'म ठूलो भएर पारस खड्का बन्छु' है भन्ने
मेरो ५ वर्षीय भाइको लागि बन्नुपर्छ रंगशाला
१० औँ वर्ष एउटै विकासको परियोजनामा अड्किने सरकारलाई
'गरे के हुन्न र!' देखाउन बन्नै पर्छ रंगशाला।
देशको लागि कयौँ वर्ष रित्तो पारिश्रमिकमा समेत खेलेका
खेलाडीको लागि बन्नुपर्छ रंगशाला
रंगशालाबाटै आफ्नो साँझको चुलो बाल्न सबल भएका
ती 'रामबहादुर' दाइको लागि बन्नैपर्छ रंगशाला।
हातमा लिइएर पनि फाल्न नपाइएका
ती बलहरुको लागि बन्नुपर्छ रंगशाला
साथमा लिएर पनि मञ्च नपाएका ती
तम्तयार ब्याटहरुको लागि बन्नुपर्छ रंगशाला।
दिनरात नसोची अथाह मेहनतमा डुबिराखेका
ती धुर्मुस-सुन्तलीको हातहरुको लागि बन्नुपर्छ रंगशाला
रंगशालाबाटै रातको चुलो बल्ने 'रामबहादुर' जस्तै
अन्य मजदुरहरुको लागि बन्नुपर्छ रंगशाला।
आफ्नो ८४ वर्ष नाघिसके पनि 'रंगशाला बन्नुपर्छ है' भन्दै
आशिर्वाद दिने ती बुढी आमाको लागि बन्नुपर्छ रंगशाला।
आफ्नो परिवारको शोकको घडीमा समेत
सहयोगि हात जुटाउने ती साथहरुको लागि बन्नुपर्छ रंगशाला।
खेलाडीको कर्मशाला, मजदुरको मर्म-शाला, धुर्मुस सुन्तलिको हर्षशाला,
सम्पूर्ण नेपालीको गौरवशाला, त्यसैले त बन्नुपर्छ गौतमबुद्ध रंगशाला।
भर्खर ८ वर्ष टेक्दै गरेकी नानीले 'रुबिना क्षेत्री' लाई देख्दा पाउने
मुस्कानको लागि बन्नुपर्छ रंगशाला।
आइपिएलमा 'सन्दिपलाई हेर्छु है' भन्दै राति एक बजेसम्म
नसुती बस्ने ती युवकको लागि बन्नुपर्छ रंगशाला।
हरेक सेकेन्ड क्रिक-इन्फोको स्कोरबोर्ड चिहार्न बाध्य हुने
शुभचिन्तकको लागि बन्नुपर्छ रंगशाला !!
परदेशमा दिनरात मेहनत गरी 'देशको गौरवको संरचना खडिनुपर्छ' भन्ने
अठोट बोकेका ती मेहनती साथहरुको लागि बन्नुपर्छ रंगशाला
देशको समुन्नत भविष्यको लागि माटोमा सुगन्ध भेट्ने
युवाहरूको लागि बन्नुपर्छ रंगशाला।
रंगशालाको निर्माणमा अनेकन अवरोह ल्याउनेलाई
'सकरात्मकताको जित अवश्य हुन्छ' भन्ने पाठ सिकाउन बन्नुपर्छ रंगशाला।
क्रिकेटले विश्वमाझ नेपाललाई अझै चिनाउन बन्नैपर्छ रंगशाला।
पारस खड्का बन्ने सपना देखेको
मेरो भाइको लागि बन्नुपर्छ रंगशाला।
स्कुलको सेतो सर्टमा क्रिकेटको
रंगिन सपना भर्न बन्नैपर्छ रंगशाला।
क्रिकेटमा भविष्य नदेख्नेहरुलाई
क्रिकेट बुझाउन बन्नपर्छ रंगशाला
पर्याप्त स्थानको अभाव हुँदा रुख अनि भित्तामा
चढी-चढी खेल हेर्ने दर्शकको लागि बन्नुपर्छ रंगशाला।
देशको विजय तथा पराजयमा हरेक तवरबाट समर्थन जनाइराख्ने
शुभचिन्तकको लागि बन्नुपर्छ रंगशाला
विश्वलाई गौतम बुद्धको जन्मभूमि नेपाल हो
अवगत गराउन बन्नुपर्छ रंगशाला।
'डल्ला फाल्ने मात्र होइन' क्रिकेट सपना हो, भावना हो, समृद्धि हो,
विकास हो, प्रसंशा हो अनि साधना हो, भन्ने चेतना दिन बन्नैपर्छ रंगशाला।
मेरो भाइ मात्र होइन, मेरो बहिनीमात्र होइन,
क्रिकेटमा भविष्य बनाउने सपना कोरेका
तपाईंको सन्ततिको लागि पनि बन्नुपर्छ रंगशाला।
खेलाडी देशको गहनालाई देशमै बचाइराख्न बन्नैपर्छ रंगशाला।