हिजोआज मौसम अनुकूल छैन राजधानीमा। आँखा पिरो हुने तुँवालोले ढाकेको छ वायुमण्डल।
श्वासप्रश्वास सम्बन्धित समस्याबाट मानिसहरु प्रताडित छन्। कोभिड-१९ को दोश्रो लहरले श्रृजित संक्रमणले सर्वसाधारणलाई आतंकित पारेको छ। संकट न्यूनिकरणका लागि देशका विभिन्न ठाउँमा कर्फ्यूदेखि विद्यालय बन्दका खबरहरु छन्, अनलाइन, छापा र टिभीमा।
वैशाखे मसिनो झरी। ६५-७० वर्षका जस्ता देखिने पुरुष। टुटेको शरीर। मुजा परेको अनुहारको छाला। ठाँउ ठाँउमा फाटेको ढाकाको टोपी। नाम्लो लागेको फलफूलको क्रेटमा हरियो सागका मुठा, हातमा बाँसको लौरो।
आधाभन्दा अलि कम झुकेको मेरुदण्डमा अडिएको सागको क्रेट। बुढा बा सकेको आवाजमा हरियो साग आयो भन्दै हिँडिरहेका छन्। बिहान सवेरैदेखि कराउँदै हिँडेकोले होला आवाज अलि बसेको छ।
कलेजका दिनहरु याद आयो। राज्य व्यवस्थाका विरुद्ध निमुखाको समृद्धि भन्दै घाँटी सुक्ने गरी नारा लगाउने धेरै नाम चलेका विद्यार्थी नेताहरु सांसद हुँदै मन्त्री भैसके।
समृद्धि प्राप्तिको कार्यान्वयन योग्य मार्गचित्र कोरने लोकसेवाको प्रश्नको हल गरेर तिक्ष्ण भनिएका विद्यार्थीहरु सार्वजनिक सेवामा छन। मैले नै चिनेका भौतिक शास्त्रमा मास्टर्स गरेका केही जनशक्ति समेत खरिदार पदमा सेवारत छन्।
राम्रा शिक्षकहरु पनि पेशा परिवर्तन गरेर सार्वजनिक सेवामा आवद्ध भएका छन्। सरकारी सेवामा आकंक्षीहरुको जमात बढ्दो छ। त्रिभुवन विश्वविद्यालयले लोकसेवा तयारी गर्ने विद्यार्थीहरुको लागि पुस्तकालयको पछाडि बनाएको अध्ययन कक्षमा दारी कपाल अनि सैन्दर्यको समेत प्रवाह नगरी समृद्धि र सुशासनका ठेली कण्ठ गर्दै छन युवायुवतीहरु।
देश आफ्नै गतिमा लम्कीरहेको छ। लाग्यो समृद्धिका नारा घन्काउने ती नेताहरु र मार्गचित्र कोर्ने कर्मचारीहरुको परिवारमा वास्तविक समृद्धि आएको छ कि छैन होला?
'बा, साग हो?' भन्न नपाउँदै बुढा एकै स्वरमा भन्छन्, 'हरियो साग बाबु। एकदम कलिलो छ, भर्खर टिपेर लेराको।'
'मूल्य कति हो बा?'
'एउटाको ३० रुपैयाँ। दुइटा लाने भए ५०।'
'एक्लै छु बा, मलाई एउटा भए हुन्छ।'
पानी अलि बढ्यो। बाले छेउको चिया पसल अगाडि क्रेट बिसाए। अलि सानो स्वरमा साग राम्रो छ, दुई मुठा लगेनी हुने भन्दै एकमुठा मतिर बढाए।
'बा, पानी अलि ठुलो पर्न लाग्यो चिया खाँउ।'
बुढाले 'हुन्छ' भने।
'दुनोट पनि खानुस् बा।'
'बाबु नखाने? म एक्लै नखाउँ होला।'
'तपाई खानुस् बा। मलाई ग्यासट्रिक छ। चिल्लोले बिसेक गर्दैन। अनि बा तपाईलाई केही रोग छ कि?'
'छ बाबु।'
'के छ बा?'
'गरिबी। गरिबीभन्दा ठुलो रोग केही हुन्छ र बाबु यो दुनियामाँ?'
