शासक ओ शासक,
तिमीलाई कसले दियो अधिकार?
कहाँबाट आयो यस्तो नैतिकता?
तिमी त शासन हैन, सेवा गर्न आएका हैनौ र?
सेवा गर्ने कमस खाएका थियौ हैन र?
सरकारी गाडीमा सरकारी सुविधा लिएर
कसले दियो तिमीलाई जनतालाई दमन गर्ने अधिकार?
सुकिलो मुकिलो तिमी हौला तर
कसले दियो फाटेको लुगाधारीलाई घृणा गर्ने अधिकार?
तिमी त जागिर भएपछि जहाँपनि जान तयार
आज किन भयो तिमीलाई घरप्रति अति प्यार?
शासक ओ शासक
आदर्श र व्यवहारमा फरक हुँदो रहेछ हैन त?
तर किन झुटको आदर्शमा अझै बाँच्ने आटँ?
जाडोमा हिटर ताप्दै तातो चिया पिउँदै गर्दा
तिम्रो सोच किन आएन सेवाग्राहीको?
जो पिउने पानीको समस्या लिएर
तिम्रो झ्याल अघि चिसोमा घण्टौँ लाइन बसेको!
सरकारी सुविधा लिएर व्यक्तिगत लाभ लिँदै गर्दा
किन काम गरेन तिम्रो नैतिकताले?
शासक ओ शासक
तिमी त शासन हैन सेवा गर्छु भन्थ्यौ
आज कहाँबाट कहाँ पुग्यौ!
लोकसेवा तयारी गर्दै गर्दाको तिमी
र आजको तिमी
सपथ खाँदै गर्दाको तिमी
र घुस खाँदै गर्दाको तिमी!
देशको मुहार फेर्छु भन्थ्यौ
एक पटक ऐनामा तिम्रो मुहार फर्काऊ त
हिजो चप्पल लगाएर फर्म जाने तिमी र
आज सेवा लिन आउनेलाई लाठी चार्ज गर्ने तिमी!
शासक ओ शासक
हिजो साङ्लो देख्दा डराउने तिमी
आजमा मुटु लिएर हिँड्न कसरी सकेऊ?
न्याय माग्न आउनेलाई बन्दुक दिन कसरी सकेऊ?
शासक ओ शासक
तिम्रो कोठा र बाघको ओडारमा के फरक भयो र
मान्छे आउनै डराउने भएपछि
न्याय माग्न आउँदा झम्टिन थालेपछि
सेवाग्राहीलाई दलाल भेट्न सिकाउन थालेपछि।