'खास कुरो के हो?'
पुलिसले मलाई केरकार गर्यो। पुलिसको अगाडि मेरा काँपेका स्वरहरु तरंगित हुन थाले।
'केही पनि होइन साप।'
'तपाईंले ढाँटेर हुन्छ र! तपाईँको छोराले यहाँ उजुरी दिइसकेको छ।'
'केको उजुरी?'
'बाबाले वास्तविकलाई लुकाएर मलाई अँध्यारोमा राखेको भनेर।'
'हजुर साप! म एउटा गरिब किसानको छोरो। म जन्मिँदा मेरो बुवासँग जग्गाको नाममा एउटा खुर्सानी रोप्ने ठाउँ पनि थिएन। जमिन्दारको जग्गामा अधियाँ खेती गरेर हामीहरुलाई पाल्नु हुन्थ्यो।
उसिनेको फर्सीको टुक्राले कयौं छाक टरे। मैले बुवाको दुःखमा आफ्नो दुःख मिसाउँदा औधी रमाइलो मान्थें। मेरो उमेरमा खेल्ने र समय बिताउने भनेको त्यही बुवाको दुःखमा साथ दिएर हो। घरमा खानेकुरा थिएन। दिउँसो बुवा साहुको मेलामा जाँदा साथमै जान्थें।
साहुलाई सानोतिनो काममा सघाइदियो, साहु पनि खुसी हुने। दाईँमा जाँदा परालमा खेलिन्थ्यो। परालमा उफ्रिएपनि बुवा-आमालाई सघाएको हुन्थ्यो। आफ्नो घर थिएन। साहुको घरमा बसिन्थ्यो। बेला बेलामा ‘भतुवा’ भनी हेपेर बोल्ने गर्थेँ।
'तलाईं अब त्यो घरबाट निकाल्दैछन्, कहाँ जान्छस्?' भनी डराउन दिए। त्यहीँ पीडामा कयौंपटक घर छोडेर हिंडेँ। महिनौं दिनसम्म बेवारिसे बनेर भौतारिरहेँ। यसले पनि मलाई धेरै पाठ सिकायो। अभाव र पीडाले दिएको शिक्षा वास्तवमा किताबबाट पाएको शिक्षाभन्दा खाटी र कयौं गुणा माथि हुँदो रहेछ।
मसँग कापी कलम किन्ने पैसा थिएन। मैले पढ्ने स्कुलको पियन दाइले लुकाई लुकाई मलाई कापी दिनु हुन्थ्यो। त्यसको बदलामा बिहानभरि उहाँको खेतबारी जोतिदिनु पर्थ्यो।
जंगलको बीचमा स्कुल थियो। स्कुलमा दिउँसोको टिफिन टाइममा त्यही जंगलमा पाइने कन्दमूल र फलफूल खाएर भोक मत्थर पारिन्थ्यो। जेनतेन स्कुल पार गरियो। त्योभन्दा माथिको पढाइ घरमै बसेर पूरा गरें।
अहिले साना बालबालिकाहरुसँग आफ्ना अनुभवहरु साट्ने थलो पाएको छु। सानो छँदा ज्यानले दुई/चार सरो नयाँ लुगा बाहेक अरु पाएन। अरुको पुरानो लुगामै चित्त बुझाउनु पर्थ्यो। ती अनुभवहरुले मलाई बलियो बनाएको छ।
यो धरालतमा दह्रोसँग टेक्न सक्ने भएको छु। म यो कुरामा ढुक्क छु कि ठूलै धक्काले पनि मलाई विचलित पार्न सक्दैन। सानोतिनो झट्काले त रौं समेत हल्लिदैन। मलाई पीडामा बाँच्ने बानी परिसकेको छ।'
'तपाईंले जसरी जीवन बिताउनु भयो, अरुले पनि त्यसरी नैं बिताउनुपर्छ भन्ने छ त?' उनले मतिर फर्केर प्रश्न गरे।
मैले नम्र भएर जवाफ दिएँ, 'हैन, मैले त्यस्तो भन्न खोजेको होइन। हो, सबैको आ-आफ्नै जिउने तौरतरिका हुन्छ। कसैले कसैलाई रोकतोक गर्ने अधिकार छैन। एउटा पिताको हैसियतले आफ्नै आँखा अगाडि सन्तान बिग्रिएको कसलाई पो हेर्न मन हुन्छ र?
