टेस्टट्युब र सूक्ष्मदर्शक यन्त्र भित्र जिन्दगी खोज्ने म
जीवन र दर्शनका कुरालाई पृथक ढंगले व्याख्या गर्ने म
चलेका चलन र मान्यतालाइ चुनौती दिने म
महामारीसँग लड्न, औषधिको खोज गर्ने, वैज्ञानिक म।
फिजिक्स र केमेस्ट्री भित्र अणु, परमाणु, इलेक्ट्रोन अनि प्रोटोनमा हराउने म
बायोलोजी भित्र तन्तु, कोष, डीएनए र आरएनएसँग रमाउने म
बिहानदेखि साँझसम्म नथाकी प्रयोगशालामा अहोरात्र खट्ने म
असफलतालाई आत्मसात गर्दै अगाडि बढ्ने, वैज्ञानिक म।
दशकौँ दशक बित्यो किताबको ठेलीमा, मेहनत र परिश्रममा विश्वास गर्ने म
सजिलो त कहाँ हुन्थ्यो, दूरदराजको जन्म, किसानको छोरो म
जन्मभूमि, जननीलाई चटक्क छाडी सात समुन्द्रपारि आएको म
मातापिता अनि गुरुहरुको आशीर्वादमा फुलेको, वैज्ञानिक म।
जन्मभूमि नेपाललाई माया गर्ने, कुनै दिन फर्कने आशामा बाचेको म
मेरो सीप र दक्षता नेपाललाई सुम्पने रहरमा तड्पेको म
सगरमाथा, लालीगुराँस, अनि वीर गोर्खालीको गाथामा हुर्केको म
भूगोलबाट अलि कति टाढा रहे पनि देशलाई माया गर्ने, वैज्ञानिक म।