पोहोरको नयाँ वर्षलाई
अहिलेको नयाँ वर्षले पुरानो बनायो।
मैले पोहोर पनि शुभकामना दिएको थिएँ
पोहोरको शुभकामना कामै नलाग्ने भएछ।
शुभकामना दिन खोज्यो पुरानै वर्ष याद आउँछ
नयाँ वर्ष अघि आउँछ पुरानो शुभकामना त्यसै हराउँछ।
आजकल बजारमा नयाँ भन्ने चिज हेर्छु धेरै नक्कली पाउँछु
अनि झस्किन्छु नयाँ वर्ष पनि कतै नक्कली त...!
पुरानी घुक्क घुक्क रुँदै बाटो लागी।
नयाँले श्रृंगारपटार गर्दै होली
मलाई पटक्कै मन छैन पुरानीलाई बाई भन्न
तर समयलाई मान्नै पर्छ
मान्दिनँ भनेपनि उसले हामीलाई पर्खिन्न।
आउने जाने नयाँ पुरानोको यो चर्तिकला चलिरहन्छ
तिमी नचले हामी कहाँ चलिएला र!
आऊ नयाँ वर्ष आऊ, केटाकेटीलाई जवान बनाऊ
जवानलाई बुढो बनाऊ
आऊ भित्तामा झुन्डिएको क्यालेन्डर फाल्न आऊ
हामी शुभकामना दिन्छौँ
तिमी थाप्नलाई आऊ।