त्यसैले उसलाई म जस्तो नभइकन मभन्दा पनि व्यावहारिक बनाउन खोजेको मात्रै हो। म उसलाई काँचो माटो ठानेको छु तर ऊ भने पानी जस्तो भएर बग्न खोज्छ। काँचो माटो एक पटक आकारमा आयो र सोही अनुरुपको वातावरण पायो भने त्यसको आकृतिमा फेरबदल हुँदैन।
तर पानीमा यो नियम लागू हुँदैन। किनकि पानीको कहिल्यै पनि स्थायी प्रकृतिको आकार हुँदैन। जस्तो भाँडामा राख्यो यसले उस्तै खालको आकृति दिन्छ। मेरो छोराको जीवनलाई पनि पानी र माटोको द्वन्द्वले भाँडेको छ।
अहिलेसम्म मैले जति पनि जोडें, मेरो पसिना र मेहनतले जोडें। कमाइमा कहीँ कतै दाग लाग्न दिएको छैन। छोरो जुन दिन आफ्नो पढाइ सकेर आउँछ, त्यही दिन मैले यो ‘सप्राइज’ दिउँला भनी लुकाएर राखेको हुँ। त्यो बाहेक अरु केही पनि होइन।
छोराले बाबुको पहिचानमा रमाउन खोज्दा बिग्रेला भनेर मैले आफूले पढाउने स्कुलमा पनि पढाइनँ। आफ्ना सन्तानलाई आफूभन्दा टाढा राख्ने रहर त कुन बाबु-आमालाई हुन्छ र? तपाईं नैं भन्नुस् न! तर मैले मेरो छोराको बारेमा जे सोचेको थिएँ, त्यसको ठीक विपरीत भइदियो।'
पुलिसले मलाई फेरि केरकार गर्न थाल्यो।
'तपाईंले आफ्नै घरलाई पनि अरुको घर बनाएर भाडामा बसेको नाटक गर्नु भएछ। के यस्तो गर्नुपर्ने जरुरी थियो र? यो कुरा आफ्नै छोरालाई मात्रै ढाँटेको कि अरुको आँखामा छारो हाल्न यस्तो गरेको?'
मैले त्यसको प्रतिउत्तरमा भनेँ 'यत्रो सम्पत्ति कमाएर लुकाई अरु जोरीपारिको सामुन्ने झुत्रेझाम्रे भएर हिँड्न मन त मलाई पनि कहाँ छ र? रवाफका साथ हिँड्न कसलाई पो मन हुँदैन र? मैले यही छोराको लागि नै यो सब गरेको हुँ। यसमा मेरो कुनै पनि स्वार्थ छैन।
मलाई थाहा छ। अहिलेका सन्तान बिग्रनुमा अभिभावककै अधिकतम दोष छ। उनीहरु आफ्नो हैसियतभन्दा माथि रहेर समाजमा तडकभडक देखाउँछन्। अप्रत्यक्ष रुपमा त्यसको सिको उनीहरुका सन्तानहरुले गरिरहेका हुन्छन्।
बाबु-आमाको पहिचानमा रम्न पाएपछि उनीहरुलाई आफ्नो छुट्टै पहिचानको लागि दुःख किन गर्ने भन्ने मानसिकता रहेको हुन्छ। त्यही भएर अभिभावकले पनि सन्तानलाई आफ्नो जग आफै बसाउन र संघर्षमा होमिन प्रोत्साहित गर्नुपर्छ भन्ने मेरो मान्यता हो।
मैले मेरो छोराको पढाइका सिलसिलामा कुनै पनि किसिमको अभाव हुन दिएको छैन। हरसम्भव उसको गर्जो टार्ने काममा दिनरात खटिरहेको छु। उसका मनासिव चाहना र आवश्यकतामा मैले कहिल्यै पनि लगाम कसेको छैन।
