पहाड छोडी तराई पसे पनि दिनमा २-३ कप चिया नखाई चित्तै बुज्दैन थियो। सायद चियाको क्याफिनले नसामा ठाउँ लिइसकेको थियो। सहरका राम्रा होटलमा आधुनिक सट्टा हिन्दी र अंग्रेजी गाना, रोटी-सब्जिको सट्टा मम, पिज्जा बिक्दो रहेछ।
त्यस्तै एक होटलमा बसि चिया मगाउँदा पसले दाइले भाइ कफी मात्र छ भने। 'खैर! केही छैन, दिनु न' भनेँ अनि अन्तिमको टेबलमा बसेँ।
म एक पुरानो साथीको पर्खाइमा थिएँ। केही बेरपछि कफी आयो, साथै एक प्लेट मम पनि अर्डर गरेँ र उफरमा बजेको अंग्रेजी गित सुनेर आनन्द लिइरहेँ।
असारको गर्मी र ममको पिरो अचारले निकै जीउ तातिरहेको थियो। केही समयपछि नजिकैबाट 'हाई' भनेर कसैले मलिन स्वरमा बोलाए जस्तो लाग्यो। म अलमल्ल परेँ। कहिले नचिनेको मान्छे अगाडि आएर बोलाउँदा।
उसले भनिन्- 'म गृष्मा।'
आफ्नो हात अघि सारिन् र भनिन्, 'म तिम्रै क्लासमेट हुँ।'
मैले पनि आफ्नो परिचय दिएँ।
'घिमिरे कि बोनापार्ट?' उनले भनिन्। म लज्जित भएँ।
सायद त्यो पहिलो केटी थिइन् जोसँग साथीको नातामा हात मिलाएको थिएँ। सायद समयको परिवर्तन। ऊ पनि सँगैको अर्कोपट्टिको कुर्सीमा बसिन्। त्यतिबेरसम्ममा भर्खर पहाडबाट झर्दाका राता गाला झन् स्याउझैँ भएका अनुभूति गरिरहेको थिएँ।
खैर! पंखाको हावाले केही साथ दिइरहेको थियो। उसले एउटा आइसक्रिम मगाइन् र मलाई पनि खान भनेर आग्रह गरिन्। मैले इन्कार गरेँ।
'के चिसो खान्छौ त?' फेरि प्रश्न गरिन्।
फेरि इन्कार गर्न सकिनँ। 'हुन्छ' भनिदिएँ। एकचोटि आइसक्रिम खाएर प्रश्न राखिन्- 'तिम्रो घर कहाँ हो?'
'डिडिसीबाट लगभग २ मिनेट लाग्छ, अनि तिम्रो नि?'
'झापा हो, यहाँ ठुलोबाबाकोमा बस्छु। एसएलसी कहाँबाट दिएको?'
मैले 'पहाडको विद्यालयबाट दिएको' जवाफ दिएँ।
झट्टै भनिन् 'ए पहाडबाट!'
तत्काल उसले पहाड मन पराउने आभास व्यक्त गरिन् र हावापानी एकदम राम्रो लाग्ने जनाइन्।
'कहाँ कहाँ गएकी छौ पहाड?' मैले सोधेँ।
'हाम्रो घर पहिले धनकुटा थियो, कक्षा ५ बाट यतै बसाइ सर्या। इलाम र राजधानी बाहेको अरु नगएको' बताइन्।
अरु २-४ गफ गरे पश्चात् ऊ आफूलाई ढिला भएको कुरा व्यक्त गरिन्। मैले आफू साथी कुरिरहेको कुरा उस्लाई जनाएँ। त्यसपछि ऊ निस्की र साथी आएपछि म पनि त्यहाँबाट निस्केँ।
पहिलो दिनमै केही साथीहरुसँग चिनजान भएको थियो। भोलिपल्ट कक्षामा छिरेपश्चात् मर्निङ भनिन्। मैले नि जवाफ दिएँ। त्यति भन्नेबितिकै मेरा साथीले रातो-पिरो बनाउने गरी जिस्काए।
ऊ मेरोभन्दा अगाडिको बेन्चमा बस्दिरहिछिन्। समय त्यतिकै बित्दै गयो। २ बेन्चका साथीहरुको घनिष्ठता बढ्दै थियो साथै उनको र मेरो गफपनि निकै जम्दै गयो। समयले निकै गफाडी बनाउँदै लग्यो।
लगभग हामी जहाँ जाँदा पनि सँगै हुन थाल्यौँ। हाम्रो घनिष्टता देखेर धेरैले जिस्काउन थाले। विस्तारै मलाई पनि ऊप्रति मायाको आभास हुन थाल्यो। उन्लाई के भएको थियो दैव जानून्।
समयसँगै फेस्बुक र भाइबरमा नि एड भएउँ। दिनहरु सधैँ उस्कै व्यवहार सम्झी, मनमा कुरा खेल्न थाले। ऊ खास मान्छे हो जस्तै अनुभूति हुन थाल्यो। साथीको घनिष्टता यति अगाडि बढ्दै गयो कि हामी फोनमा समेत खुलस्त बोल्थ्यौँ।
तर ऊ मसँग जस्तै अरुसँग पनि खुलस्त बोल्ने-हिँड्ने गर्थिन्। त्यसैले उस्लाई आफ्नो भावना पेश गर्न सकिरहेको थिइनँ। मात्र हामी एक असल मित्रको रुपमा रुमलिरहेका थियौँ।
साथीहरुको सल्लाहले मलाई प्रेम प्रस्ताव गर्ने आँट बढ्दै गएको थियो र फोन गफमा भोलि ४ बजे एक क्याफेमा भेट्न भनी फोनको अन्तिम वाक्यले बिदा मागेँ। उसले किन नि भनेर प्रश्न पनि राखिनन्। सोचेँ, सायद उनलाई मेरो भाव थाहा भैसक्या छ। भोलिपल्ट म क्याफेमा पुग्दा ऊ अगावै आइसक्या थिइन्।
माघको जाडोले मलाई थोरै नि छोएको थिएन। म पुग्न साथ उनले २ कप कफी मगाइन्।
'के पर्यो र यसरी अपरझट भेट्न बोलाएको?' उनले सोधिन्।
'त्यतिकै, किन तिमीसँग भेट्न हुन्न र?' भन्दै कड्किए झैँ गरेँ।
उसले पनि 'कस्ले हुन्न भन्या छ र! नहुने भा भेट्न आउँथें?' भन्दै मुख बंगाइन्।
यति भनेपछि मेरो डरको सीमा केही हदसम्म कमी भयो। गफ गर्दा गर्दै कफी नि सकिएछ। फेरि नि उसले सोधिन्, 'साँच्चै भन न, किन बोलाएको?'
मैले ब्यागबाट निकाल्दै 'लाऊ, मेरो तर्फबाट उपहार' भन्दै एक बक्स हातमा थमाइदिएँ र भनेँ, 'घर पुगेपछि मात्र खोल्नु।'
उसले अच्मित हुँदै भनिन्, 'केको उपलक्ष्यमा हो नि यो?'
'घर पुगेपछि थाहा पाउछेऊ, राख न अहिले।'
उसले आफ्नो ब्यागमा हालिन्। केही समयपछि हामी त्यहाँबाट छुट्यौँ।
डरको घेरा बोकेर उनीसँग बिदा भएको थिएँ। घर फर्कँदै गर्दा मोबाइलमा म्यासेज आयो, हत्तपत्त मोबाइल निकालेँ। सोचेँ पक्कै पनि रिसाइन्। यति राम्रो साथीको सम्बन्ध चक्नाचुर हुने भयो।
डरले तीन पटक त मोबाइल लक खोल्दा नि बिग्रियो। चौथो पटकमा बल्ल तल्ल खोलेँ। लेखेको थियो- 'यति भन्न नि यत्रो कुर्यौ है?' साथै एक लभको इमो।
खुसीको सीमा रहेन ममा। अब जाडोले छोए जस्तो भयो। हात नि थरर काम्न थाले। उनी बाहेक संसार नै भुले जस्तो भयो। अहिले भेट्न जाउँ झैँ भयो। सबै बाटामा छोड्दै गएका मानिसले मलाई नै हेरिरहेका छन् जस्तो भयो।
हत्तपत्त सफारी रोकेँ, बरगाच्छीबाट घर पनि नजिकैको बाटो झैँ लाग्यो। तत्काल उस्लाई फोन लगाएँ। सायद मेरै फोनको प्रतिक्षामा थिइन्, प्रथम घन्टीमै फोन उठ्यो। तर केही शब्द आएन।
लाज र खुसीको मिश्रण दुवै बोकेको म, आफैले हेल्लो भने तेस्रो पल्टमा मात्र उसले जवाफ फर्काइन्। मैले सोधेँ- 'कस्तो लाग्यो गिफ्ट?'
उसले गिफ्टभन्दा त्यस भित्रको चिठीको बारे दिल खोलेर प्रशंसा गरिन्। पहिलेदेखि नै बोलेकोले अब अप्ठ्यारो नगरी बोल्दै गयौँ। उसले पनि पहिलेदेखि नै मनपराउने र प्रेम प्रस्तावको प्रतिक्षामा रहेको बताइन्।
दुवैमा खुसीको सीमा नै थिएन। धेरै कुरा नगरी निपर्सी 'भ्यालेनटाइन डे'को दिन भेट्ने कुरा गर्यौँ। 'लभ यू' र 'लभ यू टु'को शब्दले बिदा भयौँ।
प्रेममा रुमलिँदै १२ को परीक्षा पनि सकियो र इन्ट्रान्स पेपरको लागि सँगै काठमाडौँ लागेउँ। म मेरो सानैदेखिको साथीसँग बस्थेँ। उनी आफ्नै दिदी-भिनाजुसँग बस्थिन्। पुगेको २-४ दिन हामी मजाले काठमाडौँ घुम्यौँ र पशुपतिनाथको दर्शन पनि गर्यौं।
प्रायःजसो हामी सधैँ एउटै क्याफेमा बस्थ्यौँ, भिसन क्याफे। त्यहाँका साहु पनि एकदम मिजासिला थिए। धेरै समय त्यहाँ बिताउने भएर होला, चिनजान मजाले बढाएका थियौँ र हाम्रा कुरा सुनेर कहिले काहीँ साहु मुस्कुराइ रहन्थे।
एकदिन, बेलुकातिर फोन आयो। अलिक सन्चो नभएजस्तो गरी बोलिरहेकी थिइन् र भोलि बिहान ७ बजे त्यही क्याफेमा भेट्ने कुरा गरिन्। भोलि भेटपश्चात् उसले बाबाले अस्ट्रेलिया बस्ने केटो माग्न आएको र ८-१० दिनमा घर आउनु भन्नु भएको कुरा रुँदै बताइन्।
'अनि तिम्ले बाबालाई केही भनिनौ, पढाइ नसकी गर्दिनँ भनेर?' मैले सोधेँ।
'बाबाले धेरै दुख गरेर यहाँसम्म ल्याउनु भएको र कुरा पक्का पक्की भएकाले बाबाको कुरा काट्न नसक्ने' कुरा जनाइन्।
मैले कट्किँदै भनेँ, 'ए आज आएर त्यस्तो भयो हैन! जाऊ न त उहीँसँग, के सुनाउन आएको। उस्कै मायाले छोयो होला अनि बाबालाई के भन्न आँट आउथ्यो!'
