आहा! मौसम उघ्रियो, बदलियो नौलो ऋतु मंगल
नौला पात भए र रूख बिरुवा रंगिन भो जंगल
विद्यार्थी पनि उक्लिए मनदशा उल्लास प्रोत्साहन
खेती स्यारी किसान दंग छ, नयाँ कृषि फसल आँगन
सुख्खा मौसम चैतको सब गयो, वैशाख नौलो भर्यो
तारा, सूर्य र चन्द्रको स्थिति दिशा, नक्षत्र पैलो सर्यो
लाग्दा पात नयाँ सबैतिर आहा! पन्छी बने फुर्फुर
पार्छन् फुल चरा, जनावर पनि बच्चा प्रसवका कुरा
केही लक्ष्य बनाई हिँड्नु सुरूमा पात्रो नयाँ फेरिए
गर्दै स्वागत कर्मचारी गुरु नै पोशाक नौला लिए
जुन क्यालेन्डरले गरेर गणना दिन रात पञ्चांगको
खुट्टाई ऋतु ग्रह, ग्रहण लगन् नक्षत्र, शुभ लाभको
जाडो छैन, न आङ कम्बल सिरक आगो हटाई पर
आँखा स्वच्छ छ गर्मी आगमनको चाखी मह सख्खर
बारी-खेतभरि नयाँ फसलको पाइन्छ भोग्नै जब
को भन्ला 'नव वर्ष होइन' भनी 'वैशाख लाग्यो अब!'
बोकी ल्याउँछ जोश-जाँगर नयाँ हाम्रो नयाँ वर्ष हो
थप्दै आंशिक प्रकृति बदलियो राम्रो रम्यो हर्ष यो
आउँदा दिन शुभ बन्नु हर तरहले हे देव शम्भो नम!
इच्छा प्राप्ति हवस् मनोरथ पूरा सबमा छ शुभकामना।