सकारात्मक सोच सहितको बनोस् २०७८
सबैको दिन आओस्,
सबैको मनमा शान्ति छाओस्
मुलुकभरि नै 'म' होइन 'हामी' को भावना आओस्,
कोरोनाबाट ग्रसित मनहरुले मल्हमपट्टी पाओस्
कोहीमाथि, कोही जाई नलागी,
सबैले आफ्नो गरिखाओस्
छुटिएका जुटुन्, हराएका भेटिउन्,
गुमाएकालाई संघर्ष गर्ने साहस आओस्
सफल भएकालाई, शक्तिमा बस्ने मौका पाएकालाई,
दुई/चार भएपनि कल्याणकारी काम गर्नुपर्छ भन्ने लाओस्
जीवनका हरेक दिन रंगिन हुँदैनन्
आज अरुको ब्ल्याक एण्ड ह्वाइट हुँदा,
नआतिएर भोलि अरु रंगहरु आउन सक्छन् भनि,
संघर्षको नयाँ तरिका सोच्न सक्ने आत्मबल बनाओस्
आउने नयाँ वर्षले दिगो विकासको बाटो पहिल्याओस्।
गएका वर्षमा विपदका नयाँ नयाँ रुप देखिसकेपछि,
विकासका नाममा विनाश नछाओस्
डढेलो लागेका हरेक वन-जंगलमा पुन: पालुवा पलाओस्
कतिका घर उजाडिए, कति मरे, तथापि
बाँच्ने जतिले आफ्नो प्रजाति बढाओस्,
मनुष्य त धेरै हिसाबमा स्वार्थी नै छ,
त्यसैले फेरि स्वार्थी भएर भन्दैछु,
सबैको दिन आओस्
अब पालुवा पलाउने ती वन-जंगलमा
फेरि चरीले उसैगरी गीत गाओस्।