'को हो त्यो, तिम्रो प्रेमिका? गर्लफ्रेड?' आजभोलि निकै सुन्ने प्रश्न हो मैले।
'के हो राजा, प्रेममा परिसकेर पनि थाहा छैन हामी आफ्नै साथीहरुलाई?' साथीहरुबाट सुन्ने कुरा हो। म मुस्कुराएर नै जवाफ दिन्थेँ 'हैन यार, साथी हो।'
तर पनि सुन्न भने कहिले छाडेको छैन यी कुराहरु। मेरो मन अनि मस्तिष्क दुवैलाई थाहा छ ऊ मेरो साथी हो।
'साथी मात्र?'
मिल्ने साथी। आफ्नो नाम जस्तै बहुमूल्य छे ऊ मेरो जीवनमा। नाम के हो भनि जिज्ञासा त पक्कै होला प्रिय पाठकहरुमा, छिटै मेटिने छ।
आजभोलि केटा र केटी अलिक नजिक भयो भने यसलाई प्रेमको परिभाषा दिने गरिन्छ। सायद यो हामी सबैको भुल हो। त्यसैले त प्रेम भेट्न मुस्किल बनेको छ। सायद आफ्नो मित्रतालाई प्रेमको उपनाम दिइन्छ भनेर होला आजभोलि केटा र केटी मिल्ने साथी बनेको कम सुन्ने गरिन्छ।
२०७७ साल पुष १५ गते हामी भेटेनरी तयारी कक्षाका विद्यार्थीको फेसबुक ग्रुपमा केही सवालहरु गर्दै ऊ, अनि उत्तर दिँदै म। हामी सामाजिक संजाल फेसबुकमा जोडिएका थियौँ। उस्को साथी बन्न अनुमति मैले मागेको थिएँ।
१६ गते दिउँसो तीन बजेर २६ मिनेट उस्को आइडी खोलेर उस्लाई पहिलो म्यासेज मैले नै गरेको थिएँ 'पिकेडी सरले पढाउने समयमा मलाई खबर गर हस्।'
पढाइको कुराबाट सुरुआत भएको हाम्रो कुरा पढाइमा मात्र सीमित रहन सकेन। हामी अलिक पारिवारिक कुरामा नि अघि बढेउँ। साथी बन्न अनुमति मैले मागेँ पनि मेरो मिल्ने साथी बन्न भने उस्ले प्रस्ताव गरी।
प्रस्ताव बिनाको महशुस अलिक ठिक हुन्छ भन्ने मेरो बुझाइ सायद त्यो बेला गलत थियो। म एक्लो थिएँ, बुझ्ने कोही थिएन। त्यसैले होला त्यो प्रस्ताव सहर्ष स्वीकार गरेँ।
काठमाडौको नयाँ बानेश्वर बस्ने म अनि पोखराको ड्यामसाइड बस्ने ऊ। हामीलाई फेसबुकले जोडिरहेको थियो। न कुनै भेट न लामो समयको मित्रता तर पनि हामी एकअर्कालाई बुझ्ने प्रयास गरिरहेका थियौँ। हप्ता दिनपछि काठमाडौँ न्यू प्लाजाको गुरुङ होटलमा हाम्रो पहिलो भेट।
माघ महिनामा काठमाडौँको जाडो। निलो खैरो रंगको हुड, कालो पाइन्टमा सजिएकी ऊ। कालो चस्मा लागाएर चियाको चुस्की लगाउँदै बसेकी ऊसँग म पहिलो भेटमा कसरी अगाडि पर्छु होला भन्ने डर भने मनमा त्यति बेलासम्म रह्यो जति बेलासम्म उस्ले मलाई देखिनँ। त्यसपछि हामी यति सामान्य भयौँ कि अन्य साथीले पनि सोध्न बाध्य भए 'तिमीहरु बच्चादेखि कै साथी हौ?'
