लठ्ठिएर आँखा रातो पार्दै
प्राण जति ओठमा ल्याएर साधु
केही समय दुनियाँ बिर्सन्छ
भगवान पनि बिर्सियो।
क्षण क्षणमा बौरिएर
जीवनको प्रत्येक पलदेखि
काँपेर जय शम्भो जय जय शम्भो
निर्जन जंगलमा एक्लै हिँड्दा
अनकन्टारमय कहालीलाग्दो यात्रामा
धुवैँधुवाँ भरिएर शिशिरको डढेलो खेल्छ
कहाँ के हो?
छुट्याउन नपाउँदा पनि
फुर्र फुर्र धँवा उडाउँछ
क्षितिजमा धवाँ मिसिन नपाउँदै
एकछिन टक्क अडिन्छ
आकार लिन नपाउँदै फेरि अर्को
धुवाँको गोलो मुस्लोले
प्रतिस्थापन गर्छ
जसमा ऊ देख्छ
मानवताविहीन शून्यता खसिरहेको
जहाँ शान्तिका लागि भट्किनु नै नपर्ने
केवल आफ्नै अगाडिको शून्य आकाशले
आफैलाई चिथोरिरहने।