बुढी आमाको एक्लो छोरो,
दोबाटोको घर,
चिनेजानेका गाउँलेको प्यारे,
सबैले भन्छन् लाले,
नाम चाहिँ लालबहादुर हो।
सधैँजसो क्रान्तिकारीसँग भेट हुने लाले,
आमाले स्कुल जा भन्दा लाले,
पढ्दिनँ अब बुर्जुवा शिक्षा भन्थ्यो,
वैज्ञानिक शिक्षा र समाजवाद ल्याउने भनेर,
घर छोडेर अस्ति हिँडिसक्यो लाले।
मुक्तिका लागि लड्नु पर्छ भनेर
पर्चा पम्पलेट खुब बाढ्थ्यो,
त्यसैले सबैसँग चिर-परिचित थियो लाले,
लालेको वैज्ञानिक शिक्षा समाजवाद?
खै कसलाई आयो थाहा छैन,
तर आमाले चाहि भन्छिन् लाले हरायो!
आज त्यही दोबाटोको घर,
बुढी आमा निराशा,
त्यसैले १७ वर्ष भएछ,
दोबाटो घरमा आमाले पर्खेकी,
आमाले बाटो हेरेको हेरै छिन्,
अनि आमालाई भन्छिन्
बाटो हिँड्ने प्रायः सबैलाई,
मेरो लाले खोई?
सबै फर्के, मेरो लाले आएन
आमाले भन्ने शब्द र पर्खाइको बाटो
एउटै थियो सधैँ सबैलाई लाले खोई?
आमाले छातीमा तस्बिरको राखेर
भौतारिँदै कहिले बाटोमा कहिले घर,
सबैलाई भन्दै थिइन्,
मेरो लालेलाई देख्नु भो?
सबै चिनेको लाले,
तर उसको हुलिया पनि गुमनाम भयो।
जतिखेर लाले थियो,
आमालाई सबैले चिन्थे
हजुर जस्तो महान् आमा भन्थे
सबैले कुरा सुन्थे,
आज लाले नफर्केपछि
आमाका आँसु सुकेछन्
जति कडा स्वरले बोले पनि सुन्दैनन् कसैले।
आमाको त्यही एउटा संसार लाले
बेदनासँगै जवानी सकियो,
न लालेको समाजवाद,
न वैज्ञानिक शिक्षा,
खै के आयो के गयो
यहाँ परिचित हजारौं लालेहरु बेपत्ता
त्यसैले होस गुमाएर भौतारिँदै छन् परिवार
कतै तपाईहरुले भेट्नु भो लाले?