जंगलको बीचमा
एउटा बाटो भेटियो
भनौँ
बाटोमा जंगल भेटियो
म हिँडेको बाटोमा
मैले एउटा लौरी भेटेँ।
भनौँ लौरीले मलाई भेट्यो।
प्रायः मेरा आँखाहरुले बाटो हेर्दैनन्
बाटोमा भेटिने अनेकौं जीवन हेर्छन्।
बाटो हिँड्नकै लागि बनाएको हो
जीवन बाटोकै लागि हो।
लाग्दछ,
बाटो र जीवन माटोमै सकिन्छ।
अस्पतालहरु पनि कति टाढा-टाढा हुन्छन्
जब आफन्तहरु नजिक हुँदैनन्
एउटा लौरी र झोलामा सिङ्गो जीवन बाकेर
कहाँ-कहाँ पुग्छ मान्छे?
मान्छे भएकै ठाउँमा पनि एक्लो हुन्छ मान्छे।
दुखेको घाउ छोपेर हिँडिरहेको मान्छेको
आँखाहरु पनि दुखेका थिए
मन अमिलो थियो।
उसले टेक्ने लौरी पनि रोएको देखेर
मेरो मस्तिष्कले
मेरा हात खुट्टा हल्लाई भन्यो
मैले चलाएको गाडीलाई रोक्न भनेँ।
म लौरी र मान्छे एकै साथ आयौं
अनुहार त बिर्सेको छैन,
मैले जन्म दिएका सन्तानहरुको
मैले मेरो घरको ढोका
खुलै छाडेर आएको छु।
थाहा छैन
म फर्केन्छु फर्कन्नँ
यो मेरो लौरी
मेरो घर फर्काइदिनु।
मेरो सिरानीमा
केही पनि छैन
कसैले बाकसको साँचो नखोजे भनिदिनु
कुरा सकिएकै थिएन।
उनले गाडी बन्द गर्नु भने
मैले अब ओर्लनुहोस् भनेँ।
उनी गए
लौरी गएन।