टिफिन टाइमको घन्टी बजे लगत्तै बुनु र उसकी साथी कक्षाबाट बाहिर निस्कन्छन्।
बुनु भर्खर ६ वर्ष पूरा भएर ७ वर्षमा पाइला टेकेकी छे। कालीमाटीको एउटा बोर्डिङ स्कुलमा कक्षा १ मा पढ्दै छे।
प्रायः सो केटाकेटी घरबाट ल्याइएको आ-आफ्नो खाजा कोही क्लासरुममै बसी खाँदै थिए भने कोही स्कुलको बगैँचामा बसेर खान कक्षाबाट बाहिर निस्किएका थिए।
बुनु र उसकी साथी क्लास बाहिर अलि हुलमुल नभएको बगैँचाको एउटा कुनामा बसी खाजा खान थाले। बुनुको खाजा फुक्को चाउचाउ एक प्याकेट थियो अनि उसको साथीको घरमा बनाएको अण्डा र पाउरोटीको टोष्ट। दुवैले बाँडेर खान्थे प्रायःजसो।
यतिकैमा बुनुकी साथी अन्जनाले भनिन्, 'बुनु, हामी त अस्ति शनिबार कोठा सरेर नयाँ ठाउँमा बस्न गाको नि।
बुनु तिमीले भनेको थियौ नि तिम्रो ममी एकदम राम्री हुनु हुन्छ रे भनेर, हामी नयाँ कोठा सरेर गाको ठाउँमा सँगैको घरमा तिमीले भनेजस्तै एकजना राम्री आन्टी बस्नु हुँदो र छ।'
अन्जनाको कुरा सुनेर बुनुको आँखा चम्किलो भएर आयो अनि कान टाठा। कता कता डर पनि लाग्यो बुनुलाई। अनि सोधीआँखा चौडा पार्दै, 'होर! मैले भनेको मेरो ममी जस्तै हुनु हुन्छ हो त्यो आन्टी?'
'हो बुनु, सेम तिमीले भनेको जस्तै राम्री, फिलिमको हिरोनी जस्तै नै देखिनु हुन्छ। साँच्ची हो के कसम!'
अन्जनाको कुराले बुनुलाई छटपट हुन थाल्यो। उसको हजुरआमाको वर्णनको आधारमा बाल मनस्थितिले गरेको परिकल्पना अनुसार उसको ममी भेटी उसको साथी अन्जनाले। सानो मान्छेको सानो दिमागमा के-के कुरा खेल्न थाल्यो अनि मन पनि भयो तुलबुल।
बुनु सानो छँदा नै, लगभग साँढे तीन वर्षको उमेरमा नै आमाबाट टाढिएकी थिई। उसलाई थाहा छैन उसकी ममी कहाँ छिन्, कता छिन्? परिवारमा पनि कसैले केही भनेका छैनन्। उसको अड्कलमा जसरी साना-साना केटाकेटीहरु हराउँछन्, त्यसरी नै उसको ममी हराउनु भएको छ। कि बाबासँग रिसाएर टाढा जानु भएको छ।
आफन्तहरुको कुराकानी अनुसार र विशेषगरी उसकी हजुरआमाले गर्नु भएको उसको ममीको रुपको बयानको आधारमा उसले अन्जनालाई परिकल्पना गरी उसको ममीको बारेमा भनेकी थिई।
उसको कलिलो दिमागमा उसको ममी उसको हजुरआमाले भने झैँ गोरी, अग्ली, लामो कपाल भएको एकादेशकी राम्री रानी जस्ती छिन्। हो यही कुरा उसको दिमागमा गडिएर बसेको थियो।
बुनु अहिले आफ्नो बाबासँग बस्थी। उसको बाबाको माया र रेखदेखमा पनि केही कमि त थिएन तर हर सम्बन्धको महत्व आ-आफ्नो स्थानमा हँदो रहेछ। उसको बाबाको मायाले उसको आमाको मातृत्वको खाडल पुर्न सकेन।
आफू वरिपरिका ऊसँगैका साथीहरु आमाको काखमा लाडिएको, माडिएको, आमासँग घुर्की लगाएको देख्दा उसलाई पनि ती सब कृयाकलापमा सामेल हुन रहर लाग्थ्यो। उसलाई पनि घरमा बनाएको खाजा टिफिन बक्समा हालेर स्कुल लान मन लाग्थ्यो।
हुन त बाबाले पनि यी सब कुराहरु बुनुलाई नगर्ने नै हैन तर उसको मनको भित्री कुनामा कता-कता आमाको अभाव खड्किएको थियो।
परिवारका कुनै पनि सदस्यसँग आमाको कुरा भने पटक्कै निकाल्दिन थिई। तर उसको हजुरआमा गाउँबाट सहर आउनु भएको बेला सधैँ सोध्ने गर्थी। 'हजुरआमा मेरो ममी कस्ती हुनुहन्थ्यो रे भन्नु न?'
