हात नकमाइकन कति पनि
बाँकी कुरा केही नसोचेर
एउटा मत खसाउनु छ
अहिले जस्तै पछुताउनु नपरोस् भन्दै
मेरा विचारको दह्रो प्रतिनिधि
मतपेटिकामा एउटा पत्र।
जिताउनु कसैलाई छैन मैले
केवल हराउनु छ त्यसलाई
जसले हाम्रै मतको आडमा
आफ्नो मात्रै वर्चस्व जमाएको छ
हाम्रा घरमा चुल्हो नबल्दा
ऊ चाहिँ डकार्दै रमाएको छ
त्यसैले त्यसलाई हराउन भए पनि
एउटा मत खसाउनु छ
मेरा विचारको दह्रो प्रतिनिधि,
अहिले जस्तो पछुतो नहोस् भन्दै
मतपेटिकामा एउटा पत्र।
जिताउनु कसैलाई नहुँदा नहुँदै
मेरो प्रतिक्षा लाममा उभिने
भोट खसाल्ने यिनै हातले
हराउन ढोँगी छट्टु कागलाई
कहिले एकीकृत कहिले व्यक्तिवादी
त्यसैले खसाउनु छ एउटा पत्र
मेरा विचारको दह्रो प्रतिनिधि
पछुताउन फेरि नपरोस् भन्दै
मतपेटिकामा एउटा पत्र।
जिताउनु कसैलाई छैन अहिले
केवल हराउनु पर्ने छ तिनलाई
जहाँ एउटै दफा र एउटै धारा
मान्छेअनुसार बाझिने गर्छन्
लाटासोझा जेलमा अपराधी पदमा
त्यसैले खसाउनु छ एउटा पत्र
मेरा विचारको कट्टर प्रतिनिधि
अब त पछुताउनु नपरोस् भन्दै
मतपेटिकामा एउटा पत्र।
एउटा मत त खसाल्नै पर्नेछ
यस्ता पाखण्डी निर्मूल पार्न
यिनको साँच्चै सेखी झार्न
यस्तो विभेदको अन्त्य गर्न
धीतै मार्ने गरेर मनको
मेरा विचारको सार्थक प्रतिनिधि
अब त पछुताउनु नपरोस् भन्दै
मतपेटिकामा एउटा पत्र!
मतपेटिकामा एउटा पत्र!