बर्मा तिमी मेरो लागि कहिले म्यानमार हुन सकेनौ। तिम्रो नाम संसारका सबैको लागि बदलियो तर मेरो मस्तिष्कले तिम्रो बदलिँदो नाम सम्झनै सकेन।
६५ वर्षकी म तिमीलाई छोडेको नि ५५ वर्ष भएछ, तिम्रो धमिलो तस्बिर डिएसएलआर जस्तो चहकिलो नभएनि नेगेटिभ पनि भएको छैन।
सपनाजस्तो लाग्छ बाउले ‘तुलसीमाया उठ आज त देश जाने हो’ भनेर बिहानै उठाएको।
आफ्नो मात्र हैन ठूली छोरी भएकोले मलाई भाइ, बहिनीको समेत जिम्मा थियो। कुरा के हो, किन जान लागेको, कहाँ हो मेरो देश केही थाहा नभएनि टाउजी सी.ए छोडेर आउँदा म रोएकै हो।
पैसा सामान केही लैजान दिँदैन रे, पुलिस चेक हुन्छ रे, टाढा छ रे, चोर लाग्छन् रे, कता कता सुन्नु भएछ सुन लगाएर चाहिँ लैजान दिन्छ रे ......रे...रे..रे यो सबै रे को पछि लागेर आमा बाउले कान र नाक छेड्दिनु भयो हामी सबै छोराछोरीका। ठूलाले एक तोला र सानाले आधा तोला सुनसम्म लगाउन पाइन्छ रे को पछि लागेर हामी सबैका कानको प्वालको संख्या थपिए। १० वर्षकी ठूली छोरी म, मेरो भागमा एक तोला सुन पर्न आयो।
बाउ सानो हुँदा गुल्मीबाट बर्मा जाँदा ६ महिना लगाएर पानी जहाजमा गएको सुनाउनु हुन्थ्यो। त्यही पानी जहाज चढ्ने इन्तजारमा थिएँ म।
तर अपसोच मैले बाउले भने जस्तो पानी जहाज देख्न पाइनँ। बर्मा छोडेर देश फर्किने हामीजस्ता धेरै नेपाली थिए सँगै।
कलकत्तासम्म प्लेनमा अनि कतै गाडी, कतै हिँड्दै आइपुग्यौं बर्मेली टोल भैरहवा। लगाएका सुन बेचेर केही दिन त खान पुग्यो त्यसपछि फेरि सुरू भयो भोकको कथा।
राजा महेन्द्रले जग्गा दिने भनेको सुनेर आएम हामी छपिया। साहसी तुलसीमाया एउटा रूख काटेर आएको ५० रुपैयाँले घर चलाउँथिन्। १० वर्षकी ठूली तुलसीमाया दाउराको मुठो बोकेर बेच्न पुग्थिन् भैरहवा।
बर्मा छोडेर नेपाल आएको नि धेरै भैसक्यो। तर नि कोही बर्माबाट आएका मान्छे भेट्दा अहिले नि भन्नु मन लाग्छ ‘थम्मिन चाबेला (खाना खायौ)? मन र कर्मले म बिशुद्ध नेपाली हुँ। त्यसमा कुनै शंका छैन। तर बर्मामा गोली चल्दा अहिले नि मेरो मन दुख्छ। झल्झली याद आउँछ टाउजी बजार, सी.ए र रंगून बजार।
रातो, पोटिलो र स्वादिष्ट स्ट्रबेरी। ओहो नेपालमा त्यति मीठो कहिल्यै पाइएन।
आज भोलि म समाचार सुन्न छोड्ने भएकी छु। एक त नेपालको वन डढेलो र प्रदूषण त्यसमाथि बर्मामा सैनिकले चलाएको गोली। नेपालीहरू नि अग्रपंक्तिमा आएर सैनिक शासनविरूद्ध आवाज उठाएको देखें खुसी लाग्यो। सायद म त्यहाँ भएको भए नि त्यही गर्थें होला।
तर त्यो गोलीले मारेको निर्दोष मान्छे सम्झन्छु मन पग्लेर आउँछ। आँखाबाट आँसु बग्छन् तर मैले दोष आँखा पोल्ने वायु प्रदूषणलाई दिन्छु।
के सैनिक शासन हिटलरको भन्दा नि खराब ? येहुदीहरूको याद आउँछ। नाइँ, नाइँ फरक, फरक जातिले भरिएको बर्मेली र येहुदीको पीडा एउटै कहिलै हुनै हुँदैन। भगवानसँग पूजा गर्दा बर्माको लागि प्रार्थना गर्ने भएकी छु म।
मर्नुअघि आफू जन्मेको ठाउँ एक पटक घुम्ने रहर थियो,तर...।