बानेश्वरको व्यस्त बजारमा
देखियो पहाड झैँ ठूलो ब्यानर
रोकिएर एकाएक मान्छेका पैताला
मोडिए आँखा कौतुहलता सँगै
देखाएर मार्क्स, विपी र मदनका
हातमा परिकार
लेखियो सुनौला अक्षरले
गणतान्त्रिक खाजा घर।
मूल्यसूचीको पहिलो पंक्तिमा
विपीको समाजवादी चाउमिन
त्यसपछि बहुदलीय जनवादी मम
जातीय राज्यसहितको कोदाको रक्सी
र अन्तिममा जनयुद्ध लडेको राँगाको सुकुटी
देखिन्थ्यो भोलिपल्ट आधा काठमाडौँ त्यही
लियो मधेसी कोदाको रक्सीले
एक महिना खुब मार्केट
बानेश्वरदेखि माइतीघरसम्म
देखिन्थे मान्छे लम्पसार पल्टिएका
आएपछि विदेशी रक्सी ठमेलका बारहरुमा
खस्कियो लोकलको व्यापार
लागे व्यापारी मधेशका गाउँहरुमा
छ उतैपनि राम्रै व्यापारको मेसो
दिन्छन् भोट जातीय रक्सी खुवाएपछि
१० वर्ष जंगलमा उधुम मचाएको राँगोको
दिनदिनै घट्दैछ व्यापार
राँगाको सुकुटी देख्नेबित्तिकै
छि छि गर्छन् नयाँ ग्राहक
एकदिन साउजीले जुक्ति खोजे
मिसाए समाजवादी चाउमिनमा
माओवादी सुकुटी
रुचाएनन् खासै कसैले
भोलिपल्ट जनवादी मःमःमा
माओवादी सुकुटी पाक्यो
खुब चल्न थाल्यो व्यापार
लाग्न थाल्यो
बालकोटदेखि लाजिम्पाटसम्मको लर्को
तीन वर्ष भयो
उही चाउमिन र मःमः को भरमा
साउजीको होटल चलेको चल्यै छ
मिठो नमानी नमानी ग्राहकले
एकदिन समाजवादी चाउमिन खान्छन्
अर्को दिन जनवादी मःमः खान्छन्
चाउमिन र मःमः खाँदाखाँदै
ग्राहक वाक्क भएपछि
साउजीले बल्ल खुलाउँदैछन्
नयाँ भान्सेको जागिर
मिठा मिठा परिकार पकाउने
यदि हजुरमा क्षमता छ भने
कृपया आउनुहोला है
बानेश्वरको मन्दिरजस्तो होटलमा।