब हुन्छ’ भन्दै डेरा दिएनन्। उनी पहिल्यै एउटा पत्रकारबाट यस्तो हैरानी पाएर चेतेका रहेछन्।
म आफ्नो पेशा जहाँ पायो त्यहाँ खुलाउन चाहन्न। तर भइदिँदैन त्यस्तो। ठाउँ र आवश्यकता हेरी कहाँ, कसलाई, कतिबेला पेशाबारे खुलाउने वा नखुलाउने भन्ने हामीकहाँ कुनै ज्ञानै छैन। मेरो मतलब आफ्नो पेशा ढाँटेर अर्थोक भन्नुपर्छ भन्ने पनि होइन।
यी वृद्ध मेरो जवाफ सुनेपछि झन् नजिकै सरे। म काठमाडौ फर्कन राजमार्ग छेउमा बस कुरेर उभिएको थिएँ। मेरा आँखा अलिपरबाट आउँदै गरेको बसतर्फ सोझिएका थिए।
मेरो छेवैमा उभिएका ती वृद्ध बस कुर्ने समय गफ गरेर काट्न खोज्दैछन् भन्ने सोचें। उमेरमा ७० वर्ष हाराहारीका उनी खरानी रंगको दौरा सुरुवालमा ठाँटिएका देखिन्थे।
‘बाबु अधिकारी थरी हैन त?’ वृद्धले अरुले सुन्लान् झैँ गरेर घाँटी मतिर तन्काउँदै विस्तारै सोधे।
‘हजुर हो। मैले त यहाँलाई चिनिनँ नि’ मैले सामान्य औपचारिकतामा जिज्ञासा राखें।
उनको हातमा कालो रंगको लामो छाता थियो। बन्द छातालाई लौरो झैं टेकेका थिए। त्यो छाता एकपटक हातमा फनक्क घुमाए।
‘एकछिन यता बसौं न’ उनले नजिकै खाली रहेको काठको बेन्ची देखाएर बस्न आग्रह गरे। बिहानभर दूध डेरीमा दूध लिएर आउने किसानको चहलपहल हुने त्यो ठाउँ मध्यदिनमा शान्त थियो।
डेरीको दूध पोखिएको ठाउँमा झिंगा भन्किरहेका थिए। दूध पेल्ने मेसिनको गन्ध हरक्क नाकमै ठाकियो। केही रित्ता क्यान अझै त्यहीं थिए। घामले तातेर क्यानभित्रबाट बिग्रेको दूधको गन्ध परैसम्म ह्वास्स आउँथ्यो।
उनी बेन्चको एक छेउमा बसे। म ढाडमा भिरेको ब्याग अगाडि तानेर अर्को छेउमा टुसुक्क बसेँ। बेन्चमा बस्नेबित्तिकै हुइँकिएर आइपुगेको बस नरोकी उस्तै गतिमा काठमाडौतर्फ गयो।
काठमाडौँ-जिरी लेखेको बस हाम्रोतिर कहिल्यै रोक्दैन। कारण म बुझ्दिनँ। हामीले चढ्ने भनेको बाह्रबिसे, तातोपानी वा मेलम्ची चल्ने बस मात्र हुन्।
मध्यान्हको घाम चरक्क चर्केर तालु पोलेको थियो। अर्को बस कतिबेला आउने टुंगो थिएन। बिहान-बेलुकाभन्दा मध्यान्हमा बस निकै कम चल्छन्। बेलाबेला रातो माटो बोकेका ट्रक हुइँ..हुइँ.. गर्दै आए, गए।
कहिले ढुंगा बोकेका ट्रक उस्तै गरी कन्दै आए र गए। ती ट्रकले फालेको बाक्लो कालो धुवाँको मुस्लो हामी बसेको ठाउँसम्मै आइपुग्यो। मैले मुख र नाक छोपें। आँखा धमिलो देखेझैं गरेर वृद्धले मतिर हेरे।
‘बिहेबारीको कुरो के छ बाबुको? मैले कुरो राख्या थेँ घरमा। केही भन्नुभो बाले?’ उनले कुराको चुरो फुकाए। उनको मुहारमा गोप्य कुरो खोतले झैं भाव दौडिए। बिहेको कुरो सुनेर मेरो तन्नेरी मन झनन्न भो। ज्यानमा बेग्लै तरंग सवार भो।
‘अहिले सोच्या छैन बा’ मैले बनावटी जवाफ दिएँ। कहिल्यै नचिनेका मान्छेले बाटोघाटोमा यस्तो कुरा गरेको खासै मन परेन। बिहे शब्दले मनमा एक किसिमको बेग्लै छाल छचल्कियो त्यो अर्कै कुरा हो।
उनको कुराले मलाई कता कता अप्ठ्यारो लाग्यो। उनी झन् सजिलो मानेर अघि बढे।