उसको हजुरआमा यति जाती हुनु हुन्थ्यो कि कहिले पनि उसको ममीको नराम्रो कुरा भन्नु भएन। तर बुनुमा त्यो आँट कहिले आएन 'मेरो ममी कहाँ जानु भाको छ? र किन?' भनेर सोध्ने।
हजुरआमा बेलाबेलामा सहर आउनु हुन्थ्यो। कहिले काहीँ आउने क्रम अलि ढिला भए बुनुलाई छटपट हुन्थ्यो। ममीको बखान सुन्न नपाएर न्यास्रो लाग्थ्यो बुनुलाई।
उसको स्कुलको साथी अन्जनालाई उसको हजुरआमाले बताए अनुसारको आफ्नो ममीको परिकल्पनात्मक प्रतिबिम्बको वर्णन गर्ने गरेकी थिई। त्यही भएर अन्जनाले उसको नयाँ छिमेकी आन्टीको कुरा बुनुलाई भनेकी थई।
अन्जनाको कुराले अब बुनुलाई पढ्न मन लागेन, मनमा एक किसिमको तिर्खा उम्रेर आयो। त्यो राम्री आन्टीलाई भेट्ने ब्यग्रता बढेर आयो।
र भनि, 'अन्जना, म तिमीसँगै जान्छु है आज स्कुल छुट्टी भएपछि त्यो आन्टीलाई हेर्न।'
अन्जनाले खुसी हुँदै मुन्टो हल्लाई।
अब टिफिन टाइमपछिको एक-एक घण्टी बुनुको लागि कटाउन एकदम मुस्किल हुन थाल्यो। पछिल्लो पिरियडमा त ब्यागबाट किताब नै ननिकाली बसी। ऊ एकदम हतारमा थिई त्यो राम्री आन्टलिाई देख्न अनि भेट्न।
ऊ अन्जनासँग कानेखुसी गर्न थाली, 'छिटो छिटो किताब ब्यागमा हालिराख न, छुट्टी हुने वित्तिकै हामी गैहाल्नु पर्छ।'
स्कुल छुट्टी भयो, दुवै हतार हतारमा गेटमा पुगे। अन्जनाको ममी त अघि लिन आउनु भइसककेको रहेछ। बुनुको त प्रायः ढिलै हुन्थ्यो घरबाट लिन आउने। स्कुल छुट्टी ३ बजे हुन्थ्यो, बुनुको काकी प्रायः ४ बजे आउनु हुन्थ्यो।
जागिर त थिएन उहाँको तर कहिले काहीँ ५ पनि बज्थ्यो। त्यो ३ देखि ४ बजेसम्म बुनु स्कुलमा एक्लै भौतारिने गर्थी त कहिले काहीँ स्कुलको आया दिदीले घरको बाटोसम्म पुर्याइदिनु हुन्थ्यो।
बुनुको बाबा अफिस जानु हुन्थ्यो। बुनुलाई स्कुल पुर्याएर ल्याउने दिनभरिको जिम्मा काकीलाई दिनु भएको थियो।