उसले 'नरिसाऊ न, आइ लभ यू के' भन्दै रोइरही।
'अब उसलाई नै लभ यू भन न, किन मलाई भन्या!' फेरि कड्किएँ।
उनका कुराले मेरो शरीर लथ्र्याक भई कालो बादलले झैँ अन्धकार छाइसक्या थियो। कता-कता रिस पनि उठिरहेको थियो।
'के गरौँ त म? उपाय दिनु न त' ऊ मलिन भई।
मैले भोलि नै भागौँ त भने। क्याफेका साहु पनि आफ्नो व्यापार छोडी हाम्रै दुखेसो काउन्टरबाट सुनिरहेका थिए।
'भागेर कसरी जीवन चलाउने? तपाईं पनि त पढ्दै हुनुहुन्छ,' जवाफ दिइन्।
'त्यसो भए जाऊ न त जीवन चलाइदिनेसँग।'
निकै गन्थनपछि पनि बाबाको कुरा काट्न नसक्ने बताइन्। त्यसपश्चात म आफ्नो झोला बोकी सरासर निस्केँ। एकपल्ट पनि पछाडि फर्किनँ। पर पुगेपछि फोन आयो, काटिदिएँ। अनि आफ्नो गाडी चडेँ।
सोचेँ, अब मैले गृष्मा गुमाइसकेँ। संसारमा म एक्लो छु। सबै मानिसहरु शत्रु झैँ लाग्न थाले। जीवनको अर्थ हराएको महशुस भैरहेको थियो। त्यतिकैमा फोनमा म्यासेज आयो।
'नरिसाउनुस् न प्लिज! बेल्का आउनु है फेरि क्याफेमा, कुरा अझै सक्या छैन।'
तर सबै तिर ब्लक गरिदिएँ। क्याफेमा भएको त्यो गफले मलाई पूर्णरुपमा अब उनी नपाउने विश्वास भैसक्या थियो। अब उस्को बिहेको सुपारीभन्दा केही आफ्नो साथ नफर्किने सोचले म बेलुका नजाने निधो गरेँ।
सिमकार्ड पनि निकालेर फालिदिएँ। खाटमा पल्टिँदा सिरानी भिजिसकेछ, पत्तै भएन। मनमा अनेकौँ कुरा खेलिरहेका थिए। एक मनले उस्को भविष्यको लागि, उस्को खुसीको लागि आफ्नो प्रेमको बलिदान दिनु नै उपयुक्त हुने र अर्को मनले आफू नै संसार छोड्ने निधो गरिरहेको थिएँ।
यो मन कति कमलो हुँदो रहेछ, त्यस दिन थहा पाएँ। आँखा त मात्र पानी बग्ने साधन रैछ। मनको मुहान फुटेर बाढी बग्ने साधन्। तर एकदम सङ्लो बाढी। मेरो दिनहरु उनकै यादमा बित्न थाले। घरिघरि फेसबुक।
१५-१६ दिनपछि म फेरि त्यही क्याफे गएँ। माया न हो, त्यही ठाउँमा बसेर उसलाई बेहुली बनाउने वाचा गरेको थिएँ। आज एक्लै रुमलिरहेको छु, उस्को मायाको लागि।
पुग्ने बित्तिकै साहु छेउमै आए। मेरा आँखा रसाइसक्या थिए तर नि सोधेँ, 'दाजु, उनी फेरि आइनन्?'
'झोला लिएर आएकी थिइन्, चार दिनसम्म बेलुकीपख धाइरहिन् तिमीसँगै जान्छु भनेर। पाचौँ दिन दाइ यही आएका थिए। सायद घरमा बिहे गर्दिनँ भनिन् होला। बाबा तेरो पिरले गर्दा डोरी बोकेर हिँड्नु भयो भन्दै कराएर लगे। तर तिम्रो फोन अफ थियो, मैले नि धेरै ट्राइ गरेँ, लागेन।'
'कहाँ छिन त अहिले?'
'हिजो बिहे थियो, मलाई नि निम्तो गर्या थिइन्। आउनु भयो भने धेरै माया छ भन्दिनु भन्दै यो फोटो छोडेर गइन्।'
त्यति भनेपछि मेरा रसाएका आँखाबाट फेरि बाढी आए। मन फेरि टुक्रा टुक्रा भयो। आफूले आफैलाई धिकार गर्न बाहेक केही उपाय थिएन। धेरै दिन रोएँ। फोन गर्दा उस्को फोन पनि अफ आइरह्यो।
मुटुभन्दा बढी माया गर्ने प्रेमिकाको फोटो नै अन्तिम चिनोमा परिणत भयो।