‘अब सोच्ने बेला भएन र? तलब राम्रै छ भन्ने सुन्या छु। केको फिक्री? उमेरमा गरेको बिहे पो बिहे त’ उनी हौसिएर भन्न थाले।
‘अहिले पढ्दैछु। काम त भर्खर थाल्या हो नि बा’ यही जवाफ मैले घरमा बाआमालाई वर्षौंदेखि दिएर टार्दै आएको छु। मामाघर र बुढोमावलीतिरलाई पनि यस्तै जवाफले आफूप्रतिको केरकार छेक्दै आएको छु। काका-काकी र ठूलाबा-ठूलीआमादेखि घरछिमेकीलाई पनि यही जवाफले मुख टाल्ने गरेको छु।
‘कति बेला भको छैन भन्छ यो मोरो?’ सबैजना मलाई एउटै साझा गाली गरेर हप्काउँछन्। म फिस्स हाँसेर टाउको कन्याउँदै अर्कैतिर फर्केर हिंड्छु। सबैलाई थाहा छ यो मेरो टार्ने जवाफ मात्रै हो।
बिहे गर्ने मन छ भन्न नसकेर यस्तो नाटक गरेको ठान्छन् उनीहरु। तैपनि मैले यसरी टार्न थालेको पाँच सात वर्षै भइसक्यो। जुन तलबले आफ्नै पढाइ र खाने-बस्ने खर्च पुर्याउन धौँ धौँ छ मलाई, मान्छेहरु त्यही हेरेर छोरी दिन मरिहत्ते गरेका छन्। म दिक्क हुन्छु।
सोच्छु, ‘पहिले पढाइ पूरा होस्। तलब अलि बढोस्। अलिकति बचत हुन थालोस्। बल्ल गर्ने हो बिहे।’
मैले सोचेकै कुरा अरुले कहाँ सोचेका हुन्छन् र। भनौं, पत्याउँदैनन्। नभनौं झनै बुझ्दैनन्।
‘अब त बुढो भइसकिस् गोरु। कसले दिन्छ बुढो भएपछि छोरी?’ आमा झपार्नु हुन्छ। घाँस काट्न डोको बोकेर बारीतिर ओर्लनु हुन्छ।
‘भनेको टेर्दैन गधाले। के गर्न खोज्या हो?’ बा फन्केर बजारतिर हिँड्नु हुन्छ।
‘सिङ पलाउँदैन, पुच्छर आउँदैन। के कुर्छस्?’ मेरो कपाल भुत्लाउँदै काकी झम्टिन्छिन् उसैगरी। मेवाको बोट मुन्तिर घामको छेकामा उभिएको म काकीको आक्रमणमा पर्छु।
‘यसले केटी भगाएर ल्याउँछ। यसको निकोचाला छैन। सके कोठामा ल्यार राख्या होला। कसले जान्या छ र’ आँगनमा भैंसीको पाडो पखाल्दै गरेकी ठूलीआमा बात लाउँछिन्।
‘अब केलाई कुर्छस् तँ? तेरो उमेरमा चार-चार छर्छरी भइसक्याथे हाम्रा’ छिमेकी हजुरबा लठ्ठी टेक्दै आइपुग्छन् आगोमा घ्यू थप्न।
हरेकपल्ट घर आउँदा सबैका यस्तै करकर सुनेर हैरान हुन्छु। सोच्छु, ‘घर आउने वातावरण पनि छैन मलाई।’
हप्ताको एकदिन बिदामा घर आउँदा बाँकी छ दिनको करकर एकैखेपमा पाउँछु म।
‘अहिले बिहे गर्दिनँ, बेला भएपछि भनौंला’ हिंड्ने बेला बाआमालाई यति भनेर फुत्त निस्केको हुन्छु।
अर्कोपल्ट फेरि उही कुरा। आमा उही पारामा कराउन थाल्नु हुन्छ। ‘मैले बिहे नगरेको। बिहेको प्रस्ताव ल्याउनेको कुरै नसुनेको। केटी हेर्न जानै नमानेको। आफूले मन पराएको केटी छ भने खुरुक्क नभनेको। बुढो हुन लाग्दा पनि एक्लै देखेर बाआमालाई दिक्दार लागेको’ आमाले यस्तै कुरामा फत्फताउँदै पुरै बिहान बिताउनु भो।
‘अब तैंले बिहे गर्दिनँ भनेर हुँदैन, तीस लागिस् तँ थाहा पाइराख्।’ आमाले हैरानी मानेर थप्नुभो, ‘तेरो उमेरका कोही छैनन् बाँकी बिहे गर्न गाउँमा।’
