तिमी भन्छौ छोरा र छोरी बराबरी
तर यहाँ भने म भ्रुणमै मारिँदै छु
चार महिनाकी म, आज अचानक मलाई
केही कुराले घोचिरहेको छ
मेरा पलाउनै नपाएका हात, खुट्टा
एक एक गरेर चुँडालिँदै छन्
यो सब मसँग किन भइरहेको छ?
मात्र म छोरी भएको कारणले?
तर के छोरीको कुनै जिन्दगी हुँदैन?
बाच्ने अधिकार हुँदैन?
एउटा कालो पोलिथिनमा मेरो शरीरका पार्टपूर्जा बन्द
गरेर आज म एउटा फोहोरको हिंसा भएको छु
अस्तित्व विहीनकी म
खै मेरो अस्तित्व?
तिमी भन्छौ घर बाहिर सुरक्षित भएर बस
यहाँ भने टिकटक बनाउने निहुँमा घरभित्र नै
सानी नानीहरु यौन उत्पीडनमा परेका छन्
तिमी भन्छौ कति छाडा गीतमा बनाएको
तर यसपालि त गीत पनि कति सुहाउँदो थियो
'फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर'
तर के यस्तो बालापन हामी साँच्चीकै चाहन्छौ त?
आकार नै नलिएको वक्षमा समेत
तिम्रा ती गिद्धे नजरले हेर्न र
ती राक्षस जस्ता हातका नङ बिझाउन पछि परेनौ
अस्तित्वविहीनकी म
खै मेरो अस्तित्व?
तिमी भन्छौ मेरो छोटो कट्टुले तिम्लाई असह्य बनाउँछ
तर ती कलिला छाती र चौरी परेको आमाको छाती देख्दा
तिम्रो कुन शरीरको अंग असह्य हुन्छ?
तिमी धर्मको कुरा गर्छौ
यहाँ मन्दिरभित्र पनि म सुरक्षित हुँदिनँ
तिमी रातको कुरा गर्छौ,
यहाँ दिनमा पनि म ढुक्कसाथ हिंड्न सक्दिनँ
तिमी भन्छौ बलात्कार हुँदा केटीको सहमति हुन्छ
यहाँ म सेतो र कालोमा समेत फरक छुटाउन सक्दिनँ
अस्तित्व विहीनकी म
खै मेरो अस्तित्व?
तिमी भन्छौ महिला भएर किन पुरुष बन्न खोज्ने
तर न म पुरुष बन्न खोजेको हुँ
न मलाई महिला भएकोमा कुनै दु:ख नै छ
म त केबल एउटा महिला हुँ र महिला नै बन्न चाहन्छु
अझ सुनमाथि सुगन्ध त केछ भने
म महिलालाई नै मन पराउँछु,
उनीलाई नै जीवनसाथी बनाउन चाहन्छु
तर यहाँ फेरि मेरो चरित्र, मेरो पालनपोषन
र मेरो पूरा जीवनको व्याख्या हुन्छ,
अनगिन्ती लान्छना लगाइन्छ
अस्तित्व विहीनकी म
खै मेरो अस्तित्व?
तिमी भन्छौ माया नै संसार हो र म नै तिम्रो माया हो
तर जब मलाई तिम्रो संसार बन्नु नै छैन भने
तिमी किन कर गर्छौ? किन मेरो पछि पर्छौ?
तिमी भन्छौ मेरोलाई सारा संसारको बत्ती बलाइदिन्छौ
तर मेरो एक 'नाई' शब्दले
तिम्ले मेरो पूरा शरीर र अनुहार जलाइदिन्छौ
तर तिम्ले केबल मेरो शरीरको छाला जलाएका छौ
मेरो सपना र मेरो संसार अझै पनि त्यस्तै
झलमल्ल बलिरहेको छ, चलिरहेको छ
अस्तित्वविहीनकी म
खै मेरो अस्तित्व?
तिमी भन्छौ विवाह दुई आत्माको मिलन हो, दुई परिवारको मिलन हो
यसमा केबल माया, प्रेम र सद्भावको लेखा जोखा हुन्छ
तर यहाँ जेठानी र देउरानीमा कस्को घाँटीको हार बढी चम्केको छ,
कस्को कोठाको दराज ठुलो छ भन्ने लेखाजोखा हुन्छ
र बिडम्बनाको कुरा, केही गरी म कम परेँ भने
मलाई तिम्रा ती तिता वचनले घोच्छ,
तिम्रो त्यो खुम्चेको निदारको रेखीले घोच्छ,
सासुको त्यो हाँसो भित्र लुकेको रिसले पोल्छ
अस्तित्वविहीनकी म
खै मेरो अस्तित्व?
