आफ्नै गर्भमा नौ महिना राखी प्रशव पीडा खपेर जन्माएको शिशुको भविष्य जन्म दिने आमालाई समेत पत्तो हुँदैन। एउटा शरीर मात्र दिन सक्दा आमाले भविष्य हेर्न सक्दिनन्, विचार दिन सक्दिनन्।
आफैले जन्म दिएको शरीरको चिनो कोर्न समेत कोही अरु गुहार्नु पर्छ। फर्केर हेर्दा, प्रकृतिले सबैकुरा दिएर पनि केही नदिएझैँ लाग्छ। सम्बन्धहरु पनि यस्तै हुँदा रहेछन्, अनिश्चित हुने रहेछन्।
हरेक चिज चल्ने प्रक्रिया हुन्छ्न्, विज्ञान हुन्छन्। काश, मायाको पनि विज्ञान हुन्थ्यो! तर मेरा लागि विज्ञान र माया सधैँ विपरीत हुन गए। विज्ञानमा साध्य र नियम हुन्छ तर मायाका नियम भनि साध्य छैनन्।
आफ्ना भोगाइ अनुसारका सार बन्छन् मायामा। हलुका चिज तैरिनुपर्ने हो विज्ञानअनुसार तर मैले मायालाई हलुका लिँदालिँदै म चुर्लुम्मै डुबेँ। अनि इस्केप भेलोसिटी कहाँ हुँदो रैछ त यहाँ, नभए मैले उनका यादलाई यति वेगले उडाउँदा फेरि फर्केर किन आउँछन् मैतिर?
जन्म लिएको दुई दशकपछि भेट भएको मानिस किन जन्म दिनेभन्दा पनि प्रिय लाग्छ, म बुझ्दिनँ। सायद प्रेम यसैले पनि खास छ। अनि खास थिई ऊ, मेरी हुन नसकेकी ऊ।
खोलो बाङ्गो हुन्छ, पानी हुँदैन, सडक घुमाउरो हुन्छ, गन्तव्य हुँदैन। सुभद्राका लागि मरिमेट्ने अर्जुनले द्रौपदीलाई पाँच पाण्डव लागि साझा पत्नीका रुपमा उभाएर आमा कुन्तीका वाचा राख्न विवश हुनुपर्यो। कहिले काहीँ कसैका लागि कतिपय 'शब्द' राख्नकै निम्ति, निशब्द भएर आफ्नै विरुद्ध कदम चाल्न विवश हुनुपर्दो रहेछ।
बाढी खोलामै आउँछ, डढेलो जंगलमै लाग्छ, मृत्यु जीवनमै हुन्छ र प्रेम आकर्षणमै हुन्छ।
साथिभाइ सोध्ने गर्छन् कि त्यस्तो के छ उनीमा जो तिमी मरिहत्ते गरिरहन्छौ?
जसलाई प्रेम गर्दा, आफैलाई प्रेम गरेझैँ हुन्छ अनि जसको प्रेमले सदैव अगाडि बढ्न साथ दिन्छ त, मेरो उनलाई प्रेम गर्नु मेरो हक हो र म किन नगरूँ पनि?
मौरीले बगैँचाका फूल माथिबाटै रस देखेर पराग सेचन गर्दैन। उखुमा गुलियोपन, कागतीमा अमिलोपन बाहिरबाटै देखिन्न र पानीमा विजुली आफै उत्पन्न हुँदैन। संसार एउटै कुराको विभिन्न असरको संग्राहलय हो। दूधसँगै उम्लिएको चियापत्तिको अस्तित्व सकिँदै गर्दा चियाको जन्म हुन्छ।
अनि ऊ राम्री भएर मैले माया गरेको थिइनँ। मैले त माया गर्दै जाँदा ऊ राम्री भएको देखेँ। जोखाना हेरेर र ढक तराजुमा जोखेर मैले मायाको सौदा कहिल्यै गरिनँ। त्यसैले त यो मायाको मोल कुनै मापन केन्द्रको मसिनको औकातको परिधिमा पर्दैन।
सिंहलाई जंगलको राजा बनाउन न त कुनै सम्मेलन भएको थियो न त कुनै मतदान नै। आफ्नो अन्दाजको राजा हो सिंह, आफ्नो दाहाडको दम्भले राजा भएको हो सिंह! हाम्रो सम्बन्ध हाम्रा आफ्नै अन्दाजले बनेतापनि, परिणाममा एकअर्काको प्रिय बन्न असफल रह्यो।
प्रेममा केवल दुई व्यक्ति मात्र हुँदैनन्, दुई जिन्दगी पनि हुन्छन् दाउमा लागेका। तर 'बहिरग-मन' आफै हुनपर्यो जसको 'मन' राख्न आफूलाई बारम्बार त्याग्न पुगेको थिए। त्यही सिलसिलामा डढेलो लाग्यो, आँखै अघि, छेवैमा रहेको पानीको मुहानबाट पानी निकालेर आगो निभाउनभन्दा आगो लागेकै हेरिरहन मन लाग्यो।
यति आवेगले जलिरहेको थियो कि माटो बाहेक कुनै चिज अस्तित्वमा रहन सकेनन्। यस्तै भयो, हो यस्तै भयो मेरो जीवनमा।
आफ्नो घर बनाउन घरबाटै निस्कनु पर्यो। बिदाइ आफैमा विदारक, त्यसमाथि त्यो तरिका, बयान गर्न लायकै छैन। पीडक हर तवरले मै थिएँ, न त माया गरेको मान्छे पाएँ न त खर्चिएका समय। आफ्नो मान्छे पाउन त सकिनँ, केही मिठा शब्दसम्म त पाउन सक्ने थिए होला नि यतिका वर्षका ब्याज स्वरुप। यतिको हक पनि सुन्न पाउने थिएन र?
हिजो म बाहेक अरुसँग नबोल्ने, आज मेरै अघि मलाई देखाउनकै लागि भएपनि हाकाहाकी अरुसँग खुलेआम बोलिरहँदा म कसरी सहिरहूँ? सामाजिक सञ्जालमा कुनैबेला भ्याइ नभ्याई हुने उसका सन्देश आज एकादेश झैँ भएका छन्।
हरियो थोप्लोले ऊ र म त्यही भएको देखिरहँदा, एकअर्कासँग संवाद हुन नसकेको, कसरी सम्भव भइरहको छ? कसरी हेरुँ ती पोस्टहरु? हिजो मलाई तिमी नै पहिलो र अन्तिम माया भन्नेले आज कोही अरुसँगको तस्बिरमा साँचो मायाका शब्दहरु ऊप्रति खर्चेका, म कसरी नियालू?
कहाँ चुकेँ म, फर्केर आफैलाई प्रश्न गर्ने गर्छु। उसैका लागि बाआमासँग झगडा पनि गर्नुपर्यो, आज कुन मुखले बाआमा अघि उभिनु म?
साथिभाइका अघि, माया भनेको हाम्रो जस्तो भए पो टिक्थ्यो त! भनेर देखाउने दम्भ कहाँ लगेर सेलाउँ म? आफ्नै धज्जी उड्यो, अरुका अघि उभिन लायकसम्म रहन सकिनँ।
संसारमा सबैभन्दा धेरै झुट, सत्यको गुनगान गाउने न्यायालयमा बोलिन्छ। सबैभन्दा धेरै बिमार, उपचार पाउने अस्पतालमा भोगिन्छ अनि सबैभन्दा धेरै पीडा, मायामा पाइन्छ।
मायाले पागल बनाउँछ, यो सत्य हो। सबैभन्दा पहिला, एउटा जीवनले ममाथि लगानी गरेको उसको जीवनको सबैभन्दा उम्दा समय, विश्वास र बैँस अनायसै गुमेर नजाओस भनेर पागल भएको थिएँ म।
कति क्रुरताका साथ बर्सिँदो रैछ, प्रेम गरेको सजाय, आजीवन भोग्दैछु। सबैभन्दा दुख त हिजो जसको सिउँदोको नाम थिएँ, आज उसको जीवनको सर्वनाम बन्नु परेको छ।
शब्दभन्दा पनि ती घटनाहरुको बयान सायद छैनन्, मसँग। जब प्रयासहरु नै काफी हुन सकेनन्, शब्द के काफी हुन्छन् बयान गर्न!
स्कुल छँदा, यो पाठबाट के शिक्षा पायौ भनेर प्रश्न गर्दाको जवाफ साथिभाइसँग सापटी मागेर दिने गर्थेँ। आज जीवनले पाठ पढाएर मात्र गएन, सिकाएर पनि गयो। आफै उत्तर दिन सक्ने बनाएर गयो।
जीवनसँगै जिउन माया अनिवार्य छ तर पर्याप्त भने हुने रैनछ। धोका तिनैबाट उपहार पाइन्छ जसलाई तपाईले सहुलियत रुपमा मायाभन्दा बढी छुट दिनुहुँदो रैछ। अनि कसैको जीवनमा तपाईजस्ता साँचो माया गर्नेको भिड, छुटिँदै गर्दा मात्र थाहा पाइने रहेछ। अनि छुटिँदैमा, मरिजाने नहुँदो रैछ।
सम्झन्छु, बाले घुमाउरो शैलीमा भनेको 'दाउरा मात्रै अँगेनामा झोसेर भात पाक्ने भए आगोले किन आफैले आफैलाई जलाउनु पर्थ्यो, केटा? आगो भित्र पनि त जीवन छ, बलिरहरेको! धुवाँ त्यही रहलपहल हो जो आगो बन्न नसकेर, आगोबाट फुत्किन उड्नपर्यो, भाग्नुपर्यो।
सबै चिजहरु जोडिएपछि मात्र सफल हुने भए हेर् घाम र जुनलाई फरक फरक भएर पनि आफ्नो अस्तित्वले बाँचेका छन्। बन्द कोठा भित्र उजेली छिर्न दैलो पनि छुटिनै पर्छ।'
आझ बुझ्दैछु, सबै अर्थ।
कहिले काहीँ सोच्छु, यी बाटाहरुमा हिँड्दै गर्दा उसैलाई भेटियोस्। अरुबेला ऊप्रति उठेका आवेग सबै सेलाउन्। एक टक भएर हेरिरहन पाऊ, उसैलाई। यतिका वर्ष मेरो जीवनमा रहनेलाई स्नेह देखाउन सकूँ जसले मलाई औकात देखाएर सिकायो।
काखमा राखी जसले कपाल खेलाउँथ्यो कुनैबेला, पछि जिन्दगीसँग खेल्यो, उसैलाई माया दिन सकियोस्। जसको जीवनमा लग-अन मात्र हुनसक्यो, लगन जुर्न सकेन, अझ माया त दिन सकियोस्।
भगवान, कुनै दिन कुनै समय मेरा यादहरु ऊसम्म पुग्न सकेनन् भने सम्झनु उसले जितेर गई, यदाकदि मेरो एक झल्को पनि आएछ भने सम्झनु, हाम्रो मायाले सदाका लागि जितेर लग्यो।