मैले जुन सपना देखेर उसलाई त्यो स्वरुपमा ढाल्ने कोशिश गरेको थिएँ। मेरो त्यो सपना पूरा भएन। उल्टै मैले सोचे विपरीत भइदियो।'
इन्स्पेक्टर एकछिन् घोरिए। अनि फोन सेटको डायलमा अंकहरु थिच्न थाले।
'ल भाइ तपाईं एकछिन चौकीमा आउनुस्' यति भनेर फोन राखिदिए।
ऊ निन्याउरो मुख लगाएर ढोकाबाट भित्र पस्यो। मलाई देखेको नदेखै गरी इन्स्पेक्सरलाई नमस्कार गर्यो र एकछिनसम्म भुइँतिर हेर्दै त्यहीँ उभिइरह्यो।
'खासमा बुवासँग तपाईंको गुनासो के हो?'
ऊ कड्किन थाल्यो, 'माई लाइफ, माई चोइस। मेरो जिन्दगीमा अनावश्यक हस्तक्षेप गर्ने अधिकार बुवालाई छैन। म जसरी जिउन चाहन्छु, त्यसरी नै जिउन दिनुस् न। किन धरपकड?
अनि अर्को कुरा, बुवाले त्यत्रो सम्पत्ति लुकाएर राख्नु भएको रहेछ। पक्कै उहाँको अर्को परिवार भएर न यस्तो गर्नु भएको होला? नत्र भने यतिका सम्पत्ति हामीलाई थाहा नदिई लुकाएर किन राख्नुपर्ने थियो र! मलाई त अहिले आएर पो शंका लाग्न थालेको छ।'
उसले मलाई संघिन आरोप लगायो। म केही पनि बोलिनँ।
पुलिसले फेरि प्रविनलाई सोधे 'बुवाले यो सब तपाईंको लागि गर्नु भएको रहेछ। यसमा तपाईंको आपत्ति किन?'
प्रविनले जवाफ दियो, 'बुवाले गर्नु भएको अरु कुन काम मैले बेठिक भनेको छु र? घर-व्यवहार लुकाएर राख्दा मलाई नराम्रो लागेको हो। यसमा बुवाले मलाई अपरिपक्व ठानेको सम्झें मैले। यसरी घरकै कुरा लुकाएर सन्तानलाई कसरी व्यावहारिक बनाउन सकिन्छ?'
उसले पुलिसलाई प्रतिप्रश्न गर्यो। म दोधारमा परें। यसरी छोराको चित्त दुखाएर मैले नराम्रो गरें कि भन्ने पनि लाग्यो मलाई। म यो कुरामा विश्वस्त थिएँ कि मेरो यो निर्णय मेरा लागि नभएर मेरो सन्तानको सुकिलो भविष्यको लागि हो।
यो निर्णय गर्नुअघि मैले धेरैपटक आफूले आफैलाई सोधेको थिएँ, यो निर्णयले मेरो परिवारको भविष्य डामाडोल त हुँदैन भनेर। अहिले यो विचाराधीन अवस्थामा छ। निकट भविष्यमै यसले मूर्तरुप लिनेछ।
उसको कुरा सुनिसकेपछि इन्सपेक्टर बोले 'तपाईं दुईबीचको विवादमा मेरो भूमिका खासै देखिनँ मैले। तपाईं दुईजनाकै तर्क बलिया छन्। हजुरहरु दुवैको कुराले म प्रभावित भएँ। यो विवादको अन्तिम फैसला गर्ने अधिकार घरमूलीको नै काँधमा परेको छ।' उसले मतिर इंकित गर्दै भन्यो।