किंवदन्तीहरूमा सुनेजस्तै कहिले
अजंगको राक्षस जस्तो
कहिले अनेकौं जंगली जनावर जस्तो
बादल अनवरत आफ्नो आकृति फेरिरहन्छ
बादललाई बेगसँग उड्न हतारो छ
गह्रौँ भएर अग्ला पहाडहरुमा ठोकिन हतारो छ
वर्षा बनेर सुख्खा धर्तीमा पोखिन हतारो छ
जन्म भएको केही दिनमा
बादल वर्षा बनेर धर्तीलाई सिंचित गरेपछि
उसको जीवनचक्र सकिन्छ
जीवनचक्र सकिएपनि
बादलको आत्मा
जमिनका स-साना छिद्रहरुबाट
बिजमा समाहित भएपछि अंकुरित हुन्छ
त्यही अंकुरित बिज
ठुलो भएर फुल्छ, फक्रिन्छ
कहिले धान बनेर कहिले गहुँ बनेर
कहिले विभिन्न फलफूल र तरकारी बनेर
आफ्नो लागि भन्दा पनि
सम्पूर्ण मानवको लागि
जीवन समर्पित गरिदिन्छ
तर मान्छे
किंवदन्तीका कथाहरुभन्दा बेग्लै
अनगिन्ती सपनाहरूको भारी बोकेर
निरन्तर हिँडिरहन्छ
जुत्ता खियाएर पैतालामा धाजा फुटाएर
जोवन सिध्याएर रगत पसिना सिध्याएर
सपना पूरा हुने आशै आशमा
बादल पहाडसँग ठोकिए जस्तै
अभावका चट्टानहरुमा ठोकिन्छ
फेरि उठ्छ
भिरहरुमा, पहराहरुमा
आफू हिँड्ने गोरेटो बनाउँछ
सपनासम्म पुग्ने गोरेटो
तर मान्छेलाई थाहा हुन्न
त्यही गोरेटोले मान्छेलाई
आफ्नै चिहानसम्म पुर्याउँछ
जसरी बादल वर्षापछि खोला-नालामा मिसिएर
सागरमा समाहित हुन्छ
त्यसरी नै मान्छे
पंचतत्वबाट उत्पति भएर
पञ्चतत्वमै विलीन हुन्छ।