असारको पहिलो हप्ता थियो। बिर्खे र उसका साथीहरु पाँच हल गोरु लिएर गोठाला हिँड्न लागे। आकाश अलिकति धमिलो थियो, धुम्म थियो।
पाँच हल गोरु चराउन जाने गोठाले तीन जना थिए। गोरु निकाल्ने बेलामा बिर्खेले पल्ला घरे गोठाले साथी अम्मरे अनि गोकुलेलाई कराउँदै भन्यो, 'घूम बोकेस् है मेरा साथीहरू, आकाश धुम्म गर्दैछ। पल्लो गाउँमा पनि पर्दैछ भन्ने हल्ला थियो ए अम्मरे... गोकुले...।'
आफूले आफूलाई सर्वश्व ठान्ने गोकुलेले बिर्खेको कुरा खासै वास्ता गरेन।
अम्मरेले एउटा घूम काखीमा चेप्यो अनि बिर्खेले एउटा छाता।
'ह.. ह... ह... तारे... माले... कस्तो गोरु रहेछ हौ, हिँड्नै मान्दैन' यसो भन्दै गोकुलेले एउटा गोरुको ढाडमा बेस्सरी हान्यो बाँसको लौरोले।
गोरु साह्रै नमजाले करायो 'बाँ...' गर्दै।
'कस्तो असत्ती मोरो रहेछ यो गोकुले। किन पिटेको गोरुलाई त्यसरी?' बीर्खेले करायो।
'मेरो गोरु! जेसुकै गरौं म। जहिले नटेरेको छ, यस्ता गोरुलाई नपिटेर के पूजा गरेर राखौँ त?' गोकुलेले चर्को स्वरमा भन्यो।
'हो! यस्तै निर्मम तरिकाले गोरुलाई पिट्छस्, त्यसैले जोत्ने बेला गोरु बस्छ। कहिलेकाहीं त यसो माया गरेर पनि हेर न हौ गोरुलाई' बिर्खे बोल्यो।
पल्लो गाउँमा भएको अन्धकार अब गोठालो हिँडेका तीन भाइको पछि लाग्न थाल्यो। मिलिक्क बिजुली चम्कियो।
'धन्न बेलैमा बुद्धि पुर्याएर घूम ल्याइएछ' बिर्खेले ढुक्क मान्दै भन्यो।
'केटा हो! तिमीहरूले नि ल्यायौ नि घूम, छाता?' बिर्खेले सोध्यो।
'अँ मैले त ल्याएँ' अम्मरे बोल्यो।
आकाशको झैं कालो मुख लगाउँदै गोकुलेले भने 'मैले त ल्याइनँ' भन्दै निहुँरियो।
'किन नल्याको नि?' बिर्खेले सोध्यो।
'पल्लो गाउँमा त पानी परेको हो नि भन्ने लागेर' गोकुलेले भन्यो।
'ए गोकुले, थाहा छ तँ पढेलेखेको छस् हामीभन्दा। तर कतिपय यस्ता कुरा हुन्छन् जो पढाइले हैन, अनुभवले आँकलन गर्न पर्छ। हेर् त अब पानी पर्नै लाग्यो। के गर्छस् अब?' अम्मरेले भन्यो।
भिज्नुको सिवाय के विकल्प छ र भन्दै गोकुलेले पश्चाताप गर्यो।
एकैछिनमा मुसलधारे पानी पर्यो। पर्सीको दिन रोपाइँ राखेको गोकुले त्यो दिन पानीमा नमजाले रुझ्यो।
त्यही बेला त खासै केही भएन गोकुलेलाई, तर भोलिपल्ट भने ज्वरोले ओछ्यान नै छाड्न नमिल्ने गरी सुतायो। भोलिपल्टको रोपाइँ पनि त्यो दिनको सानो लापरबाहीले गर्दा रोकियो।
गोरु पनि रुझेकाले खेत पस्न मान्ने अवस्था थिएन। उसको परिवार पनि उसको त्यो दुर्दशा देखेर निकै चिन्तित थिए।
त्यो दिनदेखि अब ऊ जहिले आकाश अलिकति धुम्म भयो वा अरु कतै पानी पर्यो भन्ने खबर सुन्ने बित्तिकै यहाँ पनि पानी पार्न सक्छ भन्ने आँकलन गरेर थपक्क छाता बोकिहाल्छ, पूर्वतयारी स्वरुप अनि आफूलाई त्यो वर्षाबाट सुरक्षित राख्दछ।