आमाको करकर धेरै भएपछि म बाहिर निस्कें। अघिल्लोपल्ट बस कुर्दा बाटोमा भेटिएका तिनै वृद्ध आँगनमा टुप्लुक्क देखा परे। म उनलाई देखे-देखेजस्तो लागेर झस्किएँ।
बोली सुनेर आमा बाहिर आउनु भो। दुवैजनाबीच नमस्कार आदानप्रदान भो। आमाले फलैंचामा बस्न चकटी राखिदिनुभो। गाउँ डुल्न गएका बालाई खोजेर ल्याउन मलाई अह्राउनुभो।
जान्न भन्न नसकेर म हिंड्नै लागेको थिएँ, बा फुत्त करेसाबाट निस्कनुभो। उहाँहरुको कुरो सुन्न घरभित्र पसें। काँधमा रुमाल र हातमा रित्तो बाल्टी झुण्ड्याएर पँधेरातिर ओर्लिएँ। बाले रोक्न खोज्नुभो। आमाले छिटै आइज भनेर अनुमति दिनुभो।
पोहोर पनि तारन्तार बिहेको कुरो आउँदा मैले अनेक बहाना बनाएर टारेको थिएँ। बुहारी भित्र्याउने बा-आमाको सपना पनि टरेको थियो।
मेरै लागि भनेर केटी पक्षले महिनौं कुरेका थिए रे। अन्ततः ऊ हाम्रै छिमेकी गाउँमा बुहारी बनेर भित्रिएकी थिई। आमा बेलाबेला त्यो केटी देख्दा झल्झली बुहारीजस्तो लाग्छ भनेर गन्गन् गर्न छोड्नु हुन्न।
‘पल्लो गाउँको बिनोजेले बिहे गर्यो त्यो केटी। अब लाज हुन्छ तँलाई उसको अगाडि परेर हिंड्न बुझिस्’ आमाले भान्छामा छँदा भन्नुभो। म आमाको अनुहार पुलुक्क हेरेर गाँस टिप्न थालें।
'यसलाई लाज न सरम्’ सँगै खाना खाइरहेका बा मतिर हेरेर मुर्मुरिनु भयो, ‘त्यो बिनोजे पनि पत्रकारै हो। काठमाण्डुमा घर बनायो। गाडी चढेर हिँडेको छ। हाम्रो घरमा दिन्छु भनेको केटी उसैले ब्या गरेर ल्यायो। तँ गर्छस् चैं के हँ? तँ इख र विष के हो थाहा पाउँदैनस्?'
गाविस एउटै भए पनि बिनोद र मेरो गाउँ अलि फरक हो। भलै हामी एउटै स्कुल पढेका। हावापानी र रहनसहन पनि एकै। स्कुल सकिएर कलेज पढ्न काठमाडौँ गएपछि धेरै वर्ष हाम्रो देखभेट भएन। म पत्रकारिता पढ्न आरआर कलेज भर्ना भएँ। ऊ कता गयो थाहा भएन।
वर्षौंपछि एकदिन रामशाहपथमा हाम्रो जम्काभेट भो। एकअर्कालाई चिन्न गाह्रो हुने कुरै भएन। केही कुरा भए। होचो कदको भए पनि ऊ सफारी सुटमा चट्टपरेर हिंडेको थियो। हातमा कालो रंगको चारकुने ब्याग झुन्ड्याएको थियो।
झट्ट हेर्दा सरकारी कार्यालय जान लागेको अधिकृत जस्तो। उसको चेहरामा भने त्यस्तो झलक थिएन। ख्याउटे अनुहार र झुस्स दारीले ऊ बिहानै थकित प्रतित हुन्थ्यो।
म रेडियोमा काम गर्छु भन्ने उसलाई थाहै रहेछ। उसैले भन्यो। ऊ कुनै छापाखानामा काम गर्दो रहेछ। सिंहदरबार र सर्वोच्च अदालतबीचको सडकपेटीमा उभिएर एकछिन सामान्य कुराकानी भो। त्यो दिन त्यति भो।
अलि महिनापछि पुतलीसडकमा फेरि उसैगरी भेट भयो। केही समयपछि बानेश्वरमा। अर्कोपल्ट सुन्धारामा। त्यसपछि जावलाखेलमा। हरेक भेटमा ऊ उही रुप, पोशाक र उही हाते ब्यागमा लखरलखर हिंडेको हुन्थ्यो।
जतिपल्ट भेटे पनि उसले आफ्नो कुरा खुलस्त कहिल्यै भनेन। सामान्य हालखबर सोधेपुछपछि ऊ जहिल्यै हिंड्न हतारिन्थ्यो। ऊ एउटा साप्ताहिक पत्रिकाको प्रकाशक र आफैं सम्पादक रहेछ।