बा थप्दै भन्छन, 'एउटा छोरो हो बाबु मेरो। काम गर्न खाडी गएको थियो। एक वर्ष जति भयो। कमाइ ठिकै थियो। पठाएको पनि थियो। सुतेकै ठाउमा बित्यो भनेर फोन आएको छ साउदीबाट। दुई महिनाभन्दा बढी भइसक्यो। कोरोनाले लास आउने कहिले हो पत्तो छैन रे।
छोराको एक नाती र एक नातिनी छन्। नातिनी एक वर्ष पुग्दैछ। दुईटा कोठाको भाडा आठ हजार छ। बुहारी काम गर्न अझै सक्दिन। नातीलाई बोर्डिङबाट झिकेर सरकारी स्कुलमा राखेँ। बुढी ४ वर्ष अघि नै परलोक भइसकी। पापी पेट भर्नै पर्ने। नाती नातिनीलाई कहाँ जाउँ भन्ने? आफू कहाँ जाने? न मर्न सकिन्छ न गरिबीले सजिलै बाच्न दिन्छ।'
मेरो दिमाग नाच्न थाल्यो। सापेक्ष गरिबी, निरपेक्ष गरिबी, लरेन्ज कर्भ, गिनी कोफिसियन्ट, पलमा रेसियो। आठौँ पञ्चवर्षीय योजना, त्यहाँदेखि यताका सबै आवधिक योजनाहरु, गरिबी निवारणका सरकारी नीति तथा योजनाहरु। एनजिओ आइएनजिओका स्टार होटलमा हुने गरिबी निवारण सम्बन्धी सेमिनारहरु।
विद्वानहरुका जटिल गणितीय शुत्रबद्ध खोज अनुसन्धान। हाइपोथेसिस टेस्ट। रिजल्ट सिगनिफिकेन्ट वा इनसिग्निफिकेन्ट। राजतन्त्र, लोकतन्त्र, गणतन्त्र, अनेक बाद, बुर्जुवा शिक्षा। चुनावी वेलाका राजनीतिक दलका घोषणा पत्र। नेताहरुका रेल, ग्याँस पाइप, पानीजाहाज र एकै वर्षमा दशौँ लाख रोजगारी सिर्जना गर्ने भाषण।
उच्चदेखि मध्यम ओहोदाका कर्मचारीका गरिबी निवारणका लेख। तल्लो तहका कर्मचारीको चिया गफ। महंगी। ज्वरो नाप्ने थर्मेमिटर कालोबजारी गर्ने व्यापारी। भ्रष्टाचार। क्रोनी क्यापिटालिजम। कमिशन, बेरुजु।
विकासको गुणस्तर। पुँजीगत खर्च। खाडीको वैदेशिक रोजगार। रेमिटयान्स। प्रकाश सपुतको 'बोल माया'। हेमन्त रानाको 'चालिस कटेसी रमाउला' साथै म्यागासासे पुरस्कार विजेता माहाविर पुनले सुरुआत गरेको आविष्कार केन्द्र।
'बाबु किन टोलाउनु भो?'
'हो बा, गरिबी दुनियाँकै सबैभन्दा ठुलो रोग हो।'
'ल बाबु, पानी पनि बस्यो। म निस्कनु पर्छ। साग आधा नि गएको छैन। फेरि ओइलायो भने पुरै फाल्नु पर्छ। घाटा माथि घाटा छ बाबु।'
'हुन्छ बा, जानुस्। चियाको पैसा म दिन्छु। सागको पैसामा अलिकति थपेको छु। नातिनीलाई दूध खुवाउनु होला।'
'बाबुलाई जीवनभरि सुख मिलोस्' भन्दै थोरै उज्यालो मुहार बनाएर बुढा बा बिदा भए।
अनौठो लाग्यो। यस्तो नगन्य सहयोग गर्दा त मानिस यति खुसीका साथ आर्शीवाद दिन्छ भने देशमा उपलब्ध स्रोत साधनको निष्ठासंगत हिसाबले प्रयोग गरी सम्पूर्ण नेपालीको उन्नयनमा काम गर्ने हो भने कति आशिष पाइने थियो होला।
त्यो अवसर सबैभन्दा बढी देश हाक्ने नेता, प्रशासन चलाउने कर्मचारी र बजार हाक्ने निजी क्षेत्रका व्यापारीहरुलाई नै छ।
त्यसैले उनीहरुले आफ्नो परिवार र नातागोताको सीमित स्वार्थमा मात्र नलागी परिवार, नातागोतासँगै सम्पूर्ण देशवासीको हित हुने महास्वार्थको लागि काम गर्नु पर्ने देखिन्छ। महाकविका यी शब्दहरु जस्तै...
फर्क फर्क हे, जाऊ समाऊ, मानिसहरुको पाउ
मलम लगाऊ आर्थहरुको, चहराइरहेको घाउ
मानिसहरु भै ईश्वरको त्यो दिव्य मुहार हँसाऊ...।