झुकाएरै कतिले लुट्नु लुटे,
टँसाएरै कतिले चुस्नु चुसे।
घुनले भित्र भित्रै सके झैँ
यहाँ खोक्रो पारिसके।
देश दुब्लाएर के भो र!
सब् भरभराउँदा, हराभरा
अनि कत्रा मोटाघाटा भइसके।
अस्ति चप्पल फट्काएर हिँड्नेहरु,
आज कत्रा कत्रा पदहरु हत्याइसके।
हिजो दुई छाक धान्न गाह्रो हुनेहरु,
अकुत सम्पति कुम्ल्याइसके।
आलीशान महल ठड्याइसके।
तर,
तेरो फोस्रो आडम्बर चाहिँ जिउकोत्यू छ।
कहिले थाक्छस्? कहिले बद्लिन्छस्?
स्वाभिमान! तँ चाहिँ किन झुक्दैनस्?
चाप्लुसी कति सिकाएँ यसलाई
दुई हात जोडेर साष्टांग दण्डवत गर्न
अनि,
बोली पिच्छे ज्यू, हजुर भन्न लगाएँ।
शरीर नै थर्थराए झैँ
अभिनय गर्न पनि सिकाएँ।
हाकिमको अगाडि पछाडि गर्न पठाएँ।
लाज, घिन, शरम सब दबाउन लगाएँ।
तर अचम्म!
नाटक गर्नै जानेन रे,
उसलाई अप्ठ्यारो भो´ रे,
आफै तल गिरे तुल्य भो` रे।
रातभर निदाउनै सकेन रे।
उफ्!
ऊ शिर निहुँराउन जान्दैन रे।
मर्छ अरे तर झुक्दैन रे।
यत्रो वर्ष कमाएको उसको
त्यही स्वाभिमान मात्रै त हो रे।
अन्तत: हारेर म,
टाउकोमा दुवै हात थमाएँ।
आँखामा मेरा टिलपिल आँसु रसाए।
लामो सास फेरेँ
तर,
फेरि सोध्नै सकिनँ उसलाई,
स्वाभिमान! तँ किन झुक्दैनस्?