तिमी भन्छौ तिमी त एउटा चित्रकार हौ
तर फरक के छ भने
कलमको साटो तिमी लठ्ठी प्रयोग गर्छौ र
खाली पाना तिम्ले मेरो शरीर देख्छौ
र देखाउँछौ तिम्रो चित्रकला मेरो शरीरभरि
अनेकौ चित्र छ मेरो शरीरमा जस्मा तिम्ले
केबल निलो र रातो रङ पोतेको छौ
अस्तित्वविहीनकी म
खै मेरो अस्तित्व?
तिमी भन्छौ तिम्लाई मैले माया र
विश्वास गर्छु भन्ने के सबुत छ?
र सबुतको लागि तिम्ले मेरो नग्न तस्बिर मागेऊ
विश्वास थियो र त दिएँ मैले पनि
तर भोलिपल्ट त्यो एउटा फोटो
सामाजिक संजालभरि छरपस्ट थियो
मान्छेहरु उफ्री-उफ्री मेरो चरित्रको व्याख्या गर्दै थिए
म भने केबल निरीह, वेवश र लाचार थिएँ
अस्तित्वविहीनकी म
खै मेरो अस्तित्व?
तिमी भन्छौ तिम्रो हरेक प्यास मेटाउने मेरो जिम्मेवारी हो
चाए त्यो पेटको भोक होस् या शरीरको भोक
तिमी भन्छौ तिम्रो अर्धांगिनी हुनुको अर्थ
तिम्ले मलाई जहाँ, जैले, जसरी पनि छुन सक्छौ
तर जब मेरो शरीरको एक सर्को कपडा माथि सर्न
मैले मेरो शरीरको इजाजत लिनु पर्छ भने
तिम्ले कसरी सक्छौ
जहाँ जहाँ तिम्रा हातलाई निम्तो थिएन
त्यहाँ त्यहाँ तिम्ले तिम्रो हात लागेका छौ
अस्तित्व विहीनकी म
खै मेरो अस्तित्व?
तिमी भन्छौ महिलालाई यस्तो गर्नु हुँदैन
महिलालाई त्यस्तो गर्नु हुँदैन तर
महिलालाई कस्तो गर्नु पर्छ पनि त भन्दैनौ, आखिर किन?
मार्नु नै छ भने पितृसत्तालाई मारौँ,
भ्रुणमा रहेको छोरीलाई हैन
यौन उत्पीडनमा पार्ने हैन, परेकालाई सहयोग गरौँ
बलात्कार व्यक्तिलाई हैन
त्यस्तो सानो मानसिकता र सोचलाई गरौँ
व्याख्या गर्नु नै छ भने समाजमा रहेको कुरीतिको गरौँ
कस्ले, कस्लाई, किन र कसरी मन पराउँछ भन्ने हैन
किनकि आखिर माया त माया हो
जलाउनै छ भने तिमीभित्रको अहंकारलाई जलाऊ
मेरो अनुहार या शरीरलाई हैन
दाइजो नै चाहिन्छ भने व्यवहार र अत्मियता मागौँ
सुन, चाँदी र सम्पत्ति हैन
लाठी प्रयोग नै गर्नु छ भने
देशको सुरक्षाको लागि गरौँ,
कसैलाई पिट्नको लागि हैन
मायाको सबुत नै मग्न छ भने
अप्ठ्यारो पर्दा साथ र खुसी हुँदा
विश्वास माग, नग्न तस्बिर हैन
छुन नै छ भने मेरो आत्मालाई छोऊ,
विश्वासलाई छोऊ
मैले नाइ भन्दा भन्दै मेरो शरीरलाई हैन।
यो सब भोगाइ मैले
यो कोरोना महामारीको बेला
दिन दुई गुना रात चार गुना हुँदै गएको
देखेकी र भोगेकी छु
यो कबितामा भनिएको म तिमी हुँ,
म उनी हुँ,
म यो सरकार हुँ,
म ती सबै हुँ जस्ले यो कबितामा आफू देख्नु हुन्छ
हो म, म हुँ
अस्तित्व विहीनकी म
खै मेरो अस्तित्व?