क्रान्तिकारी साइँलो
हिजोआज हाँसेका जुत्ता लगाउँदैन
झ्याल भएका कपडा लगाउँदैन
समयको फेर पक्रिएर फक्रिएका
साइँलाका जीवनशैली
परिवेशले उचालिएका जीवनचेतना
रंगिन बन्दै छ।
जीवनका बन्द कोठाभित्र
भित्तामा सजिएका छन्
माओ-लेलिन र मार्क्सका आदिम चित्र
र तिनै चित्रका मुनि बसेर
विचित्रसँग ऊ भन्छ- बुद्धत्वले चोला फेरिँदैन
क्रान्तिको धारबाट जीवनको संघार बदल्नुपर्छ
भेटमा सारंगी पेट बोकेकाहरूलाई सुम्सुम्याउँछ
आश्वासनका दुई/चार थान श्लोक सुनाउँछ
म तपाईंहरूकै निम्ति बदलिएको हुँ
म तपाईंहरूकै निम्ति संघर्षमा होमिएको हुँ
क्रान्तिका प्राचीन ध्वनि जप्दै ऊ
भत्किएका सडकहरूमा बदलिएको मोटर कुदाउँछ।
कसले भरिदियो साइँलाका चेतनामा क्रान्तिको ज्वाला?
कसले थमाइदियो संगिन हतियार?
भर्याङ बनेर कसले थामिदियो साइँलाका जिवनी?
प्यास मेटाउन नसक्ने साइँलो प्याला बोकेर तारे होटलमा पसेपछि
साइँलो बचाउनेहरू पेट धान्न जेट चढे
सपनाको रोटी डढेपछि भान्साबाट
निस्किए कान्छाहरू खाडीका बगरहरूमा
सुन्दैछु क्रान्तिकारी साइँलोहरू अझैँ पनि गर्जँदै छन्-
देश बदल्नेछु, परिवेश बदल्नेछु, शेष बदल्नेछु...
हातमा रातो मसी भरिएको कलम लिएर
जसले कुनै क्रान्तिको गीत लेखेन
इनकलाब-जिन्दावाद कहिल्यै बुझेन
चार पाङ्ग्रेको पछि बस्यो
जसले कहिल्यै अगाडिबाट बाटो देखेन
मदिरामा लठ्ठ भएर ऊ भन्दैछ-
म देश हाँक्नेछु।
निश्चित छ- क्रान्तिकारी साइँलाहरूका खोक्रा काँचुलीहरू
एक जुगमा एकदिन एकपटक आउने समयको हुरीले
परिणत गर्नेछन्- डाइनोसरसका अवशेषमा
जुन समय नयाँ पालुवा पलाउनेछ देशमा।