वर्षहरू फेरिदैमा नयाँ केही हुँदैन
प्रिय, सम्बन्ध फेरिनु हुँदैन,
पात्रो फेरिदैमा नयाँ वर्ष हुने होइन,
जब गलत प्रवृत्ति फेरिदैन।
नयाँ त विचारमा आउनुपर्यो र पो नयाँ वर्ष हुन्छ
खराब प्रवृत्ति फेरिए पो नयाँ वर्ष हुन्छ।
प्रिय,
अब फेरि भित्तामा नयाँ पात्रो झुन्डाइने छ,
कलेटी परेर बसेका मनहरूलाई केही सफा गरिने छ,
फुल्ने छन् नयाँ पालुवा उही जाही जुहीको बोटमा
गुराँस र चमेलीको मस्कामस्की झागिँनेछ,
खुल्ने छन् फेरि क्षणिक मुस्कान बिर्सिएका शोकहरू।
ओइलाउँदै गरेको तिम्रो त्यो कसिलो अनुहार
विस्तारै राजमार्गरूपी रेखा कोरिदै हुनेछन्,
तरेली परेका परेली केशहरू पातलिँदै,
अनवरतरूपमा हावामा बहकिँदै हुनेछन्।
तिम्रो सामिप्यताको आभाषमा डुबुल्की मार्दै गर्दा
लैला-मज्नु र रोमियो-जुलियटको कल्पनामा हराउँदा,
सि जीनपिङ र लि क्वानको झै सुन्दर सहर बनाउने
कागजी आदर्शलाई सिरानीमा राखी पूरा नभएको सपना।
दिनहुँ निर्मला, नवराज र भागिरथीहरू सुरक्षित नहुँदा
किसानहरू छाती पिटिपिटी आक्रोशको ज्वालामा रूदाँ
पलपल सपनालाई सिरानीमा राखेर बसेकाहरू
अनयासै बाकसमा प्याकिङमा आइरहेको जहाजको पर्खाई।
फेरि पनि उही दिन, उस्तै दैनिकी, उस्तै सपना
एक अन्जुली भरको खुसीको प्रतिक्षामा रमाउने क्षणहरू...
प्रिय
यात्राको गन्तव्य धेरै परको क्षितिजसम्म रहनेछ,
सधैँ सँगै अझ दृढ र अठोटका साथ हुनेछ,
वातावरणमा जतिनै प्रदुषण फैलिएपनि,
बाहिर जतिसुकै चट्टानसगै पानी, आँधीबेहेरी र तुफान चले पनि,
तिमीप्रतिको विश्वास अटल चट्टानरूपी हुनेछ।