यो कुरा उसले कहिल्यै भनेन। जुन मैले धेरैपछि जिल्लाको एक नेताबाट थाहा पाएँ। उसले झोलामा बोक्ने पत्रिकाको शक्ति सुनेर म तीनछक्क परेँ। कैयन् उद्योगी, व्यवसायी, ठेकेदार, नेता र सरकारी कर्मचारी उसको पत्रकारितासँग तर्सिंदा रहेछन्।
जिल्लाबासी नेताले भने, ‘बिनोद त ठूलै पत्रकार भइसके अहिले। सहरका उद्योगी, व्यापारी र बिचौलिया ऊ भनेपछि थर्कमान् हुँदा रैछन्।’
अरु केहीले पनि त्यस्तै बताए। ‘यसको पत्रिका देख्नै मुस्किल छ। जसको बारेमा लेखिएको हुन्छ उसैले मात्र देख्छ।’ उनीहरुले सुनाए। हुन पनि उसको पत्रिका बजारमा कहिल्यै देखिनँ।
झण्डै एक वर्षपछि एउटा अस्पतालको उद्घाटनमा बिनोद देखियो। प्रधानमन्त्री, मन्त्री, सचिवदेखि सम्बन्धित क्षेत्र र विधाका उच्च अधिकारीहरु उपस्थित थिए। म रिपोर्टिङमा त्यहीं गएको थिएँ।
उही बिनोद उही हाते ब्याग झुन्ड्याएर यताउता गर्दै थियो। उसको पोशाक यसपटक सफारी सुट नभएर निलो कोट, सुट र टाईमा बदलिएको पाएँ।
आसन ग्रहणका क्रममा थाहा भो, ऊ यो नयाँ अस्पतालको सञ्चालकमध्ये एक रहेछ। उसले त्यहाँ अस्पतालका बारेमा भाषण सुनायो। अर्कोपल्ट म नयाँ उपचार सेवाबारे रिपोर्टिङ गर्न त्यहीं गएँ।
उसँग बाहिरै देखादेख भो। अस्पतालको प्रवक्तालाई अघि सारेर ऊ मबाट पन्छियो। म छक्क परें। उसले मलाई नचिनेजस्तो व्यवहार गर्यो। म लज्जिल भएँ। ऊ गौरवान्वित देखियो।
त्यसपछि बिनोदसँग बाटोमा कहिल्यै जम्काभेट भएन। उसका कुरा भने कोही न कोहीले बेलाबेला सुनाउँथे। गाउँतिर पनि बिनोदको तरक्कीको खुबै चर्चा हुन थाल्यो। काठमाडौँ र बाहिरका केही अस्पतालमा उसको लगानी। नाम चलेका व्यवसायीसँग साझेदारी। विभिन्न ठेकेदारसँग सहकार्य। राजनीतिक दलका नेताहरुसँग हिमचिम। यस्तै यस्तै थुप्रै कुरा।
‘के यो उसको तरक्की हैन त?’ सबै यही सोध्थे। म ट्वाल्ल।
गाउँ ठाउँको कुरो बाले थाहा नपाउने कुरै भएन। अर्कोपल्ट घर जाँदा बाले उही बिनोदको कुरो निकालेर झपार्नु भयो। एउटै स्कुल पढेको। सँगसँगै काठमाडौँ गएको साथीको प्रगति सुनाएर मलाई हियाउनु भयो।
त्यसमाथि उसले बिहे गरेकी केटी मेरै बेवास्ताले फुत्केकी भनेर आमा मैमाथि खनिनु भयो। घरमा फेरि अर्को केटीको कुरो आइपुगेछ। सुनाउन थाल्नु भयो। म चुप लागें।
‘नर्स पढ्दै छे रे। काठमाडौँमै छे। भेट्नु मिलाएर। राम्रोसँग कुरो गर्नु। तेरो बारे सप्पै भनिसक्या छ।’ आमाले काठमाडौँ फर्कनुअघि सिकाउनु भयो।
मैले हुन्छ भनिनँ। हुँदैन पनि भनिनँ। अल्मले पाराको टाउको हल्लाएँ। आमालाई चित्त बुझेन। पहिलेझैं यसपल्ट पनि यसले बेवास्ता गरेर टारिदिन्छ भन्ने आमालाई लागिसक्या हुँदो हो।
मतिर घुरेर हेर्नु भयो। हुन पनि मैले यसअघि केटीपक्षका तीन, चार वटै प्रस्ताव यस्तै अल्मले मुन्टो हल्लाएरै टारेको थिएँ।
‘यसपाली नि यो कुरो उम्किए राम्रो हुँदैन है छोरा’ आमाले अलि झर्किँदै धम्की दिनु भयो, ‘राम्रै घरबाट कुरो आएको छ। केटी असल छे भन्या छन्। पढेकी छ। के चाहियो तँलाई योभन्दा?’