लहलह झुलेका धानका बालाहरु
मन तरंगित बनाएर
स्मृतिका पर्खालहरु भत्काउँदै
समयका धारहरुमा
शब्दका खातहरु विछ्याउन
मेरा कलमका टुप्पाहरुमा
रसाउँछन्,
म टोलाउछु इतिहासका गहिरा डोबहरुमा,
अड्काएर गतिशील पदचाप
गैरिखेतमा भरिएका गह्राहरुमा,
निरन्तर चलिरहेका समाहाहरुमा
हठात बग्न थाल्छु खललललललल,
कलकलाउन खोज्छु सङ्लो पानीमा
कलकल कलकल जवानी,
र पु्ग्छु भग्नावषेशमा पुरिएका
रसिला रहरहरुबीच,
समाधिस्थ मेरा कालखण्डहरु
सास फेर्न थाल्छन् अकस्मात,
र जुर्मुराउँदै उठ्छन्
गोलार्दको उत्तरी नाकाको हिउँ सिरेटोसँगै,
म बौरिन्छु सपनाबाट,
र टोलाउछु विस्मृत यादहरुसँगै,
केही हराएका समयका धर्साहरु रुमलिन्छन्,
अनि बिलाउँछन्,
अन्धकारसँगै
चिसो रातमा,
फेरि रहरहरु नाच्न थाल्छन् पाखाहरुमा,
उत्तिसघारीमा चलेका सिर्सिरे बतासहरुमा,
खोल्साभरि फलेका अलैंचीका थुंगाहरुमा,
पारिबाट हाँसिरहेको कंचनजंघा ब्युँझाउँछ रातहरु,
सुशेली हाल्दै आइपुग्छ घामको झुल्का आँखाहरुमा
टलक्क टल्काएर लालीगुराँसको जवानी,
च्याब्रुङको धुन कानबाट छिरेर बग्न थाल्छ
रगतका कणकणहरुमा
धुङङङङ् धकदुङङ् धुङ, धुङङङङ् धकदुङङ् धुङ,
हरिया वनहरु सप्तरंगी रुपहरु
लिएर झुम्न थाल्छन्
मेरो मानसपटलको ब्रम्हाण्ड वरिपरि,
रोमाञ्चित पार्दै उडाउँछन
आफूसँगै भूगोल खिचेर आफैंभित्र,
समयाकाशमा चढ्छु वायुपंखी घोडा बनाई समय,
वेग मार्छु राते खोलाको बगर छिचोलेर,
रश्मिला पहाडहरु छिचोल्दै
एटलान्टिक महासागरको छलाङ मार्छु,
र अडिन्छु लेक ओन्टेरियोको सुस्त सन्नाटामा,
निर्जीव लेक बसिरहन्छ लमतन्न,
चकमन्न रातहरुमा,
दुख्न खोज्छन् आँखाहरु,
मडारिन्छ मन,
समुन्द्रका आँधीहरुमा छालहरु मडारिए झैँ,
फर्कन्छु फरक्क बेगवान
त्यही माईपोखरीको न्यानो सेक्न,
मनलाई सुटुक्क ओराल्छु घोडाबाट,
पखाल्न खोज्छु द्रवित मन,
घोडा छोडेर उड्छ आकाशमा,
खङग्रंग पछारिन्छु फेरि
धम्म अडेको चिसो रातमा।
फेरि बज्छ सहनाई,
देख्छु आकाशमा ताराहरुसँगै
जगमगाएका मेरा शहश्र मनहरु
फुरुंग उडेका पन्छीहरुसँगै,
खोज्छु दौडाउन शब्दको महासागर अक्षरहरुमा,
तिनै अक्षरहरुले अठ्याउँछन् घाँटी र
गिज्याउँछन् समय,
दर्किन्छ आँखाहरुमा भदौरे झरी,
गडगडाहटले सपना खिच्छ र
सोहोरेर हुत्याऊन खोज्छ बाढीसँगै,
मुर्छित हुन्छ सपना,
र अड्किन्छ जीवन मरणको दोसाँधमा
पर्खिएर समय
पट्यार लाग्दो चिसो रातमा।