जल्दै गरेको मेरो लाससँगै
मेटिँदै गरेको भौतिक अस्तित्व
नजिकै रुँदै गरेको परिवार
अनि मिठो ठुलो सपनाको अन्त्य।
अचम्म लाग्दै छ अरुभन्दा पनि मेरो बुवालाई देख्दा
जो हिजो ममाथि कराउनु हुन्थो, आज मेरा लागि रुँदै गरेको देख्दा
प्रश्न अझै नि छ तर उत्तर बिहीन छु म
के बुबाले माया गर्नुहुन्थ्यो त मलाई?
माया गर्नु हुन्थ्यो भने त्यो पिटाइ अनि कराउनु हुन्थ्यो किन?
अनि माया थिएन भने त्यो आँसु केका लागि?
म त अब मृत लास पो, कहाँ सक्छु अब प्रश्न गर्न हजुरलाई
मेरो चिता नेर आएर सुन्नेगरी उत्तर दिनुहोस् न बुवा!
मलाई मन पर्ने सबै किन्न सक्ने हजुर
दशैँ आउँदा पनि किन त्यो पुरानो कोट बदल्न सक्नु भएन?
बुवा कन्जुस्याइँ गर्छन् भन्ने यो छोरालाई
किन हजुरको संघर्ष बुझाउन सक्नु भएन?
नयाँ कपडामा आफूलाई हिरो सम्झने मलाई
हजुर यथार्थ जीवनको नायक हो भन्ने किन आभाष भएन?
घर अबेर आउँदा, सुतिसकेको मलाई
बिउझाउँदै किन हजुरको संघर्षको अवगत गराउनु भएन?
म त सधैँ आमाको मात्र बयान गर्ने, स्वार्थी
हजुरलाई किन बुझ्न सकेन उत्तर दिनुहोस् न बुवा
कामपछिको त्यो थकान नबुझेर म हजुरको वरिपरि खेल्दै गर्दा
खुब रमाउँदै पिठ्युँमा बोकी घोडा बन्नु हुन्थ्यो है बुवा?
हरेक कवितामा आमाकै मात्र बयान भएर होकि
हजुरको योगदानबाट सधैँ बेखबर भएँ म
खाँदै गरेको त्यो आमाले पकाएको अन्नसँगै
हजुरको परिश्रम पो पचाइरहेको रहेछु म
घरमा बाइक नकिनिदिँदा, साथीको पनि छ भन्दै लड्ने म
आज हजुरबाट धेरै टाढाको यात्रामा निस्किएँ म बुवा
हजुरको हेरविचारमाथि स्वतन्त्रताको प्रश्न उठाउँदै निस्किएको म,
आज आफ्नै उपस्थिति गुमाउन पुगेँ हजुरको सुझाव नमान्दा बुवा।
न रुनु होस् बुवा अब, केही फाइदा छैन
बरु मेरो अगाडि झै उहीँ पुरानो कठोर हिटलर बन्नुहोस्
हजुरको त्यो बलिदानप्रति कुनै लेख नलेखिएला बुवा
तर कोहि पनि म झैँ बुवा पनि महान् हुनुहुन्थ्यो भन्दै बेखबर नहोस्र।