हरेक मान्छेका आ-आफ्नै गन्तव्य हुन्छन्। केही गन्तव्यको उडानमा सफल अवतरण हुन्छन् भने केही जिन्दगीको खराब मौसमको कारण समाप्त हुन्छन्।
भनिन्छ, माहुरीको संगतले फूलमा पुर्याउँछ भने झिँगाको संगतले फोहोरको डंगुरमा। यो भनाइ बेलाबेला म वरपरका जीवनहरुसँग तौलिने गर्छु। यस्तै एउटा विगत म हुँदै गुज्रेको छ।
यस्तो तितो विगत नसम्झेको भए नि हुन्थ्यो तर लामो समयदेखि मनमा चलेको द्वन्दको निष्कर्षले मेरो कलम कागजको छाती कोतर्न उठेको छ।
एसएलसी परीक्षा प्रथम श्रेणिमा उत्तिर्ण गर्दा फलामे ढोका पार गरेकोमा मन ढक्क फुलेको थियो। रिजल्ट पछाडि केही समय अन्योलता छायो। के पढ्ने? कहाँ पढ्ने? कुन विषय पढ्दा ठिक होला? राम्रो होला?
यी यावत् प्रश्नको जन्जिर पार गर्दै साइन्स पढ्ने निश्चित भो। प्लस टु साइन्समा इन्ट्रान्स दिएकै दिन धनकुटाको माथ्लो गोकुण्डेस्वर उमाविमा भेट भएको थियो सलिन र सिर्जनसँग।
सलिन रेग्मी संखुवासभाको थियो भने सिर्जन तिम्सिना भोजपुर। नयाँ परिवेश नयाँ ठाउँमा मैले बनाएका पहिला साथीहरु थिए सलिन र सिर्जन। सबैको पृष्ठभूमि सरकारी विद्यालय। इन्ट्रान्स पास भएसँगै प्लस टु लाइफ सुरु भो।
घरमा आमा-बाले पस्केर देको खान घुर्कि लाउने, जहाँ खायो त्यहीँ चुठेर हिँड्ने बानीले परेको मान्छे। ओहो! सुरु सुरुमा त त्यो सिलिन्डर कसरी खोल्ने? अनि कुकरमा सिठी कसरी लगाउने? खानामा पानी कति हाल्ने? यस्तै प्रश्न मनभरि सलबलाउँथे।
यी सब आफै गर्नुपर्ने सम्झिँदा दिक्दार लागेर आउँथ्यो। दिनैपिच्छे घर जान मन लाग्थ्यो। सिर्जन र सलिन रुम-पार्टनर थिए। उनीहरुको हालत मेरोभन्दा कम थिएन। आखिर सबैभन्दा ठूलो गुरु त समय रहेछ। समयले हामीलाई धेरै कुरा राम्रैसँग सिकायो।
सिर्जन गम्भीर स्वभावको थियो भने सलिन बिन्दास। सलिन नयाँ साथी बनाउन माहिर थियो। जिन्दगीको उडानमा को कति छिटो उड्योभन्दा पनि कुन बाटो? कस्ता सहयात्रीको साथमा कसरी उड्यो? भन्ने महत्त्वपूर्ण रहेछ।
सलिन हेर्दा बिन्दास देखिएपनि ऊमाथिको लोड कति छ? कुन परिस्थितिमा गुज्रेको छ? भनेर मलाई भावुक हुँदै सुनाएको आज पनि भर्खर जस्तो लाग्छ।
उस्को बाबु जनयुद्ध ताका सैनिकद्वारा मारिएका रहेछन्। बाबु मारिएपछि आमाले दु:ख गरेर हुर्काएको एक्लो छोरो थियो सलिन। सलिनलाई आमाले देखेका सपना पूरा गर्नु थियो। सुरु सुरुमा राम्रै मेहनत गर्थ्यो। पढाइ राम्रै थियो।
एकदिन सिर्जन र म फिजिक्सको न्युमेरिक्स सल्भ गरेर बसिरहेका थियौँ। सलिन र उसका केही साथीहरु आए, गोजीबाट चुरोट निकालेर खानलाई प्रस्ताव गरे तर हामीले नमानेपछि उनीहरु त्यहाबाट निस्केर हिँडे।
विस्तारै सलिन हामीसँग टाढिँदै गयो। उस्का साथीहरु फेरिए। उसको आनिबानी फेरिँदै गए।
एघारको रिजल्ट आयो, सिर्जन र मेरो राम्रै भयो। रिजल्ट आउने दिन सलिन कोठामा अबेर आयो। अनुहार मलिन थियो, केमिस्ट्री लागेछ।
'२८ आएर फेल यार, बरु पाँच आएर फेल हुनु नि!' सलिन मुर्मुरियो।
'अरुको तीन/चार वटा लागेछ, तिम्रो एउटा त हो पास गरिहाल्छौ नि' सिर्जनले सम्झाउँदै भन्यो।
साथीले साथीको आरिस कहिले गर्दैन, डाहा गर्दैन तर जब साथीले प्रगति गर्छ आफूमा प्रेसर फिल हुन्छ। सायद सलिनमा प्रेसर ज्यादै पर्यो। त्यो दिन उसले तनावमा पिएको हुनुपर्छ। बेलुका कोठामा आउँदा उसका खुट्टाहरु धर्तीको छातीमा नमजाले लर्बराएका थिए।
'तैले रक्सी पिएको?' सिर्जनले अचम्ममा पर्दै सोध्यो।
'पिएको हैन मित्र, तानेको' सलिनको जवाफ थियो।
यत्तिकैमा सलिन निदायो।
भोलिपल्ट बिहान सलिन र सिर्जनको के कुरामा कुरा मिलेन, भनाभन हुँदा हुँदै सलिनले सिर्जनसँग नबस्ने, छुट्टै कोठा खोजेर बस्ने भयो। सिर्जन एक्लै बस्न थाल्यो तर सलिन भने उसको अर्कै साथीसँग सरेछ। सलिन दिनानुदिन कुलतमा फस्दै जाँदै थियो। उसको आनिबानी बोलिचालि भिन्दै हुँदै गएको थियो।
सलिन चुरोट र रक्सीसँग झन् आत्मीय हुँदै गएको थियो। कसैको प्रेममा ऊ पागल थियो भने केबल नशाको प्रेममा पागल थियो। सलिन कहाँ के गरेर दिन बिताउँथ्यो थाहा भएन तर ऊ कलेज एकदमै कम जान थालेको थियो।
उसले आफ्ना सपनाहरुको भारी कतै बिसाइसकेको थियो। उसैलाई थाहा थिएन उसले के गर्नु पर्थ्यो, के गरिरहेको थियो। ऊ चुरोट जसरी आफू भित्रै जलेर सकिँदै थियो। अझ भनौँ भने ऊ ठुटोमा परिणत हुँदै थियो। फगत एउटा अस्तित्वहीन ठुटो।
फाइनल एक्जाम नजिकै आइसकेको थियो तर सलिनलाई बालमतलब थिएन। उसको आफ्नै संसार थियो आफ्नै साथीभाइ थिए अनि आफ्नै दिनचर्या। उसलाई नसम्झाएको हैन। उसलाई सुधार्न हामीले प्रयत्न नगरेको हैन तर उसको नियतिको अघि हाम्रो प्रयत्न हारिसकेको थियो।
परिस्थिति एउटै भएर हो अथवा नयाँ परिवेशमा भेटिएको पहिलो साथी भएर हो, सलिनलाई यो मनले औधी माया गर्थ्यो। दिनानुदिन बिग्रँदै गएको सलिनको अवस्थाले म निकै डिस्ट्रब थिएँ।
उसले फिजिक्स एक्जामनै लिभ गर्यो। दिएका पनि मन लगाएर देको हैन। जसोतसो एक्जाम सकियो। एक्जाम सकेर सिर्जन र म घर जाने भयौं। हाम्रो आधा बाटो मिल्थ्यो तर सलिन घर पनि गएन। अब त मलाई पनि घर बस्न नसक्ने बानी हटेछ, अझ भनौँ मन सहरमै रमाउन थालेछ।
धनकुटा आएर सुरुमा सलिनकै डेरामा पुगेँ। उसको हबिगतले मुटु टुक्रा टुक्रामा विभाजित हुन्थ्यो। म सुरुको सलिन सम्झिन्थेँ अनि पछिको सलिन। सुरुको सलिनको उर्जा सम्झिन्थेँ अनि पछिको निरीह सलिन।
'ओए! रिजल्ट आएछ, तिम्रो के भो?' हेल्लो भन्न नपाउँदै सिर्जनले मलाई सोध्यो।
'तिमीले हेरेऊ? के भो तिम्रो?'
'६४ पर्सेन्ट आएछ यार' खुसी भरिएको आवाजमा सिर्जनले सुनायो।
'ए! ल म पनि हेर्छु' भनेर मैले फोन काटेँ।
रिजल्ट चेक गरेँ। ६८ पर्सेन्ट आएछ। सिर्जन र मेरो त राम्रै थियो। त्यसपछि मैले सलिनको रिजल्ट चेक गरेँ। नेपाली अंग्रेजी बाहेक सबै लागेछ।
सलिनलाई भेट्न कोठा पुग्दा ऊ कोठामा थिएन। भेट भएन। भोलिपल्ट बिहानै गएँ। उसको अनुहारमा घाम अस्ताएको थियो। मैले निकैबेर सम्झाएपछि उसले भनेको थियो 'कस्सम यार, यो सब छोड्छु। नपढी भाको छैन।'
त्यसपछि सिर्जनसँग बिएसस्सी पढ्न काठमाडौ जाने सल्लाह भयो। सिर्जन र म काठमाडौँ जान धनकुटामा भेट भयो। सलिनकै कोठामा एकरात बसियो।
'सिर्जन, सरी है! मैले तिमीलाई के-के भनेँ, नराम्रो नसम्झ। त्यो मेरो गल्ती थियो।'
'ह्या! मुला केको सरी, तिमी त मेरो जिग्री हौ नि। जिग्री यानिकी जिगरका टुक्रा।' सिर्जनले यति भन्दा सलिनले के सोच्यो कुन्नी, भावुक भैसकेको थियो। हामी उसको ब्याक सकिएपछि काठमाडौंमा भेट हुने प्रतिवद्धताका साथ काठमाडौंका लागि छुटियौँ।
काठमाडौ धेरैको सपनाको सहर हो तर यो धेरै सपनाहरुको हत्यारा हो। मेरो गाउँमा घर टाढा भए पनि मनहरु नजिकै छन् तर काठमाडौ त हजारौं हजार घरका भित्ताहरु एकआपसमा अंकमाल गरेर बसेका छन् तर मन?
यहाँ त एउटाको मनबाट अर्को मनको दूरी असीमित, अनन्त छ। यहाँ कसैले कसैलाई चिन्दैन। अरु त अरु आफ्नाहरु पनि नचिनम्ला झैं गर्छन्। यो काठमाडौँको मुख्य विशेषता हो। सलिनको याद नआएको हैन तर धनकुटा छाडेपछि सलिनसँग कुरा भएकै थिएन।
धनकुटामा बस्दा सलिनका ठूला बाका छोरा हर्क दाइ सलिनको कोठामा आइरहन्थे। अचानक हर्क दाइसँग जम्काभेट भयो। सुरुमा त ठम्याउन सकिनँ, भेट नभएको निकै भएछ क्यारे। त्यतिबेला धनकुटा छाडेको पनि दोस्रो वर्ष बितिसकेको थियो।
'तपाईं हर्क दाइ हैन?' मैले सोधेँ।
हर्क दाइ अलमल्ल परे।
'अ! हो त?'
'सलिनको कोठामा भेट भाथ्यो त धनकुटामा बिर्सनु भो?'
'ओहो! भाइ यार, तिमी? कहाँ छ बसाइ? अनि के गर्छौ यहाँ?'
'म बालाजु बस्छु दाइ। अहिले बिएसस्सी थर्ड इयर पढ्दै छु।'
यति कुरा भैसकेपछि मैले सलिनको हाल सोधेँ।
'सलिन! छैन भाइ अब हामीसँग' हर्क दाइको यो वाक्यले मेरो वाक्य बन्द भयो। निकैबेर न मैले केही बोल्न सकेँ न हर्क दाइ।
'ल है! जमल, सोह्र खुट्टे..., भृकुटीमण्डप झरम् त' खलासी करायो।
'ल भाइ, म यतै ओर्लिनु पर्ला?' निकैबेरपछि हर्क दाइ बोले।
'अनि दाइ कता बस्ने आज?'
'खै भाइ टुंगो छैन, अब हेरम् कता हुन्छ?'
दाइको बस्ने टुंगो नभएपछि मैले मेरो कोठामा जान अनुरोध गरेँ। सुरुमा त टार्न खोजेपछि मैले फेरि रिक्वेस्ट गरेपछि हर्क दाइ जान तयार भए। सिर्जन काम विशेषले तीन/चार दिनको लागि पोखरा गएको थियो।
हामी कोठा पुग्यौं। त्यो दिन हर्क दाइले सबै कुरा सुनाए। किन हो थाहा छैन? साथीत्वको शक्ति हो या त साथी बीचको प्रेम, मलाई थाहा छैन। सलिनको बारेमा दाइले भन्दा मेरा आँखाहरु रसाइरहे।
हामीसँग छुट्टिसकेपछि सलिन कुलतमा झन्-झन् भासिएछ। बिरामी भएर अस्पताल भर्ना भएपछि हर्क दाइ र सलिनकी आमा अस्पताल पुगेछन्। धनकुटा जिल्ला अस्पतालले धरान बिपि कोइराला मेमोरियल रिफर गरेछ।
धरानबाट भरतपुर र भरतपुर क्यान्सर हस्पिटलमा यो जन्मको अन्तिम श्वास फेर्दै सलिन गहिरो निद निदाएछ। खर्च निकै भएछ। आमाले गाउँको घर धितो राखेर निकालेको ऋण तिर्न नसकेसी साहुले घरजग्गा लिलाम गरेछ।
विचरी आमाले अब बाँचुन्जेल जनयुद्धमा मारिएको श्रीमान् र कुलतले मारिएको छोराको चोट बोकेर कति दिन यो संसारमा श्वास फेर्ने हुन्, थाहा छैन।
क्षणिक मोज-मस्तिका लागि आफ्नो र आफ्ना बा-आमाका सपनाहरुहरु आर्यघाट सेलाएर जिन्दगीभर बा-आमालाई आँसुमा डुबाउने सलिनहरु हाम्रो समाजमा कम छैनन्। लहैलहैमा लागेर सलिन झैं बाटो बिराउँदै गरेकाहरुले समयमै आफूलाई सम्हाल्न सकून्।