बुनु अन्जना र उसको ममीको पछि लागि। अन्जनाको ममीले बुनुलाई 'घरमा भनेकी छौँ साथीको घर जान्छु भनि?' भनेर सोध्दा दुवैले मुन्टो हल्लाएर 'छ' भनी मौन उत्तर दिए।
अन्जनाको नयाँ कोठा सोल्टीमोडबाट थोरै भित्री बाटोमा रहेछ। दुवै कोठामा पुगे र अन्जनाको ममी खाजा बनाउन भान्छा कोठा तिर लाग्नु भयो। बुनु र अन्जना पल्लो घरको झ्यालमा एकटक लगाएर हेरी बसे कि त्यो राम्री आन्टी आउनु हुन्छ अनि बोलाउनु पर्छ भनेर।
बुनुको मनमा भने एक किसिमको डरले अत्याएको पनि थियो कि उसको आमाले उसलाई चिन्नु हुन्न कि भन्ने। डरसँगै मनमनै कुरा गुथ्दै थिई- ममीले चिन्नु भएन भने नि फेरि! उम् म मैले बरु चिन्दिन होला, उहाँले त चिनिहाल्नु हुन्छ नि आफ्नो छोरीलाई। म पनि यत्तिकै डराउँछु।
अन्जनाको ममी चिया र पाउरोटी लिएर कोठा भित्र छिर्नु भयो र बुनुको मनको वादविवादमा पूर्णबिराम लाग्यो केही क्षणलाई।
मनमा अनेक कुराहरु खेलाउँदै पल्लो घरको झ्यालमा हेरिबसी करिब साँझको ७ बजेसम्म। निराश हुँदै भनी 'अन्जना, खै त देखिएन त त्यो राम्री आन्टी?'
अन्जना पनि दिक्क थिई पल्लो घरको बार्दलीमा आन्टी नदेखिएर।
हिजोअस्ति त देखिनु हन्थ्यो, आज बाहिर जानु भयो कि। मैले त तिमीले भने जस्तै देखेर त तिमीलाई भनेको नि, तिम्रै ममी जस्तै लाग्यो मलाई पनि।
बुनुले यसो आकाश तिर नियाली। अब त ताराहरु पनि देखिन थालेछन् आकाशमा तर आन्टी आउनु भएन। म जान्छु ल अब घरमा, गाली गर्छन् मलाई ढिला भैसक्यो।
मन गह्रुंगो बनाई, झोला भिरी अनि निस्की त्यहाँबाट। अन्जनाको ममीले तरकारी पनि किन्न जाने अनि बुनुलाई पनि पुर्याइदिनु हुने भयो। बीच बाटोमा पुगेपछि बुनुले भनी 'आन्टी म आफै जान सक्छु, अब हजुरहरु फर्किंदा हुन्छ।'
'साँच्चै हो, जान सक्छौ त?'