उस्को र मेरो पहिलो भेटपछि त्यही दिन पुतलीसडकको रामु दाइको पसल अनि धौलागिरी पुस्तक पसल हुँदै रत्नपार्क, आरएनएसी, त्यहीँबाट फर्किएर लगनखेलसम्म पैदल यात्रा सायद मेरो जीवनकै एक अविस्मरणीय दिन हो।
म त्यति धेरै पैदल यात्रा आजसम्म अन्य केटीसँग गरेको छैन। उस्को मन कोमल भनूँ कि उस्को जीवनमा मेरो महत्त्व, सानो कुरामा नि उस्ले आँखाबाट आँसु झार्ने, तर म भने झन् आनन्द। यहाँ आफ्नो लागि पनि कोही रुन्छ भन्ने थाहा पाउँदा खुसी नहुने सायदै कम होलान्।
पढाइको सिलसिलामा हाम्रो भेट बाक्लिँदै गयो। पढाइसँगै मनका अनेक कुराका भारी बिसाउने चौतारी पनि बन्यौँ। साहित्य तिर रुचि राख्ने म केही दिनमै उस्कै नामको शिर्षकमा उस्कै लागि कविता लेखेँ।
'नीर'
आफ्नै मनमा लुकाउने कुरा तिमीसँग खोल्ने गरेको छु
त्यसैले त तिमी त्यो बहुमूल्य मणि भए झैँ लाग्छ
आफ्नै मनको नीर भए झैँ लाग्छ।
प्रस्ताव बिना नै महशुस गरेको भए अझ राम्रो हुन्थ्यो होला भन्ने सोच्नु हुन्छ होला। हामीले हाम्रो साथी सम्बन्धलाई औपचारिकता मात्र दिन खोजेको हो। त्यसो त पहिला पनि हामीले मनका कुराहरु नपस्केका भने होइनौं।
मित्रताको ८० दिन मैले उस्को लागि पहिलो पल्ट आँसु झारेको दिन यहाँसम्म आउँदा उस्ले भने कयौँ पटक मेरो लागि आँसु झारेकी थिई। महिना दिनपछि भेट हुँदा हामी निकै खुसी थियौँ।
पोखरा मुख्यमन्त्री निवास अगाडिको तेस्रो तलाको विस्तारामा बसी फेसबुकमा गफिँदै गर्दा उस्ले प्रयोग गरेको एक वाक्यमा म खासै नरुने मान्छेको आँखाबाट आँसु झार्ने तागत थियो।
एकातर्फ भेटको खुसी, दुवै जना एकअर्काको लागि आँसु झार्ने कार्यले हामी एकअर्काको जीवनमा कति महत्वपूर्ण थियौँ भन्ने कुरा देखाइ रहेको थियो। साँच्चीकै आफ्नो लागि पनि कोही आँसु बगाउँदै छ भन्ने थाहा पाउँदाको आनन्द बेग्लै हुँदो रहेछ।
चैत्र २४ गते हाम्रो मित्रताको सयौं दिन पुनः उस्को लागि मैले आँसु झारेँ। आफैँ गाली गर्दा ऊ रुन लाग्छे भन्ने थाहा हुँदाहुँदै पनि गाली गर्नू, अनि गाली गर्दै आफै रुनु सायद मित्रता नयाँ उचाइमा पुगेको संकेत थियो। आज पनि हामी बीचको मित्रता अझ गाढा बन्दै छ। एकअर्काको महत्व बढ्दै छ।
हाम्रो मित्रतालाई लिएर मेरा साथीहरुले अनेक प्रश्न उठाए। कोहीले त झगडासम्म नि गर्न भ्याए। 'केटा र केटी कहिले पनि मिल्ने साथी हुन सक्दैन' भन्ने भनाइ पनि सुनिए। मैले हरेकलाई तार्किक जवाफ दिने गर्छु।
सोच्नेले बुझ्छन् भने अरुलाई मतलब हुँदैन। त्यसैबीच मेरो साथी गणेशले प्रश्न गर्छ 'यो नीर भन्ने तेरो मिल्ने साथी हो?'
'उम हो, किन?' जवाफ सहित म प्रतिप्रश्न गर्छु।
ऊ पुनः सोध्छ 'यति छोटो दिनमै यति नजिक कसरी?'
'बच्चाले हेरेकै केही पलमा खेलौना मन पार्छ, उसलाई सधैँभर आफैसँग राख्न खोज्छ भने म त अलिक ठुलो छु। मेरा कुरा बुझिदिनेलाई कसरी नजिक नबनाई बस्न सक्छु र?
तैले भन्लास् बच्चाको खेलौना त केही दिनमै हराउँछ नि। यदि हराउँछ नै भनेर बच्चालाई खेलौना दिन छाडियो भने त्यो पसले दाइको बच्चाले खाना के खान्छ? खेलौनाको अस्तित्व कहाँ रहन्छ? हराउँछ भनेर डराएर आफूलाई बच्चा सावित गर्नु भन्दा म सम्हालेर राख्न सक्छु भन्ने आत्मविश्वास लिएर किन्नु उचित होला।'
उस्को आगमनले एउटा कुरा भने प्रस्ट पारेको छ- जीवन जिउन अनि आइपर्ने दुख साट्नको लागि प्रेमिका नै हुनु पर्छ भन्ने छैन, एक असल मित्रताले पनि काफी छ। साथै मित्रताको लागि लामो समय चाहिन्छ भन्नु बेकार रहेछ।
अझ केटा र केटी बीचको मित्रता त झन् बलियो हुँदो रहेछ। हामी दुवैको इच्छा यो सम्बन्ध प्रेममा परिवर्तन हुन नखोजी अघि बढिराखोस् र सहर्ष स्वीकार गर्न सकूँ, नीर मेरो मिल्ने साथी हो। बेस्ट फ्रेन्ड।
क्रमश: