टेबलमा घुमिरहेको कोकाकोलाको बोतल मेरो अगाडि फर्कियो।
'मामु, ट्रुथ अर डेयर?' जुहीले एक्साइटेड हुँदै सोधी।
'ट्रुथ।'
'स्योर मम्मा!' रोहन पनि उत्साहित भयो।
'उम!' म पनि निश्चिन्त थिएँ।
'देन... योर फस्ट लभ?' जुही एक्साइटेड भएर सोधी।
'अविरल' मेरो मुखबाट नाम निस्किहाल्यो।
उत्तर त सहज दिएँ तर अवस्था असहज भयो। रोहन, जुही र जुहीको पापा वाल्ल परेर मलाई हेरिरहे। मैले कसैसँग नजर जुधाउन सकिनँ। जुरुक्क उठेँ।
'तिमीहरु खेल, म खाजा बनाएर ल्याउँछु।'
म उठेर भान्छातर्फ लागेँ।
'हामी हिँड्ने बाटाहरु रगतले पोतिएका
हामीले पढ्ने अक्षरहरु रगतले कोरिएका'
थाहै नपाई यो गीत गुनगुनाएर भान्सामा छिरिछु। आँखा अगाडि एउटा तस्बिर उभियो। सर्लक्कको अग्लो कद, गुजुमुज्जु परेको कपाल, चुच्चे नाक, बाहिर निस्केका ठूला ठूला आँखा, गहुँगोरो वर्णको मुस्कुराइरहने अनुहार।
अचानक उसको याद मात्र फर्केन, फर्कियो समय नै। भूकम्पले हल्लिएझैँ म उभिएको जमिन पुरै हल्लियो। मेरा आँखा अगाडि उभिएका घरका भित्ताहरु, भित्ताका सोकेसहरु सबै हल्लिए। म लड्नै आँटेकी थिएँ, उसले चपक्क हात समात्यो।
मेरो वरपरका सबै चिजहरु तलतल भासिएजस्ता देखिए। म उसको हात समातेर हल्लिदैँ डराउँदै उभिरहेँ। हामी उभिएको जमिन अग्लो अग्लो हुँदै गयो। मलाई रिगंटा लागेजस्तो भयो। वाकवाकी आएजस्तो भयो।
उसले मलाई चपक्क समातिराखेको थियो। तर केही क्षणमै ऊ त्यहाँबाट गायब भयो। मैले हातमा एउटा चिर्केटो बोकेकी रहिछु। मैले केही सोच्नै नपाई कति छिटो म उभिएको समथर जमिन पहाडको टुप्पोमा परिणत भयो।
केही क्षणको कम्पनमा मैले अनौठो १८ वर्षे समय यात्रा गरिछु। चिर्केटो खोलेर हेरेँ। यस्तो लेखिएको रहेछ।
मिति २०६०/१२/०७
'आज साँझ ठ्याक्कै ७:४५ मा खेत हेर्नी डिलमा उभिनू, म तिमीलाई त्यहीँ भेट्छु।'
-अविरल
बाले अघिल्लो छुट्टीमा आउँदा ल्याइदेको सानो टर्च लाइट छ हातमा। त्यही लाइटको मधुरो उज्यालोमा मैले हातको घडी हेर्छु। साँझको ७:३० बजेछ। अब पन्ध्र मिनेट बाँकी।
म कसैको प्रतिक्षामा छु यतिखेर। मेरो निलो जिन्सको फ्रक भित्रबाट धुलो सहितको चिसो चैते हावा शरीरभित्र प्रवेश गरिरहेको छ। आँखाहरु हावा र मनको धुलो मिसिएर पिरा भएका छन। त्यो चिसो हावाभन्दा अझै धेरै चिसो साँठ मेरो मुटुमा चलिरहेको छ।
लुग लुग काँपिरहेकी छु। घरी जुनकिरी झैँ बत्ती बलिरहेको बेनीबजार हेर्छु, घरी बेनीबजारतर्फ लामबद्ध भएर हिँडेका ती गोल्डस्टार जुत्तावाला पैतालाहरु। हातमा बोकेको चिर्केटो हावाले फिर्फिर पारेको छ। हातको घडी हेर्छु, ७:४०।
मुटु ढुकढुक हुन्छ। कुकुरहरु एकतमासले भुकिरहेका छन्। पैतालाको आवाज र कुकुरको भुकाइ बाहेक केही सुनिएको छैन। आँधी आउनु अघिको सन्नाटा जस्तो छ माहोल। गाउँलेहरु घरका कौशीबाट, ढोकाका चेपबाट मधुरो प्रकाश देखिदैँ छ।
अनुमान लगाउँछु ती लामबद्ध मानिसहरुको हिँडाइलाई हेरिरहेका छन् गाउँलेहरु। करिब तीन सय जति मानिसहरु लामबद्ध भएर तलतिर लाग्दै छन्। उनीहरु लालटिन र मैनटोलको उज्यालोमा हिँडिरहेका छन्।
मनमनै ठम्याउँछु सुरुमा स-साना झोला बोकेका दारी कपाल फुलेका मान्छेहरु, त्यसपछि बन्दुक, राइफल, गृनेट आदि हातहतियार बोकेका युवाहरु अनि डोको, स्ट्रेचर, औषधि बोकेका प्रौढ मानिसहरु सबै लामबद्ध भएर हिँडिरहेका रहेछन्।
कसैले कसैलाई छोएका छैनन्। कसैले कसैलाई जित्न खोजेका पनि छैनन्। न कोही कसैसँग बोलेका छन। यो मानिसहरुको यात्रा होकि रोबोर्टहरुको? म अचम्मित हुन्छु।
ठाँटीको डिलमा पुगेर अगाडिका मानिसहरु रोकिन्छन्। अगाडिका मानिसहरु रोकिएपछि त्यसपछिका मानिसहरु पनि आफू जहाँ जहाँ उभिएका छन् त्यहीँ रोकिन्छन्। लालटिन मैनटोल निभ्छ। ठाँटीको डिलमा केही मानिसहरुले केही राँकाहरु बालेर आकाशतिर उचाल्छन्।
अचम्म यता राँको बलेको केही समयमै पारि भकुन्डेमा त्यसैगरी राँको बल्छ। त्यसपछि पुलाचौरको डाँडामा। मानिसहरु खासखुस गर्छन्। मिसन बेनी सफल पार्न चारै दिशा तयार भएको संकेत रहेछ राँको। राँकोको उज्यालो निभ्न नपाउँदै अन्त्यतिर बसेको एउटा छायाले यताउता हेर्छ।
सुटुक्क लुसु लुसु माथितिर उक्लन्छ। छायामा धुमिल देखिएको उसको काँधमाथि लट्ठी जस्तो ठडिएको त्यो राइफल नै हो पक्कै। म निश्चित हुन्छु। छाया जति जति नजिक हुँदै छ, म त्यति त्यति कमजोर हुँदै छु।
'रोशनी!' उसले मेरो हात चपक्क समात्छ।
म बोल्नै सकिनँ।
मेरा हात अझ चपक्क समातेर अलि जोडले बोल्छ 'रोशनी!'
हिक्क हिक्क मेरो मुखबाट यत्ति आवाज निस्किन्छ।
उसले गम्लंग मलाई अंगालो हाल्छ। म उसको शरीरसँग यसरी टाँसिन्छु जसरी कपालमा चुइगम टाँसिन्छ।
उसले मलाई आफूबाट अलग बनाउन खोज्छ। म अलग हुनै सकिनँ। पटक पटक प्रयास गर्छ। अहँ! सक्दैन। तल लामबद्ध मानिसहरु उभिन्छन्। खासखुस गर्छन्। यताउता हेर्छन्। अनि तलतिर ओरालो झर्छन्। उनीहरु तल्लो वनको तल तल पुगेछन् क्यारे।
पैतालाका आवाजहरु सुनिन छाड्छ। म भने अझै उसलाई चपक्क समातिराखेकी छु। उसको शरीरमा टाँसिरहेकी छु। अघिदेखि नै कता कता असहज महशुस भैरहेको थियो। मलाई बल्ल थाहा भयो, त्यो महशुस उसले बोकेको राइफलको कारणले भएको रहेछ। हत्तपत्त उसको राइफल खोसेर फ्याँकिदिन्छु।
'के गरेकी यो? किन यसो गरेकी?' ऊ झर्किन्छ।
'म तिम्रो मृत्युको खबर सुन्न सक्दिनँ।'
'लड्नेहरु सबै मर्दैनन्।'
'तिमी सबै होइनौ' मानौ मलाई उसको मृत्युको पूर्वाभाष छ।
'अनि मेरो बदला? त्यो त अधुरै रहन्छ।'
'जिन्दगी अधुरो बनाएर गरेका कुनै काम पूरा हुन्नन्।'
'मलाई जान देऊ। मलाई लड्न देऊ। युद्धका लागि तयार भएको सिपाही मैदान छोडेर भाग्नु हुँदैन।'
'जानु थियो भने किन खबर गरेऊ? किन बोलायौ? चुपचाप गएको भए हुन्थ्यो।'
'सकिनँ।'
'म पनि सक्दिनँ।'
'त्यसो नभन।'
'तिमी पनि नभन।'
एकछिनको संवादपछि हामी लामो मौनतामा छौँ। चौतारीको डिलमा बसेर तलतिर हेरिरहेका छौँ। मेरा औँलाहरु उसका औँलाहरुको बीचमा सुरक्षित छन्। हाम्रो मौनता जीवनको सबैभन्दा सुन्दर भाषा बनेर बोलिरहेको छ। म ढुक्क छु।
मुटु ढक्क फुल्छ! बेनीबजारदेखि माथिको आकाशमा बत्ती जस्तो उज्यालो केही बल्यो र त्यतिनै खेर ठूलो स्वरले ड्याम्मको आवाज आउँछ। रुखका चराहरु चिरबिर गर्छन्, गोठका गाइवस्तुहरु खोरका बाख्राहरु कराउन थाल्छन्।
गाउँभरिका कुकुरहरु ठाँटीको डिलमा आएर भुक्न थाल्छन्। कुकुरका पछि पछि गाउँलेहरु पनि दौडेर आउँछन्। गाउँलेहरुले अनौठो छटपटी सहित खासखुस कुरा गरेको हामीसम्म सुनिन्छ। हामी भने कसैले नदेखुन भनेर खेत हेर्नी डिलको खिर्रोको बोटमुनि कुक्रुक्क परेर बसेका छौँ।
मैले उसको औँला अझ चपक्क पारेर समात्छु। म डराइरहेकी छु। ऊ पनि डराएको त छ तर उसको श्वास फेराइमा अनौठो खुसी छ, सन्तुष्टी छ। एकैछिनमा ड्याम्म ड्याम्म अवाज दोहोरिरहन्छ। केही क्षणमै झाँगामा मकै पट्किएझैँ प्याट्प्याटको आवाज पनि सुनिन थाल्छ।
आगोका झिल्काहरु आकाशमा उडेको जस्तो देखिन थाल्छ। यी दृश्यले म काँपिरहेकी छु। ऊ भने उत्तेजित हुन्छ,रोमान्चित हुन्छ, छिटो छिटो सास फेर्दै मेरो हात उसका औँलाबाट हटाउँछ र भन्छ 'म गएँ ल?'
राइफल काँधमा बोकेर जुरुक्क उभिन्छ।
'यो मेरो महत्वपूर्ण रात हो। म यसरी रोकिनु हुँदैन।'
म रिस या अर्थोक केले गर्दा हो थुरथुर काँप्छु।
'जान्छौ? ' जुरुक्क उठेर झोक्किएर भन्छु।
'म गएँ' उसले पैताला तल्लो सिँढीमा पुर्याउँछ।
म धम्काउँदै छु। ऊ जानु मलाई स्वीकार्य छैन तर उसले कहाँ मसँग अनुमति मागेको छ र? निर्णय सुनाइरहेको छ। म आक्रोशित हुन्छु।
'जाऊ' दुइटै हात उसको छातीमा पुर्याएर मैले उसलाई त्यतै धकेल्छु जताबाट ऊ अघि आएको थियो।
ऊ सिढिँहरु नाघ्दै ओरालो बाटो दौडन थाल्छ। कुनै कैदबाट मुक्त भएको कैदीझैँ दौडिरहन्छ।
म पनि उसको पछि पछि दौडन्छु। अन्धकार रातमा मनभरि हाम्रो प्रेमको दियोको प्रकाश बोकेर म पछ्याइरहन्छु।
बुढीलुक्ने ओडार नजिक पुगेपछि म चिप्लिन्छु। 'ऐया!' म जोडले कराउँछु। ऊ मभन्दा त्यस्तै दुई सय मिटर जति अगाडि छ। ऊ रोकिदैन तर जोडले बोल्छ।
'यो चोट सामान्य हो। जीवनमा यीभन्दा कठिन कैँयन चोटहरु सहनु छ। फर्क रोशनी, हाम्रो प्रेम जोगाउन पनि फर्क। तिमी फर्किनौ भने न तिमी रहन्छ्यौ न हाम्रो प्रेम। रोशनी! क्रान्तिको बाटो सहज नहोला तर असम्भव छैन।
सामन्तीको अन्त्यसँगै नयाँ बिहान बोकेर एकदिन उदाउने छ सूर्य र तिमी त्यही सूर्यको रोशनी बनेर गर्वसाथ भन्न पाउनेछ्यौ मेरो प्रेम खर्चेर चम्किएको हो यो सूर्यको उज्यालो।'
ओरालो झरिरहेको ऊ यति बोलेर अर्को चौतारी कट्यो। मैले पछ्यारहेको आकृति अदृश्य भयो। मेरो खुट्टा फर्केको रहेछ। खुट्टा फर्केको दुखभन्दा पनि ऊ नफर्केको दुखले मेरा आँखा अगाडि अन्धकार छायो।
अर्थुंगेदेखि तलको जंगल पुरै दनदनी बल्न थालेछ। आगोको गन्ध फोक्सोसम्म पुगेपछि म खोक्न थालेँ। जुरुक्क उठेर गरुङ्गो मन गरुङ्गा पैताला बोकेर अघि झरेको ओरालो उक्ल्न थालेँ।
आगोको लप्का माथि माथिसम्म आइपुगेपछि मेरा आँखाहरुले पनि उज्यालो जस्तो महशुस गरे। यस्तो लाग्यो बेनीबजार अब रहेन। सबै भष्म भयो। खरानी भयो। सबै सकियो। सायद मेरो प्रेम र मेरो सपनाको नियति पनि यही हो।
आँखाहरुले त्यो रात बगाएका आँसुको नदीलाई निरन्तरता दिँदै थिए। जुहीको पैतालाको आवाजले झस्किएँ।
अनुहारमा पानी छ्यापेँ। हातमा प्याज समातेर बोक्रा खोल्साउन थालेँ।
'छुपारुस्तम मामु, म त सोचिराथें हजुरको फस्ट लभ पापा हो!'
म मुस्कुराएँ मात्र।
उसले फेरि सोधी, 'मामु! हजुरको लभ वान साइड कि?' आँखिभौँ उचाली।
उसको प्रश्नको आशय बुझिसकेकी थिएँ। ऊ भने मस्किरहेकी थिई।
म चुप रहेँ। पछि पछि रोहन र रोहनको पापा पनि भान्छाभित्र आइपुग्नुभो।
'मामु, हजुरको लभस्टोरी सुनाउनुस् न प्लिज।'
ऊ मेरो र उसको पापाको अनुहारमा पालैपालो हेर्न थाली।
'पापा, मामुको स्टोरी सुनुम् न ल!'
'तिमीहरु आमा-छोरीको बीचमा नपार है मलाई' जुहीको पापाले आफ्नो कमन र पपुलर डाइलग दोहोराउनु भयो।
छोरी कम, साथी ज्यादा छे जुही। भर्खर किशोरावस्थामा टेकेकी उसका हरेक अनुभूति मसँग साटिएका छन्। आज मलाई मेरो किशोरावस्थामा फर्काउन खोजिरहेकी छे। मैले के गरुँ? एकछिन सोचेँ अनि निणय गरेँ।
जुही मेरो भविष्य हो। उसको वर्तमान ऐना बनेर मेरा अगाडि उभिएको छ भने म आफ्नो अतित किन उसँग लुकाऊँ?
'भाउजू नमस्ते!
ती मानिसले मेरी आमालाई नमस्कार गरे।
'ओहो सुबेदार बाबू! सन्चै आरामै आउनुभो नि? बस्नुस!' आमाले पिँढीमा गुन्द्री ओछ्याउनु भयो।
'रोशनी! अंकललाई नमस्ते गरे।'
आमाको कुरा सरक्क मानेँ।
'नमस्ते अंकल!'
उनले मलाई जुरुक्क उठाए। काँधमा मलाई बोकेर भने 'ओहो! कति ठूली भैसकेकी मेरी बुहारी।'
'भाउजू, म बस्नेगरी आइहाल्छु। लु! मेरी बुहारी बोकेर हिँडे घरतिर। छोरीको अत्यार लागे सम्धीलाई लिन पठाउनुस्।'
अंकलको काँधमा चढेर म हातभरिका चकलेट पालैपालो खान थालेँ।
भरियाले सुटकेस बोकेको देखेर टाढैबाट बाबा भन्दै अविरल र उसकी दिदी आइपुगे। अंकलले हामी तिनै जनालाई अंकमाल गरे। उनीहरुलाई पनि चकलेट हातमा राखिदिए।
'रोशनी यो को हो?' उनले अविरललाई इशारा गरे।
'अवितल' मैलेँ भनेँ।
'बाबा, रोशनी त तोते बोल्छे। बाबा देविस्थान भनेको नि तेबितान भन्चे।'
अविरलले कुरा लगायो।
'हो तोतनी!' अंकलले मेरो गाला चिमोटे। म लजाएँ। अविरलको घरको कुना काप्चासँग परिचित थिएँ म। हामी तिनै कुनाहरुमा लुकामारी खेल्यौँ।
बेलुका मलाई लिन बा आउनुभो।
बाको लागि बुट्टेदार रमको बोतल, आमाको लागि कस्मिरी लुङ्गी झोलमा राख्दै अंकलले भने 'अब अर्कोपटक फिनिस आउँछु। पेन्सनमा राम्रै पैसा आउँछ। बाउलुङ्गको जग्गा किनेको ऋण तिरेर नि अलि अलि रहन्छ। पसलाँ लगानी गरुम केरे?
यो गाउँमा नुन, तेल, चिनीकै दुखो छ। मान्छे मर्दा नि कात्रो लिन बिनी पुउनुपर्च। बरु गाउँको दुखो नि टर्च म नि परिवारसित बस्न पाउँचु। पैसो पुगे खच्चड नि हाल्नुपर्ला।'
'हुन्च, यसै अर न त।' अरु थप गफगाफ र खानपिनपछि बा काँधमा म हातमा कोसेली बोकेर घर फर्के।
अर्को वर्ष अंकल आए। गाउँमा नयाँ पसल आयो। गाउँको रौनक बढ्यो। सैनिक भएर होला हिसाबकिताबको मामिलामा कडा थिए उनी तर कम नाफा खाएर समान बेच्थे। अलि अलि उधारो पनि चलाइदिन्थे। गाउँलेलाई अप्ठ्यारो पर्दा बिना ब्याज सर सापट पनि दिन्थे। उनको यो बानीले पसलमा ह्वात्तै कारोबार बढायो।
गाउँलेहरु उनको प्रशंसा गरेर थाक्दैनथे। बिहान बेलुका उनको पसल अगाडि समान किन्ने मात्र होइन गफ गर्ने मान्छेको नि भिड हुन्थ्यो। गाउँका स-साना कुरामा पनि उनको सरसल्लाह मागिन्थ्यो।
विवाह जोसुकैको होस्, पन्चेबाजा उनको पसल अगाडि रोकिएर बज्थ्यो। उनको सम्मानमा नरा हालिन्थ्यो। उनी पनि के कम, बसी उठी नाचिदिन्थे। सगुनका बोतल टक्राइदिन्थे।
एकबिहान उनको पसल अगाडि नौला मानिसहरु आए। अग्ला अग्ला खैरा कपाल गरेका ती मानिसहरुले सुरुमा हाम्रो सामान खोइ भनेर सोधे। अंकल अलमल परे। हाम्रा साथीहरुले यहाँ सामान छोडेका छन्, सामान दिनुस भने।
अंकलले मसँग केही छैन भनिरहे। एकैछिनमा सेनाको ठूलो फौजले घर घेरा हाल्यो। उनको घरको करेसाबाट के-के सामान जफत भयो भन्ने हल्ला फिँजियो। ड्याम ड्याम गोली चल्यो। बेलुका एफएमले समाचार फुक्यो। मुडभेडका क्रममा एक विद्रोही आतंककारीको मृत्यु र एक पक्राउ।
पक्राउ पर्नेमा अविरलकी दिदी अस्मिता थिइन्। बाबुमाथि गोली चलाएपछि आक्रोशमा अस्मिता दिदीले के-के बोलिन् रे, रिसले बौलाएको अफिसरले उनको कपालमा समातेर लग्यो। गाउँमा यही कुरा गाइँगुइँ चल्यो।
अस्मिता दिदी जिउँदी छिन् या मारिइन् कसैलाई केही थाहा थिएन। त्यो घटनापछि उनकी आमाले मानसिक सन्तुलन गुमाइन्। अविरल यताउता भड्किरहन्थ्यो। अविरलको परिवार भताभुंग भएको थियो। अविरलले टेकेको जमिन भासिएको थियो।
एक रात मेरा बा र आमा सासले गफ गर्दै गरेको सुनेँ। बाले भने 'सुराकी लागेका रहेछन् सुबेदारको पछि त। सुबेदारको बढेको कारोबारले अन्त कतै रिस बढाइरहेको रच। शत्रु कमाउन थप केही गर्नुपर्दैन, मात्र आफ्नो कम राम्रोसँग अरेर आफू सफल भए हुनि रच।'
'कस्तो पापी रच टिकेन्द्र प्रसाद' आमाको कुरा सुनेर म अवाक भएँ।
टिकेन्द्र प्रसाद बाटामुनिका मुखियाको कान्छो छोरो। सुबेदारको पसल खोल्नुअघि गाउँमा बाटामुनिका मुखियाको एकछत्र राज थियो। गाउँलेलाई अप्ठ्यारो पर्दा सरसापट मुखियाले चलाउँथे।
जे खेती गर्यो त्यही फल्ने हो, मेरो त खेती नै पैसाको हो। यसै भनेर दिनगन्तिका हिसाबले पैसाको ब्याज लिन्थे। टन्न नाफा खाएर बेचिएको सामान पनि उधारो रह्यो भने महिना-महिनामा ब्याज थपिदिन्थे। गाउँलेहरु कोही केही बोल्दैनथे। कसैले केही बोलीहाले टिकेन्द्रको मुड्की र लात भेटिहाल्थे।
सुबेदारको पसलले गाउँलेलाई राहत दिएको थियो। सुबेदारबाट गाउँलेलाई मिलेको राहतले टिकेन्द्रलाई त्यति बिघ्न आहत मिलेछ कि उसको प्रपञ्चको शिकार भयो सुबेदार परिवार। यो कुरा सुनेपछि मलाई असह्य भयो।
अविरलसम्म यो कुरा मैले पुर्याएँ। यसपछि ऊ दौडेर त्यो भग्नावशेष घरको पिँढीभित्र छिर्यो जहाँ केही समय अघिसम्म उसको परिवार हाँसीखुसी बसेको थियो। भित्र छिर्दा बित्तिकै उसले यताउता हेर्यो। भित्ताहरु सुमसुमायो।
हराएर भेटिएको कुखुराको चल्लालाई माउ कुखुराले आफ्नो चुच्चोले छोएर मुसारे झैँ भिताहरु मुसार्यो। सानो बच्चा आमाको काखमा टाँसिएझै तिनै भिताहरुसँग टाँसियो र एकछिन आँखा चिम्लेर थचक्क बस्यो।
जब उसले आँखा खोल्यो उसका आँखामा आगो थियो। ऊ बदलाको त्यो आगो बोकेर हिँड्यो। ऊ हिँडिरह्यो। मैले पछ्याउने प्रयास गरिरहेँ रोक्ने प्रयास गरिरहेँ। सुबेदार अंकलको डाक्टर बनाउने सपना र उसको जिन्दगीका खातिर ऊ बढ्दै गरेको बाटो रोक्न म उसको पछि पछि लगिरहेँ तर ऊ रोकिएन। एक रात मेरा आँखा अगाडि सपथ खाएर भूमिगत भयो।
विडम्बना त्यतिखेर सत्तापक्ष भएका तिनै टिकेन्द्रप्रसादले देशमा शान्ति स्थापना पश्चात तत्कालीन विद्रोही पक्षबाट टिकट पाए र विजेता भए। अहिले सर्वहारा पार्टीको प्रतिनिधित्व गर्दै गाउँपालिकाको अध्यक्ष भएका छन्।'
मेरा कुरा सुनिसक्दा पनि जुहीका आँखाहरु अझै सन्तुष्ट देखिएनन्।
१० वर्षे रोहनले केही प्रतिकृया जनाएन तर जुहीले असन्तुष्टी पोखिहाली 'मामु! समथिङ यु आर हाइडिङ?' उसले नाकमुख एकैठाउँमा जोडी।
जुहीको कुरा सुनेपछि जुहीको पापा जुरुक्क उठेर भान्छाबाट बाहिर निस्कनुभो। रोहन पनि पापाको पछि पछि लाग्यो।
म अलमल्ल परेँ। डराएँ। जुहीलाई आँखा तरेर हेरेँ। जुही पनि डराई। श्रीमानको अगाडि आफ्नो प्रेमीको वर्णन गरिरहेकी थिएँ। यस्तो कसलाई पो सह्य हुन्छ र? मनले यही ठम्याउँदै थियो।
जुहीको पापा भान्छाभित्र छिर्नु भयो। उहाँले हातमा बोकेको डायरी जुहीलाई दिदैं भन्नु भो 'तेरो मामुले लुकाएको बाँकी कुरा यहाँ छ। पढ आफै।'
'के गर्नु भएको?' मैले रोक्न खोजेँ।
'पढ पढ, मैले पनि सुन्ने गरी पढ' पापाको कुरा सुनेर जुही अलमल्ल परी। पालैपालो मेरो अनुहार र उसको पापाको अनुहार हेरी।
'पढ न' उसको पापाको निर्देशनमा डराउँदै पढ्न थाली।
मेरो मन काँपिरहेको थियो, जुहीको ओठ। उसले सुरु गरी...
मिति २०७६/१२/६
प्रिय अविरल!
आज फेरी तिम्रो स्मृतिको कम्पले हृदयमा धक्का दिएर गएको छ। यो घटना पहिलोपटक होइन। तिमीसँग जोडिएका स्मृतिहरु जब कहीँ ठोक्किन्छन म पटक पटक बिथोलिन्छु। किन आइदिन्छौ बारबार पराकम्पन बनेर, किन हल्लाइदिन्छौ मेरो वर्तमान?
भविष्य कसले जानेको छ र! अतित भने तिमीसँग जोडिएको छ।
कहाँ छौ तिमी? मनले त भन्छ सशरीर यतै छौ तर दिमागले भन्छ पक्कै पन्चतत्वमा विलीन भैसक्यौ! दुनियाँका लागि तिमी कहाँ छौ या भौतिक रुपमा तिम्रो उपस्थिति कुन स्थानमा छ भन्न नसकूँला तर यति भन्न सक्छु, तिमी मेरो साथमा छैनौ, यादमा छौ। यादमा छौ त्यसैले त जहीँतहीँ तिमी छौ।
वसन्त आइपुग्नु अगाडि गुराँसको सुगन्ध बोकेर मेरो फोक्सोभरि तिमी नै भरिन्छौ। पैँयुको स्वाद र ऐसेलुको मात बोकेर मनको जंगलभरि तिमी नै विचरण गर्छौ।
आरुबखडा हुन् या नास्पाती, टमिलो होस् या थकाइलो अझै पनि जब बोक्रा तास्न बस्छु, यस्तो लाग्छ ङिच्च दाँत देखाएर मेरो अगाडि उभिएका छौ तिमी। मैले तिमीलाई नदिई एक्लै खान खोज्दा खोसेर मेरो जुठो, खुसी मानी मानी खान खोज्दै छौ।
कहिलेकाहीँ हातमा नास्पातीको चाना बोकेर हावामा इशारा गर्छु तर अहँ! त्यस्तो केही हुँदैन जस्तो पहिले हुन्थ्यो। त्यतिखेर फेरि सम्झन्छु तिमी साथमा छैनौ यादमा छौ।
न भुल्न सक्छु, न भेट्न सक्छु। अब त खोज्न पनि सक्दिनँ। कहाँ खोजूँ तिमीलाई? सहरको भिडभाड, जन्ती, मलामी, आन्दोलनकारी, व्यापारी, सडक किनारामा भेटिने हरेक आकृति, अपराधी, कारागार, मानव सेवा आश्रम!
तिमीलाई भेट्छु कि भनेर कहाँ कहाँको चक्कर काटिनँ र मैले! कहीँ, कतै, केही नभेटेपछि बेपत्ताको सूचीमा खोजेँ। त्यहाँ पनि नभेटेपछि हृदयमा गाँठो पारेर वीरगती प्राप्त गर्ने सहिदहरुको सूचीदेखि वेवारिशे लाशसम्म जताततै खोजेँ। अहँ! न तिम्रो अनुहार न तिम्रो नाम कतै भेटिएन। अझैपनि त म जहाँ जहाँ पुगेकी छु, त्यहाँ त्यहाँ तिमीलाई खोजिरहेकी हुँदिरैछु।
जसरी तिमी गुमनाम छौ, त्यही नियति हाम्रो प्रेमको पनि त छ। कास यस्तो नभैदिएको भए!
सबै हुनुपर्ने कुराहरु हुँदैनन् र नहुनु पर्ने कुराहरु भैरहन्छन्। सोचिल्याउँछु यस्तो नभैदिएको भए!
जस्तो कि हाम्रो भेट!
तिम्रो बाबा र मेरो बाबा बचपनदेखिका यार नभएको भए, मभन्दा १६ दिन अगाडि यो धर्तीमा टेकेको तिमी र म स्वास्थ्यचौकीमा सुई लगाउँदा पहिलोपटक सँगै नरोएको भए, तिम्री आमाले मलाई र मेरी आमाले तिमीलाई बोकेर नभुल्याएको भए, तिम्रो बाबाले मेरी बुहारी भनेर काँधमा बोक्दै नहिँडेको भए,
तिम्रो परिवार गाउँ छाडेर बाग्लुङ बसेको भए, कुनै फर्जी सुराकीको भरमा शाही नेपाली सेनाले तिम्रो घर घेरा नहालेको भए, तिम्रो घरको करेसामा कम्युनिष्ट मेनाफिस्टो भन्ने किताब नभेटिएको भए, तिम्रो बुबा पक्राउ मात्र परेको भए, घर पछाडिबाट ड्याम्म आएको आवाजले तिम्रो आमाको सिउँदो र घरको धुरी नभत्काएको भए,
बर्दीधारीका नजर तिम्री दिदीको वक्षस्थलमा नठोक्किएको भए, एकाएक जीवनमा आइपरेका वज्रपातहरु चुपचाप बसेर सामना गरेको भए, किताब कापी बोक्ने झोलामा बारुद बोकेर जंगल नगएको भए, २०६० चैत्र ६ गते मध्य रातमा काँधमा आफूभन्दा लामो राइफल बोकेर बेनी जानुको सट्टा पर्सीपल्ट एसएलसी परीक्षा दिन मसँग कुश्मा गैदिएको भए।
आज कि त हामीसँगै हुने थियौँ कि त भन्न पाउने थियौँ, म यहाँ छु। तिमी त्यहाँ। त्यहाँ पनि म छु र यहाँ तिमी पनि छौ।
प्रिय अविरल!
म भुल्न चाहन्छु त्यो कुरुप समय तर भुल्ने बाहनामा झन सम्झिरहन्छु। विक्षिप्त बनेर मेरा अगाडि उभिएको टिठ्लाग्दो तिम्रो अनुहार अदृश्य घाउ बनेर दुखिरहन्छ। मनभरि आशा बोकेर, मनभरि आशा बोकाएर यो देशको मुहार बदल्न आफ्नै मुहार छोपेर आफ्नै पहिचान बदलेको त्यो समयले खुब व्यङ्ग्य गरेको छ यतिखेर।
शिरमा हँसिया हथौडा अंकित रातो रुमाल बाँधेर मुठी कसेको हात माथि उठाउँदै गडगडाहट तालीको बीचमा सपथ ग्रहण गरेको रात तिम्रो मुहारमा उदाएको सूर्यमा यतिखेर कहिल्यै नहटने गरी ग्रहण लागेको छ। तिम्रो निष्ठा तिम्रो सपथ अहिले पटक पटक अपमानित भएको छ।
जसको मार्गनिर्देशनमा आफ्नो रगत चढाउन हाँसीहाँसी तयार भएका थियौ, ऊ नै आज आफ्नो बाटोमा छैन। तिमीहरुकै रगत बेचेर कैँयन जिन्दगीका डोर चुड्याएर यहाँसम्म आइपुगेको तिम्रो कमाण्डर राम नामको नशामा लट्ठ छ।
पद, पैसा, सत्ता र शक्तिका लागि गर्मीमा रुखको छहारी खोज्छ, जाडोमा घामको शरण। जब देख्छु उसका आसेपासेहरुको अग्लिरहेका घरको उचाइ तब तब आक्रोशित हुन्छु। तिम्रो भग्नावशेष घरको उपहास गरिरहेको यो समय म चाहन्छु तिमी भूमिगत बनेर अर्को युद्धको तयारी गर।
तर मैले चाहेर के पो हुन्छ र? सम्झिल्याउँछु, पहाडको चिसो सिरेटोमा हरर तेजपत्ताको बासनासँगै उडिरहने रहरहरुको सुगन्धिलो बाफ। थोरै चियाका सुरुप सुरुपसँग साटासाट गरिएका धेरै खुसी। तोरी फुलेका बारीहरु, गहुँ ठडिएका खेतहरु, गुराँससँगै मस्केका पाखाहरु र होलीको रातो रंग मुट्ठीभरि बोकेर हात पछाडि लगेर हिमाल झैँ चुपचाप उभिरहेको तिमी।
तिमी उभिएको ठाउँ भएर हिँड्दा मात्र पनि त मलाई कुनै युद्ध जितेजस्तो लाग्थ्यो। तिमी पनि त यही भन्थ्यौ। चाहनाका रङ्गिन फुलौनाहरु एकअर्काका आँखामा फुलाएर एक अर्काको छाया मिसाउँदै लजाउँदै हिँड्थ्यौँ। कति यात्रा छन् हाम्रा यसरी चुपचाप चुपचाप हिँडेका, कति यात्रा छन् मनभरि हामीले हिँड्न नपाएका।
प्रिय अविरल!
अचेल यस्तो लाग्न थालेको छ म हिँडेका गोरेटा, बिसाई फेरेका चौतारी जताततै तिमी छौ। तिम्रा सपना फुटाएर जोडिएका हुन यी घरहरु, तिम्रै आक्रोश ओकलेर बलिरहेको हो आगो। तिम्रो आँसु र पसिनाको साक्षी हो यो माटो।
तिम्रो चित्कार बोकेर बहेको छ खहरे। तिम्रै सुगन्धले सुवासिलो बनेको छ हावा। तिम्रै काउकुती बोकेर बर्सिन्छ पानी। यसरी जब तिमीलाई सम्झन्छु तब आफूलाई बिर्सन्छु। आफूलाई भेट्न म कहाँ जाऊँ?
जाँदा जाँदै सोचिल्याउँछु, तिम्रो भौतिक उपस्थिति भैदिएको भए जिन्दगी कुछ और भैदिन्थ्यो। तिमीलाई अर्पण गर्नलाई मसँग के-के पो हुन्थ्यो! यसो होइन कि तिमी नहुँदा मसँग केही छैन। छ सबथोक छ। आफ्नै पौरखले आर्जेको खुसी छ।
तर मेरो खुसी हेरेर सबैभन्दा खुसी हुने तिमी छैनौ। छैनौ पनि कसरी भनूँ? छौ मेरो मनभरि छौ। फरक यही हो मनमा बसेकाहरू आँखाले देख्न सकिदो रैनछ। आँखाले नदेखे पनि हरदम मेरा अगाडि दृश्यवान् भएर उभिएका छौ।
प्रचण्ड गर्मीमा यही दृश्यले शितलता र जाडोमा न्यानोपनको आभास दिन्छन्। मेरो समय त्यही न्यानोपनको आभासमा बितिरहेछ।
अन्त्यमा
प्रिय सम्बोधन!
तिमीलाई सम्झन मलाई कुनै एकान्त चाहिदैँन
तिमीलाई देख्न मैले आँखा खोल्नु पर्दैन
तिमी त आभा हौ
त्यो घामको
जो बादल भित्र लुकेर पनि
उज्यालोको कमी हुन्न दिन्नौ।
तिमीमा अथाह प्रेम, तिम्रा यात्राहरुमा अथाह सम्मान।
-रोशनी।
जुहीले पढुन्जेल म श्वास रोकेर उभिरहेँ। जुहीको पापाले पुलुक्क मलाई हेर्नु भयो। मेरा आँखा झुके। चोरी गर्दागर्दै पक्रेपछिको चोर जस्तै भएँ। सोडा हालेर उसिनेको राजमा जस्तै फतक्क गलेँ। थचक्क भुइँमा बसूँ बसूँ लाग्यो। सकिनँ। बोल्न पनि त सकिनँ आफैलाई देखेर आफैँ लज्जित भएँ।
'रोशनी!'
उहाँको सम्बोधनपछि उहाँलाई हेर्ने आँट गरेँ।
मेरा आँखाले उहाँलाई प्रश्न सोधे 'हजुरलाई थाहा थियो?'
'१५ वर्ष भो तिमीलाई पढ्न थालेको। तिम्रा ओठ मौन बस्छन्, आँखा होइन' उहाँका आँखा बोले।
'रोशनी! सबैको आ-आफ्नो अतित हुन्छ। मलाई तिम्रो अतितप्रति कुनै गुनासो छैन। निर्धक्क होऊ। आजदेखि कसैको यादमा रुन मनलागे निर्धक्क भएर मेरै अगाडि रुनु। बाथरुममा गएर मुख धुने बाहनामा आँसु पखाल्न जरुरी छैन।'
मेरा आँखाबाट खुसीका आँसु झरे। आँसुहरु पनि त अचम्मका छन्, खुसी होस या दुख बर्सिन त उसैगरी बर्सिन्छन्।
जुही डायरी समातेर हामीलाई हेरीरहेकी थिई।
'हाउ रोमान्टिक' प्याच्च बोली।
'के?' मैले आँखिभौँ उचालेर सोधेँ।
'यो पनि, हजुरहरु पनि!' उसले मस्किदैँ भनी 'दुई/चार लाइन कपी गरेँ है मामु क्याप्सन राख्छु नि इन्स्टामा!'
डायरी र हामीलाई देखाउँदै ऊ भान्छाकोठाबाट बाहिरतिर भागी।
'बदमास केटी' जुहीलाई गाली गर्दै उसको पापाको आँखामा हेरेँ। झरीपछिको आकाश झैँ उघारिएका थिए होला मेरा आँखा र त जीवनमा पहिलोपटक जुहीको पापाको आँखामा हेरेर सन्तोषको श्वास फेरेँ।