'सक्छु आन्टी' भन्दै बाई गरी घर तिर अघि बढी।
बाटोमा अनेक कुरा मनमा खेले। ममी-बाबा त भगवान जस्तै हुन् रे भनेर मिसले भन्नु हुन्थ्यो। छोराछोरीको सबै कुरा थाहा पाउछन् भन्छन्। म अन्जनाको घरमा भेट्न आउछु भन्ने थाहा पाउनु भयो होला अनि आउनु भएन। होस् अब जान्न। मन रैनछ मलाई भेट्न।
मनमा कुरा खेलाउँदै हिँड्दा कतिखेर घरको दैलो सामुन्ने पुगी पत्तो नै भएन उसलाई। सानी बैनी रैछे घरमा काकाकी छोरी। देख्ने वित्तिकै बोल्न थाली, 'कता गाको दिदी तँ! अब मार्छन् तलाई, सबै जना खोज्न जानु भाको छ।'
खोज्न गएका एक-एक गरी घर फर्के, सबले बुनुलाई देख्ने वित्तिकै गाली गर्न थाले।
'कता गएको? स्कुल छुट्टी भएपछि लिन नआएसम्म स्कुलमै बस्नु भनेको हैन!' काकी कराउन थाल्नु भयो।
'मलाई गाल पार्न यस्तो गरेकी होली। सानी भएर के गर्नू! कम्ताको गाल पारुवा छे यो।'
बुनु केही बोलिन। निशब्द थिई ऊ, एकछिनमा बुनुको बाबा आइपुग्नु भयो। देख्ने बित्तिकै कता गएको स्कुल छोडेर भनि हप्काउनु भयो।
बुनुले अब भने बर्रर आँसु झार्दै भनि एक्लै घर आउन लाको बाटो नै बिर्सिएछु।
बाबाले छातीमा टाँसेर भन्नु भयो, 'आइन्दा त्यस्तो नगर्नू है, एक्लै ननिस्किनु है।'
बुनुले मुन्टो हल्लाउँदै हस् भनी।
बाबालाई तनाब र आत्तिएको देखेर आत्मग्लानी भयो, मन दुख्यो साह्रै नै र मनमनै अबदेखि यस्तो गर्दिनँ भनी वाचा गरी आफैसँग।
आमा खोज्न नहिँडे पनि आमाको बारेमा सोच्ने क्रम रोकिएको थिएन। ममीको काखमा बस्न पाए कस्तो होला! ममीले भए चिटिक्क कपाल बाटेर स्कुल पठाइदिनु हुन्थ्यो होला। अन्जनाको ममीले जस्तै स्कुल छुट्टी हुनुभन्दा अगाडि नै गेटमा मलाई लिन कुरेर बस्नु हुन्थ्यो होला।
साना-साना कुराहरु सानो बाल मनस्थितिमा नाचिरहन्थ्यो यसरी नै।
बाटो हिँड्दा राम्री, कपाल लामो भएकी कोही महिला देखी भने पर पुगुन्जेल नियालेर हेर्थी र सोच्थी 'मेरी ममी यस्तै हुनु हुन्थ्यो होला।'
ममी खोज्ने कुरालाई अब त्यस दिनको घटनादेखि थाती राखी र अब उसलाई ममी भेटिन्छ भन्ने आशा पनि लगभग मरिसकेको थियो।
त्यसैले आजकाल बुनुले आफ्नो ममीको स्थान टालाटुलीले बनाएको एउटा सानो पुतलीलाई दिएकी छे। लुगा सिलाउने टेलरमा गई काटिएर फालिएका कपडाहरु बटुलेर पुतली बनाएकी छे।
काकीआमाले बुन्ने स्वीटरको उनलाई सियोमा हालेर पुतलीको टाउकोमा कपाल हाली दिएकी छे। अरुले देख्दा ठिकै लाग्ने टालाटुलीको पुतली उसलाई निकै सुन्दर लाग्छ। हजुरआमाले वर्णन गरेको उसको ममीको रुप जस्तै।
'हजुरआमा सहर कहिले आउनु हुन्छ बाबा?' भन्ने प्रश्न खासै गर्दिन आजकाल।
स्कुल जाँदा ब्यागको भित्री भागमा राखेर लान्छे पुतली। आजकाल ममीको कुरा गर्न छाडेकी छे अन्जनासँग पनि। स्कुल जानु अघि पुतलीलाई ब्यागबाट झिकेर हेर्दै मुस्कुराउँछे, म्वाई खान्छे अनि ब्याग मै लुकाउँछे।
घरमा होमवर्क गर्दा नि यसो ब्याग तिर बेलाबेला हात छिराउँछे, पुतलीलाई स्पर्श गर्छे। स्पर्श गर्दा पनि न्यानोपनको आभास हुन्छ बुनुलाई। ढुक्क हुन्छ मन, साथ छिन् आमा जस्तो महशुस गर्छे।
बुनुकी ममीको स्थान अब पाएको छ उसको 'टालाटुलीको पुतली'ले।