'राम्ररी पढ्, फलानाका छोराछोरी यस्ता भए। सँगै पढ्ने ढिस्कानाले तिलानासँग बिहे गरेर घरजम गरी। राम्रो घरको केटा माग्न आउँदा पनि बटारिन्छे। हामीले भनेको के मान्थी र!'
घरमा यस्तै गन्थन मन्थनले सधैँ उदास बनाउँथ्यो। विचरा म, यी घरकाको कसरी चित्त बुझाउनु?
उमेरले १३ वर्ष। २० वर्ष पूरा नभई विवाह गरेँ भने कानुन विरोधी भन्लान्। नगरे घरभाँडा। म कानुनको कुरा सुन्छु, गाउँलेको कुरा सुनेकी भएँ त उहिले सुइँकुच्चा ठोकिसक्थेँ।
मैले बारम्बार विवाहको कुरा ल्याउँदा अस्वीकार गरेपछि 'कोसँग लभ परेको छ, कहाँ मान्छे त?' भन्ने वचन नसुनेको होइन। गरिबी र अशिक्षित परिवारमा जन्मेपछि न त भविष्यको टुङ्गो हुँदो रहेछ न त पढाइको।
'बिहे गरेपछि केटाले पढाउँछ, आबुई! बाहुनका छोरी पनि यसरी राख्नु हुन्छ? बेलैमा टिकी ट्यास पार्दिनू।'
जिन्दगी मेरो, बाउ-आमा मेरा, हैन ती गाउँलेलाई केको सकसक? तर म अटेरी। कहाँ मान्थेँ त!
घरकाको कुरा पनि बडो अचम्म। ए बा! अरुकाले पढेर प्रगति गरेको देख्दा पढ्, जागिर खा नि भन्ने अनि दुनियाँका बकमफुसे कुरा सुनेर किचकिच नि गर्ने? गर्नु चाहिँ के? बिहे गर्दिम् त भन्ने सोच आयो।
तर विचरा, त्यो केटो आफै बेरोजगार रहेछ। मलाई कसरी पढाउँला? बाउआमाको कमाइ खाएर हिँडिरहेको २७ वर्षको केटासँग म कसरी जानू? त्यसले मलाई पढाउला भन्ने त त्यो समय पनि विश्वास थिएन।
तर जुनको ज्योती र सागरको मोती ल्याएर दिए पनि म त्यो आफूभन्दा १४ वर्ष जेठो काकासँग कहाँ बिहे गर्नू!
होइन, हाम्रा बाउ-आमालाई त्यो केटो कसरी मन पर्यो? हुन त उमेर सँगसँगै भएर कुरा मिले होलान् कि!
घरभरि गाउँका कुरा छाट्ने महिलाको लर्को। यता कुरा छाट्ने, उता कुरा काट्ने। विवाहको विरोधी म बनेँ। गाउँभरि के हल्ला फिजारियो भने 'केटोले त्यस्ता कंगालकी छोरी लान्थ्यो र! ऊ त पढेकी, जागिर खान सक्ने हेर्न आको रे। जस्तालाई त्यस्तै पो आउँछ त।'
उफ! कुलंगार हो। पढ्न दिए त पढिहाल्छु नि। नाकको सिँगान अझै आमाले पुस्दिनु पर्छ, मेरै कुरा काट्नै हिँड्ने कतिसम्म बुद्धिजिवी!
अब त १९ वर्ष पुग्नै लागेँ भन्दा फरक नपर्ला। तर म अझै विवाह गर्दिनँ। यसको मतलब यो हाइन कि म विवाहको विरोधी हुँ।
'पहिलो चोटि आएको केटालाई लत्याएर खालि हात पठाइ, तेरी छोरीको बिहे अब गतिलोसँग हुँदैन' भन्नेहरु के गर्दै होलान? के थाहा भोलिको कुरा, न महादेवका छोरा राजकुमार बनेर आउँछन् कि!