एक जोडी ढुकुरको चिर्बिर सुन
खोजी तिन्का तिन्का लगाऊ है प्रिय गुँड
माया प्रेम अनि अटुट एउटा अठोटको साथ
दु:ख सुखका कटाउँदै सबै दिन अनि रात
दिन बित्दै गए अनि आयो त्यो दिन
चिर चिर गर्दै गुन्जियो त्यो जोडीको गुँड
भुरुरु उडयो बाबा चरो लिनलाई चारो
आमा चरी घरै बसिन् भनी बँचेराहरुलाई नपरोस् कुनै गाह्रो
पालै पालो गरी यसरी नै हुर्कँदै गए ती बँचेराहरु सुन
दंग थिइन् आमा आउँदा तिन्का नरम प्वाँख
गर्व थियो बाबालाई उड्ने छन् साथ साथ
घाम-पानी केही नभनी नभनी दिन रात
हुर्किए ती बँचेराहरु भए जवान
बँचेराहरुको मनमा थियो उत्साह उमंग
गुँड परको ठाँउ कल्पेर हुन्थे दंग
प्वाँख फिजाई त्यो अनन्त निल गगनमा
उड्न लागे पुग्न त्यो सपनाको सहरमा
पालै पालो गरी बँचेराहरु छाड्न लागे गुँड
नयाँ कर्म गर्न गए पराई ठाउँमा
उतै रमे उतै खेले खाए घरजम बसाए
फर्कनेछन् एकदिन भन्दा आमाका आँखा रसाए
पुलुक्क एकअर्कालाई हेरी फेरे ती जोडीले लामो सास
भैगो तिमी मेरो म तिम्रो, हामी एकअर्कालाई साथ
रित्तो गुँड देख्दा रुन्छ तिनीहरुको मन
सम्झाउँदछन् एकअर्कालाइ यस्ता गुँड धेरै हुँदा हुन्
त्यो अग्लो बुढो रुखको हाँगो
हाँगोमा अडिएको त्यो रित्तो गुँड
त्यसैका आडमा छातीभरि माया बोकेकी आमा।